मेलम्ची खानेपानीको सुरुङ दुई महिनाभित्र तयार हुँदै « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

मेलम्ची खानेपानीको सुरुङ दुई महिनाभित्र तयार हुँदै


२२ कार्तिक २०७४, बुधबार


melamchi-tunnel_karyadal

काठमाडौं । बहुप्रतीक्षित मेलम्ची खानेपानी आयोजनाको सुरुङ खन्ने काम अबको दुई महिनाभित्रै पूरा हुने भएको छ । अब करिब १२ सय मिटर मात्रै सुरुङ खन्न बाँकी छ । हाल दैनिक १८ मिटरका दरले खन्ने काम भइरहेकाले ६२ दिनभित्रै सुरुङ तयार भइसक्नेछ । आगामी १५ पुुसभित्र सुरुङको ‘ब्रेक थ्रु’ हुने आयोजनाले जनाएको छ ।

आयोजनाका कार्यकारी निर्देशक रामचन्द्र देवकोटाले आगामी १५ पुस आसपासमा सुरुङ खन्ने काम पूरा हुने बताए । ‘अब १२ सय मिटर सुरुङ खन्न बाँकी छ । दैनिक १८ मिटर सरदरमा खन्ने काम भए बाँकी भाग खन्न ६२ दिनमै ब्रेक थ्रु हुन्छ,’ उनले भने ।

मेलम्ची खानेपानीको दोस्रो फेजका रूपमा लार्के र यांग्री खानेपानी आयोजना निर्माण कार्य यसै वर्ष सुरु हुनेछ । यसका लागि आवश्यक विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) निर्माणको काम अन्तिम चरणमा पुगेको छ । डिपिआर पास भएलगत्तै लार्के र यांग्री खानेपानी आयोजना निर्माण कार्य अघि बढ्ने मेलम्ची खानेपानी आयोजनाका कार्यकारी निर्देशक देवकोटाको भनाइ छ ।

उनका अनुसार लार्के र यांग्रीको पानी राजधानी ल्याउन ११ किमि सुरुङ खन्नुपर्छ । ‘लार्के र यांग्री खानेपानी आयोजनाका डिपिआर दुई महिनामा सकिनेछ । त्यसलगत्तै सुरुङ निर्माणका लागि टेन्डर आह्वान हुनेछ । यसै आर्थिक वर्षभित्र काम सुरु गर्ने लक्ष्य छ,’ उनले भने ।

लार्के र यांग्रीको डिपिआर स्पेनिस परामर्शदाता इपिसाले तयार गर्दै छ । १० महिनादेखि डिपिआर निर्माणमा लागेको इपिसाले दुई महिनाभित्र सबै काम सक्ने जनाएको छ । योजनाअनुसार लार्के र यांग्री खोलाबाट दैनिक ३४ करोड लिटर खानेपानी काठमाडौं उपत्यका ल्याइनेछ । यसपछि मेलम्ची खानेपानीको सुरुङ भएर दैनिक ५१ करोड लिटर पानी उपत्यका भित्रिनेछ । आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।

Tags :
प्रतिक्रिया दिनुहोस