चुनावी मैदानमा दुई दर्जन ठेकेदार « प्रशासन
Logo ११ बैशाख २०८१, मंगलबार
   

चुनावी मैदानमा दुई दर्जन ठेकेदार


२२ कार्तिक २०७४, बुधबार


काठमाडौं । निर्माण क्षेत्रका ठेकेदारीमा संलग्न कम्तीमा दुई दर्जन व्यवसायीलाई दलहरूले चुनावी मैदानमा उतारेका छन् । निर्माण व्यवसायी महासंघको सूचीअनुसार प्रतिनिधिसभा र प्रदेशसभामा गरी २३ व्यवसायी उम्मेदवार बनेका छन् । ‘निर्वाचन मिति घोषणापश्चात् २३ निर्माण व्यवसायी चुनावी मैदानमा उत्रेको पहिचान भएको छ,’ महासंघका महासचिव रामशरण देउजाले भने, ‘सबैको सोधखोज गर्दैछौं, ४० जना निर्माण व्यवसायी चुनावमा उठेको अनुमान छ ।’ संविधानसभाबाट सांसदमा परिणत भएको यसअघिको सदनमा १७ निर्माण व्यवसायी सदस्य थिए ।

महासंघमा १२ हजार ५ सय निर्माण व्यवसायी आबद्ध छन् । कतिपय जिल्लामा साना–साना निर्माण व्यवसायी भएकाले जानकारीमा आउन नसकेको देउजाले बताए । ‘निर्माण व्यवसायीको सञ्जाल जिल्ला–जिल्लामा रहेकाले सबै संख्या यकिन हुन सकेको छैन,’ उनले भने । राजनीतिक दललाई आर्थिक सहयोग पुग्ने र व्यवसायी पनि सुरक्षित हुन पाउने भएकाले राजनीतिमा प्रवेश गर्ने गरेको एक व्यवसायीले बताए । ‘दलहरूलाई पनि सहयोग चाहिन्छ, व्यवसायीलाई पनि सुरक्षासँगै आफूअनुकूल कानुन बनाउन सहज हुने भएकाले निर्वाचनमा जाने गरेका हुन्,’ ती व्यवसायीले भने, ‘निर्वाचनमा जान नसक्नेहरू दलहरूलाई प्रभावित गरेर समानुपातिकमा भए पनि बस्ने गरेका छन् ।’

महासंघको सूचीअनुसार ११ व्यवसायी प्रतिनिधिसभाका लागि उम्मेदवार छन् । कालिका कन्स्ट्रक्सनका विक्रम पाण्डेलाई राप्रपाले चुनावी मैदानमा उतारेको छ । उनी चितवन ३ बाट प्रत्यक्षतर्फ प्रत्याशी बनेका छन् । उनी पूर्वप्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसँग भिड्दै छन् । रसुवा कन्स्ट्रक्सनका मोहन आचार्यलाई कांग्रेसले रसुवाबाट प्रतिनिधिसभाका लागि प्रत्यक्षतर्फ उठाएको छ । आजको कान्तिपुर दैनिकमा खबर छ ।

प्रतिक्रिया दिनुहोस