वृद्धभत्ता वृद्धिको घोषणा : सस्तो लोकप्रियता नबनाउन आग्रह « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

वृद्धभत्ता वृद्धिको घोषणा : सस्तो लोकप्रियता नबनाउन आग्रह


२२ कार्तिक २०७४, बुधबार


काठमाडौं । राजनीतिक दलहरूले घोषणापत्रमा उल्लेख गरेका सामाजिक सुरक्षा भत्ता वृद्धि लगायतका योजनालाई सस्तो लोकप्रियता मात्र नबनाउन ज्येष्ठ नागरिकका अगुवाले राजनीतिक दललाई आग्रह गरेका छन् । निर्वाचनका क्रममा मत प्रभावित गर्न मात्र सामाजिक सुरक्षाका विषयलाई घोषणापत्रमा समावेश नगर्न उनीहरूले दलहरूलाई पनि आग्रह गरेका हुन् ।

नेपाली काँग्रेस र वाम गठबन्धनको घोषणापत्रमा सामाजिक सुरक्षा भत्ता वृद्धि गरी मासिक पाँच हजार रुपियाँ पुर्याउने लगायतका अन्य सामाजिक सुरक्षाका योजना उल्लेख छ । दलका नेता सरकारमा गएपछि घोषणापत्रमा समावेश सामाजिक सुरक्षा योजनालाई व्यवहारमा कार्यान्वयन गर्न अडिग हुनुपर्ने ज्येष्ठ नागरिकका अगुवाहरूले बताए ।

राष्ट्रिय ज्येष्ठ नागरिक कोषका सदस्यसचिव जयप्रकाश केरुङले दलहरूले निर्वाचनका क्रममा मत प्रभावित गर्नका लागि मात्र घोषणापत्रमा सामाजिक सुरक्षाका योजना समावेश गरेको भए त्यो विडम्बना हुने बताए । दलहरूले घोषणापत्रमा समावेश गरेका सामाजिक सुरक्षाका योजना व्यवहारमा कार्यान्वयन गरे त्यसले ज्येष्ठ नागरिकलाई तत्कालका लागि राहत हुने उनले बताए ।

ज्येष्ठ नागरिक सेवा समाज नेपाल काठमाडौँ शाखाका अध्यक्ष शिवशङ्कर पौडेल राजनीतिक दलले आफ्ना घोषणापत्रमा समावेश गरेका कुरा प्रतिबद्ध भएर कार्यान्वयन गर्न सबै राजनीतिक दललाई आग्रह गरे । अग्रज समाज नेपालका सहअध्यक्ष नयन्द्र खड्का ज्येष्ठ नागरिकलाई मासिक पाँच हजार रुपियाँ दिनुपर्छ भनेर विगत पाँच वर्षदेखि अग्रज समाज नेपालले सडक सङ्घर्ष गर्दै आएको र ढिलै भए पनि दलहरूले आफ्नो घोषणापत्रमा सो कुरा उल्लेख गर्नु सकारात्मक भएको बताए । आजको गोरखापत्र दैनिकमा खबर छ ।

Tags :
प्रतिक्रिया दिनुहोस