मन्त्रीकै कार्यकक्षमा दुई सातादेखि ताला « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

मन्त्रीकै कार्यकक्षमा दुई सातादेखि ताला


१६ कार्तिक २०७४, बिहिबार


काठमाडौं । मुलुकको गृह, परराष्ट्र, सामान्य प्रशासनजस्ता महत्वपूर्ण मन्त्रालयका मन्त्रीका कार्यकक्षमा दुई सातादेखि ताला लाग्दै आएको छ । मुलुकका ६ वटा मुख्य मन्त्रालय मन्त्रीविहीन भएपछि ती मन्त्रालयका महत्वपूर्ण काम अवरुद्ध भएका छन् । दुई सातादेखि गृह, परराष्ट्र, सामान्य प्रशासन, शान्ति तथा पुनर्निर्माण, विज्ञान तथा प्रविधि र पशुपक्षी विकास मन्त्रालयमा मन्त्री छैनन् ।

सबै मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्री आफैंले लिएका छन् । प्रधानमन्त्री मन्त्रालयहरूमा नजाँदा सबै मन्त्रालयमा मन्त्रीको सचिवालय र कार्यकक्षमा ताल्चा ठोकेर राखिएको हो। ‘घरमा मूली नभएपछि घरको अवस्था जसरी भद्रगोल हुन्छ त्यसरी नै मन्त्री नभएपछि मन्त्रालय पनि भद्रगोल हुन पुगेको छ’, मन्त्रालयका कर्मचारीको गुनासो छ ।

मन्त्रालयमा प्रत्यक्ष रूपमा मन्त्री नहुँदा त्यसको सबैभन्दा बढी प्रभाव मुलुकको शान्ति सुरक्षाको जिम्मेवारी लिएको गृह मन्त्रालयमा परेको छ । निर्वाचन नजिकिँदै गरेको र निर्वाचन गराउने प्रमुख दायित्व गृहमन्त्रीको भएकाले मन्त्री मन्त्रालयमा नहुँदा गम्भीर समस्या आउन सक्ने मन्त्रालयकै एक वरिष्ठ अधिकारीले बताए ।

‘निर्वाचनको समयमा रातदिन खटिनुपर्ने र सुरक्षा सम्बन्धमा तुरुन्त महत्वपूर्ण निर्णयसमेत गर्नुपर्ने अवस्थामा प्रधानमन्त्रीलाई खोज्दै दौडिनुपर्ने अवस्थाले सुरक्षामा प्रतिकूल अवस्था सिर्जना हुन सक्छ’, गृहका ती अधिकारीले भने। आजको अन्नपूर्ण पोस्ट दैनिकमा खबर छ ।

प्रतिक्रिया दिनुहोस