२५८ को उम्मेदवारी फिर्ता « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

२५८ को उम्मेदवारी फिर्ता


२० कार्तिक २०७४, सोमबार


काठमाडौं । दोस्रो चरणको चुनावमा प्रत्यक्षतर्फ २ सय ५८ जनाले उम्मेदवारी फिर्ता लिएका छन् । निर्वाचन कार्यतालिकाअनुसार आइतबार उम्मेदवारी फिर्ता लिने कार्यक्रम थियो ।

महोत्तरी क्षेत्र नम्बर ३ मा राष्ट्रिय जनता पार्टी अध्यक्ष मण्डलका संयोजक महन्थ ठाकुरलाई समर्थन गर्दै कांग्रेस उम्मेदवारले उम्मेदवारी फिर्ता लिएका छन् । पूर्वगृहमन्त्री तथा कांग्रेस नेता विमलेन्द्र निधिको पहलमा ठाकुरलाई सहयोग गर्ने भन्दै उम्मेदवारी फिर्ता गराइएको हो । कांग्रेसका तर्फबाट उम्मेदवारी दिएका बजरंग नेपालीले उम्मेदवारी फिर्ता लिएका हुन् ।

सुनसरी क्षेत्र नम्बर ४ मा कांग्रेसका उम्मेदवार ज्ञानेन्द्रबहादुर कार्कीलाई समर्थन गर्दै संघीय समाजवादी फोरम नेपालका उम्मेदवार फिर्ता भएका छन् । फोरम नेपालका मनोजकुमार यादवले उम्मेदवारी फिर्ता लिई कार्कीलाई सघाउने भएका छन् ।

सुनसरीकै क्षेत्र नम्बर १ मा फोरम नेपालका उम्मेदवार अशोक राईलाई कांग्रेसले सघाउने भएको छ । सुनसरीमा कांग्रेस र फोरम नेपालबीच एकले अर्कालाई समर्थन गरेपछि आठजनाले उम्मेदवारी फिर्ता लिएका छन् । त्यसैगरी काभ्रेपलान्चोकमा कांग्रेसलाई सघाउने भन्दै राप्रपालगायत दलका १३ जनाले उम्मेदवारी फिर्ता लिएका छन् ।

मंसिर २१ मा ४५ जिल्लामा हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि गत बिहिबार ४ हजार ८ सय ७ जनाले उम्मेदवारी दर्ता गराएका थिए । निर्वाचन आयोगले आइतबार साँझ दिएको जानकारीअनुसार अब ४ हजार ७ सय ४७ जनाको उम्मेदवारी कायम भएको छ ।

२ जनाको रद्द, ४ जनाको दाबी विरोधबाट उम्मेदवारी खारेज र २ सय ५८ जनाले उम्मेदवारी फिर्ता लिएको आयोगका प्रवक्ता नवराज ढकालले बताए । आयोगले उम्मेदवारलाई निर्वाचन चिह्न पनि दिइसकेको छ । निर्वाचन चिह्न दिइएका उम्मेदवारको अन्तिम विवरण आउन बाँकी रहेको आयोगले जनाएको छ । प्रतिनिधिसभा सदस्यतर्फ १ सय २८ र प्रदेशसभा सदस्यतर्फ २ सय ५६ पदका लागि मंसिर २१ मा चुनाव हुँदैछ । आजको नागरिक दैनिकमा खबर छ ।

प्रतिक्रिया दिनुहोस