नागढुंगा–सिस्नेखोला सुरुङमार्ग निर्माण असारदेखि « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

नागढुंगा–सिस्नेखोला सुरुङमार्ग निर्माण असारदेखि


२० कार्तिक २०७४, सोमबार


काठमाडौं । नागढुंगा–सिस्नेखोला सुरुङमार्गको निर्माणकार्य असारअघि नै सुरु हुने भएको छ । सुरुङमार्गको विस्तृत परियोजना रिपोर्ट (डिपिआर) तयार लगभग अन्तिम चरणमा पुगेको सडक विभागले जनाएको छ । सडक विभागअन्तर्गतको वैदेशिक महाशाखाका अनुसार सुरुङमार्ग निर्माणका लागि आगामी जनवरीभित्रै टेन्डर आह्वान गरिनेछ ।

ठेकेदार कम्पनी छनोट जेठ महिनासम्म सकिने र त्यसपछि निर्माणको काम सुरु हुनेछ । महाशाखा प्रमुख सञ्जयकुमार श्रेष्ठले डिपिआर तयारी अन्तिम चरणमा पुगेकाले सुरुङमार्ग निर्माणको काम चाँडै हुने बताए ।

सडक विभागका अनुसार नागढुंगास्थित नेपाल आयल निगमको डिपोबाट सुरु भई सिस्नेखोलासम्मको सडकखण्ड ४.५१ किलोमिटर हुनेछ । त्यसमध्ये सुरुङको भाग २.४५ किमि हुनेछ । सुरुङमार्ग निर्माणको सम्पूर्ण काम ४२ महिनामा सकिने विभागले जनाएको छ । सुरुङमार्गको कुल बजेट २२.५६ अर्ब अनुमान गरिएको छ । त्यसमध्ये १६.५६ अर्ब दातृ निकाय जापान इन्टरनेसनल कर्पोरेसन एजेन्सी (जाइका)को हुनेछ । बाँकी ६ अर्ब रुपैयाँ नेपाल सरकारको रहनेछ । जाइकाले दिने आर्थिक सहयोग सहुलियत ऋण हो । त्यसबापत नेपाल सरकारले जापानलाई १० वर्षपछि ०.०१ प्रतिशतका दरले ब्याज भुक्तान गर्नुपर्छ ।

भौतिक पूर्वाधार तथा यातायात व्यवस्थामन्त्री वीरबहादुर बलायरका अनुसार जापानको सहुलियत ऋणबाट बन्न लागेको यो नेपालकै पहिलो परियोजना हो । ‘सुरुङमार्ग निर्माणका लागि जापानले सहुलियत ऋण दिएको छ । यसले महत्वपूर्ण अर्थ राख्छ । नेपालको पूर्वाधार निर्माणमा यसलाई कोसेढुंगाका रूपमा लिनुपर्छ,’ मन्त्री बलायरले भने । आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।

प्रतिक्रिया दिनुहोस