‘कसरी भोट हाल्ने कसैले सिकाउँदैनन्’ « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

‘कसरी भोट हाल्ने कसैले सिकाउँदैनन्’


२५ कार्तिक २०७४, शनिबार


काठमाडौं । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको मिति नजिकिँदै गर्दा राजधानीकै मतदातासमेत कसरी भोट हाल्ने भन्ने अन्योलमा छन् । निर्वाचन आयोगले मतदाता शिक्षा कार्यक्रमका लागि अर्बौं विनियोजन गरे पनि प्रभावकारी रूपमा कार्यक्रम सञ्चालन हुन नसक्दा मतदाता अन्योलमा परेका हुन् । मुख्य गरी प्रदेशसभाको मतपत्रका विषयमा मतदाता अल्मलिएको पाइएको छ ।

राजधानीका कतिपय मतदातालाई त आफ्नो नाम प्रनिनिधिसभा र प्रदेशसभाको कुन क्षेत्रमा छ भन्ने समेत जानकारी छैन । डल्लु, स्वयम्भू, वसन्तपुर, माछापोखरी, बालाजु, वनस्थली, नागार्जुन क्षेत्रका मतदाताले कसरी भोट राख्ने भन्ने विषयमा कसैले नसिकाएको गुनासो गरेका छन् ।

काठमाडौं–८ को डल्लु आवास क्षेत्रका सुरेश महर्जनले नेता भोट माग्न आए पनि भोट हाल्ने प्रक्रियाबारे नसिकाएको बताए । ‘हामी यहाँको प्रदेशसभाको कति नम्बरमा पर्छौं भन्नेसमेत थाहा छैन’, उनले भने। सोही क्षेत्रका राममान डंगोलले गुनासो पोखे, ‘कतिवटा मतपत्र हुन्छन् र कति ठाउँमा भोट राख्ने हो भन्ने थाहै नपाई कसरी भोट हाल्ने ?’

बालाजु औद्योगिक क्षेत्रका हरिराम शर्माले प्रतिनिधिसभाका लागि क्षेत्र ७ मा परेको भए पनि प्रदेशसभाको क्षेत्रबारे जानकारी नभएको बताए। ‘कसैले दुई ठाउँमा भोट हाल्ने भन्छन्, कसैले तीन–चार ठाउँमा भन्छन्,ु उनले भने, ‘व्यक्तिपिच्छेका कुराले अन्योलमा परेका छौं ।’ क्षेत्र ७ कै शेषमतीका राजन अर्यालले पनि प्रदेशसभाको कति नम्बर क्षेत्रमा आफ्नो नामावली छ भन्ने थाहा नभएको बताए । आजको अन्नपूर्ण पोस्ट दैनिकमा खबर छ ।

प्रतिक्रिया दिनुहोस