चुनावमा नेविसंघले शुरू गर्यो ‘एक बुथ, ५० युथ’ अभियान « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

चुनावमा नेविसंघले शुरू गर्यो ‘एक बुथ, ५० युथ’ अभियान


१९ कार्तिक २०७४, आइतबार


काठमाडौं । नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ) ले एक आसन्न प्रदेश र प्रतिनिधिसभाको निर्वाचनलाई लक्षित गरेर ‘एक बुथ, ५० युथ अभियान’ सुरू गरेको छ ।

गत असोज २१ गते देशै भरका क्याम्पस इकाई, स्ववियू सभापति, क्षेत्रिय र जिल्ला अध्यक्षका साथै निर्वतमा केन्द्रिय समितिलाई प्रशिक्षण दिएको नेविसंघले ‘एक बुथ, ५० युथ अभियान’ सुरू गरेको हो । वाम गठबन्धन ‘अधिनायकवाद लाद्ने प्रपञ्च’ भएको ठहर गर्दै नेविसंघले कांग्रेसको पक्षमा जनलहर सिर्जना गर्न अभियान थालिएको नेविसंघका केन्द्रीय अध्यक्ष नैनसिंह महरले बताए ।

‘अभियानअन्तरगत हरेक जिल्लाबाट केन्द्रीय समितिमा प्रतिनिधित्व गर्ने पदाधिकारीलाई खटाइएको छ’, अध्यक्ष भने, ‘केन्द्रीय समितिमा प्रतिनिधित्व नभएका ८ जिल्लामा सम्बन्धित प्रदेश उपाध्यक्ष र सह–महामन्त्रीलाई संयुक्त रूपमा खटाइएको छ ।’

उनीहरुले सम्बन्धित क्षेत्रका उम्मेदवारसँगको समन्वयमा प्रचारप्रसार अभियानसहित अन्य चुनावी गतिविधि सञ्चालन गर्नेछन् भने हरेक शनिबार पार्टीमा त्यसको प्रतिवेदन बुझाउने छन् ।

साथै, नेविसंघले चुनावका वेला हुन सक्ने सम्भावित उछृङ्खल गतिविधिलाई रोक्न प्रत्येक निर्वाचन बुथमा ५० जना युवालाई स्वयंसेवकको रुपमा खटाउने उपाध्यक्ष पुष्पकुमार शाहीले बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस