काठमाडौं नेसनल मेडिकल कलेजको सम्बन्धन खारेज नगर्न आदेश « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

काठमाडौं नेसनल मेडिकल कलेजको सम्बन्धन खारेज नगर्न आदेश


१६ कार्तिक २०७४, बिहिबार


सर्वोच्च अदालत

काठमाडौं । सरकारी निकायको अनुमतिबिना फर्जी निरीक्षण प्रतिवेदनका आधारमा काठमाडौं नेसनल मेडिकल कलेजलाई त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले दिएको अस्थायी सम्बन्धन खारेज नगर्न सर्वोच्च अदालतले अन्तरिम आदेश दिएको छ ।

सर्वोच्चका नवनियुक्त न्यायाधीश डम्बरबहादुर शाहीको एकल इजलासले कात्तिक ८ गते यस्तो आदेश जारी गरेको हो । कलेजका सञ्चालक जैनुद्धिन अन्सारीले दायर गरेको रिट निवेदनमाथि जारी भएको अन्तरिम आदेश झन्डै एक साता गोप्य राखिएको थियो । महान्यायाधिवक्ता कार्यालय स्रोतका अनुसार काठमाडौं नेसनल मेडिकल कलेजको अस्थायी सम्बन्धन खारेज गर्ने त्रिवि कार्यकारी परिषदको गत भदौ १७ गतेको निर्णय तत्काल कार्यान्वयन नगर्न आदेशमा भनिएको छ । अन्सारी पक्षका कानुन व्यवसायीहरूको एकपक्षीय सुनुवाइका आधारमा सर्वोच्चले आदेश दिएको हो ।

अदालतको आदेशपछि काठमाडौं नेसनल मेडिकल कलेज त्रिविको अस्थायी सम्बन्धन पाएको मेडिकल कलेजको हैसियतमा पुगेको छ । उक्त रिट निवेदनमा शिक्षा मन्त्रालय, त्रिभुवन विश्वविद्यालय लगायतलाई विपक्षी बनाइएको थियो । गत कात्तिक १ गते निवेदन दर्ता भएकोमा न्यायाधीश ओमप्रकाश मिश्रले हेर्न नभ्याएपछि ८ गते शाहीको इजलासमा मुद्दाको पेसी तोकिएको थियो । आजको कान्तिपुर दैनिकमा खबर छ ।

Tags :
प्रतिक्रिया दिनुहोस