सहमति प्रयास विफल हुँदा तनावमा यादव « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

सहमति प्रयास विफल हुँदा तनावमा यादव


२० कार्तिक २०७४, सोमबार


लहान । सप्तरी क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्य उम्मेदवार संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादव आइतबार बिहान ११ बजे लहानस्थित आफ्नौ पार्टीका नेता राजलाल यादवको निवास आउँदा हतास देखिन्थे । राजलाल सिरहा क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्य उम्मेदवार हुन्।

उपेन्द्र आउनुअघि राजलालले आयोजना गरेको पत्रकार भेटघाटका लागि संवाददाताको बाक्लै उपस्थिति थियो । पत्रकार भेटघाट कार्यक्रम सकिएलगत्तै राजलालको मोबाइलमा उपेन्द्रको फोन बज्यो । उनले मुख बिगार्दै उपेन्द्रको फोन उठाए र भने– बाहिर फैलाएको भ्रमात्मक सन्देश चिर्न पत्रकारसँग कुराकानी गर्दैछु।

यति भन्दै फोन काटेपछि उपस्थित संवाददाताले जिज्ञासा राखिहाले– को थियो रु जबाफमा राजलालले भने– फोरम अध्यक्ष उपेन्द्र यादव आउँदै हुनुहुन्छ । केही बेरपछि यादव राजलाल निवास आइपुगे । यादवमा छटपटी थियो । संवाददातालाई देखेपछि उपेन्द्रको छटपटी झनै बढेको देखिन्थ्यो । उनले राजलालसँग गोप्य वार्तालाप गर्ने संकेत गरे । राजलाल उनलाई लिएर भित्रको कोठामा गए । करिब आधा घन्टाको वार्तालापपछि राजलाल प्रतीक्षारत संवाददातासमक्ष उपेन्द्रको सन्देश लिएर आइपुगे– कृपया, पत्रकारलाई फिर्ता जान भनिदिनुस्।

उपेन्द्रले राजलाल निवासमा क्षेत्र नम्बर १ बाट प्रदेशसभा सदस्य (क) का उम्मेदवार बैद्यनाथ साह र प्रदेशसभा सदस्य (ख) का उम्मेदवार राजकुमार गुप्तालाई समेत बोलाएका थिए । तर, उनको विशेष रुचि राजलालसँग थियो । राजलालले उम्मेदवारी फिर्ता लिऊन् भन्ने चाहना लिएर आएका थिए यादव । लामो वार्तालापपछि पनि राजलालले आफ्नो उम्मेदवारी फिर्ता नलिने अडान राखेपछि उपेन्द्र फर्केका थिए । उपेन्द्रले राजलालको उम्मेदवारी फिर्ता गराए कांग्रेसले सिरहा क्षेत्र नम्बर ४ र क्षेत्र नम्बर ३ का प्रतिनिधिसभा सदस्य उम्मेदवार क्रमशः मोक्तार अहमद र अमर रेग्मीको उम्मेदवारी फिर्ता गराउने सहमति थियो । ‘यी दुई उम्मेदवार सिरहास्थित निर्वाचन अधिकृतको कार्यालयमा समेत पुगिसकेका थिए’, कांग्रेस स्रोतले भन्यो, ‘राजलालले उम्मेदवारी फिर्ता नलिएपछि यी दुई उम्मेदवार पनि फिर्ता नलिई फर्केका थिए।’ आजको नागरिक दैनिकमा खबर छ ।

प्रतिक्रिया दिनुहोस