अस्थायीलाई प्रश्नै सजिला ! « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

अस्थायीलाई प्रश्नै सजिला !


१८ कार्तिक २०७४, शनिबार


काठमाडौं । भनसुन र तोक आदेशमा सामुदायिक विद्यालयमा नियुक्त अस्थायी शिक्षकहरूलाई शिक्षक सेवा आयोगले लिने परीक्षामा सजिलाप्रश्न सोधेर सजिलै स्थायी बनाइने भएको छ।

आयोगले अस्थायी शिक्षकहरूलाई सोध्ने प्रश्नको ‘ग्रिड’ तथा पाठ्यक्रम नै सहज बनाएको छ। अस्थायी शिक्षकलाई उसले पढाउने विषयका आधारमा प्रश्न सोध्ने व्यवस्था गरिएको छ भने खुला प्रतिस्पर्धाबाट शिक्षक हुन चाहनेलाई विषयगत ज्ञानबाहेक पाठ्यक्रम, शिक्षण विधि एवं प्रविधिबाट प्रश्न सोध्ने पाठ्यक्रम बनाइएको छ।

अस्थायी शिक्षकलाई सहजै स्थायी गराउन ४० नम्बरको वस्तुगत र ६० नम्बरको विषयगत ज्ञानको प्रश्न सोधिनेछ। तर खुला प्रतिस्पर्धीलाई २० नम्बरको मात्रै वस्तुगत प्रश्न सोधिनेछ। बाँकी ८० नम्बरमा सम्बन्धित विषयवस्तुसम्बन्धी ज्ञानको ४० नम्बर र पाठ्यक्रम, शिक्षण विधि एवं प्रविधिसम्बन्धी ४० नम्बरको छ।

अस्थायीलाई विषयगत ६० नम्बरको साधध्न लागिएको छ भने खुलालाई ४० नम्बरको मात्रै छ। अस्थायीलाई पाठ्यक्रम, शिक्षण विधि एवं प्रविधिसम्बन्धी प्रश्न वस्तुगतमा समेटिएको छ। खुला प्रतिस्पर्धीले भने यीसम्बन्धी लामा र छोटा उत्तर दिनुपर्नेछ। त्यस्तै अस्थायीलाई विषयगतको पनि लामो प्रश्न मात्रै सोध्न लागिएको छ। खुलाले लामो छोटो दुवै किसिमका उत्तर दिनुपर्नेछ। अस्थायीलाई सम्बन्धित ज्ञानमा आधारित रहेको १०–१० नम्बरको ६ प्रश्न मात्रै सोध्ने ‘ग्रिड’ बनाइएको छ। छोटो प्रश्न छैन।

खुलालाई विषयगत प्रश्न १० नम्बरको दुई वटा र पाँच नम्बरको छोटो प्रश्न १२ वटा सोध्ने ‘ग्रिड’ बनाइएको छ। स्थायी शिक्षक हुन ४० नम्बर ल्याए पास हुने व्यवस्था गरिएको छ। शिक्षा ऐनअनुसार २०४९ अघिदेखि ०६१ सम्मका अस्थायी शिक्षकले स्थायी हुन ४० नम्बर मात्रै पुग्छ। वस्तुगत प्रश्न ४० नम्बरको भएपछि पास गर्न समस्या पर्दैन। आजको कान्तिपुर दैनिकमा खबर छ ।

Tags :
प्रतिक्रिया दिनुहोस