निर्वाचनका कारण पुनर्निर्माण प्रभावित « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

निर्वाचनका कारण पुनर्निर्माण प्रभावित


२३ कार्तिक २०७४, बिहिबार


काठमाडौं । प्रदेश र प्रतिनिधिसभा निर्वाचनका कारण भूकम्पमा ध्वस्त निजी आवास पुनर्निर्माण कार्यक्रम प्रभावित बनेको छ । पुनर्निर्माणमा खटिनुपर्ने जनशक्ति निर्वाचन प्रचारमा लागेपछि काम प्रभावित भएको हो । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका अनुसार ७ लाख १ हजार २३ भूकम्पपीडितले निजी आवास बनाउन बाँकी छ । त्यसमध्ये एक लाख दुई हजार दुई सय ९३ भूकम्पपीडितले निजी आवास पुनर्निर्माण सुरु गरिसकेका छन् । बाँकी ५ लाख ९८ हजार ७ सय ३० भूकम्पपीडितले निजी आवास निर्माण अझै सुरु गरेका छैनन् ।

प्राधिकरणका सहप्रवक्ता डा. भीष्म भुसालले आवास निर्माणमा जुट्नुपर्ने जनशक्ति चुनावी प्रचारमा लागेपछि निजी आवास पुनर्र्निर्माण प्रभावित बनेको बताए । उनले भने, ‘प्राधिकरणले गर्ने काममा चुनावले खासै प्रभाव परेको छैन । तर, गाउँमा बन्दै गरेका घरमा भने अवश्य प्रभाव पारेको छ । घर बनाउने जनशक्ति चुनाव प्रचारमा लागेका छन् । मजदुर नै नभएपछि घर बनाउने कुरा भएन । त्यसकारण ग्रामीण भेगमा केही प्रभाव पर्नु स्वाभाविक पनि हो ।’

प्राधिकरणको तथ्यांकअनुसार सबैभन्दा धेरै निजी आवास गोरखामा बन्दै छन् । गोरखामा अनुदान सम्झौता भएका ५४ हजार पाँच सय २१ पीडितमध्ये १९ हजार ५ सय ९४ ले आवास बनाउन सुरु गरेका छन् । ८ हजार ६ सय ४७ ले भने बनाइसकेका छन् । नुवाकोटमा पनि १९ हजार ५१ पीडितले निजी आवास बनाउन सुरु गरेका छन् ।

सिन्धुपाल्चोकमा १८ हजार ३ सय ३४ पीडितले आवास बनाउन सुरु गरेका छन् । दोलखामा १७ हजार २ सय २४ ले आवास बनाउन सुरु गरेका छन् । रामेछापमा ११ हजार ४ सय ३२, काभ्रेमा १० हजार २ सय ८४, धादिङमा १० हजार २ सय ४, मकवानपुरमा ७ हजार ४ सय ८० र रसुवामा ३ हजार ३ सय ४७ पीडितले निजी आवास निर्माण थालेका छन् ।

तर, जनशक्ति अभावका कारण पीडितले निजी आवास निर्माणलाई तीव्रता दिन सकेका छैनन् । दोलखा जिल्ला समन्वय समितिका सभापति डबल पाण्डेले चुनावी प्रचारप्रसारका कारण पुनर्निर्माणमा प्रभाव परेको बताए । उनले भने, ‘चुनावले प्रत्येक गाउँलाई छोएको छ । दिनैपिच्छे कुनै न कुनै दलको कार्यक्रम गाउँमा भएका छन् । कार्यक्रममा सहभागी हुनेहरू पुनर्निर्माणमा खटिएकाहरू नै हुन् । त्यसले पुनर्निर्माणमा प्रभाव पारेको छ ।’

काभ्रेका प्रमुख जिल्ला अधिकारी शिवप्रसाद सिंखडाले निर्वाचनका कारण पुनर्निर्माणमा तत्काल प्रभाव नदेखिए पनि मंसिर पहिलो सातााबाट असर गर्ने बताए । उनले भने, ‘चुनावमा सर्वसाधारण सहभागी हुनु स्वाभाविक हो । यसैका कारण पुनर्निर्माणमा तत्काल त असर परेको छैन । तर, चुनाव हुने दिनभन्दा सात–दश दिनअघिबाट भने असर पर्ने देखिन्छ ।’ आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।

प्रतिक्रिया दिनुहोस