‘नर्क’ बन्यो सिसडोल « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

‘नर्क’ बन्यो सिसडोल


१६ कार्तिक २०७४, बिहिबार


काठमाडौं । एक दिन काठमाडौंमा फोहोर उठेन भने छ्या भनेर नाक खुम्च्याउनेको संख्या हजारौं हुन्छ। त्यही फोहोरको दुर्गन्धमा एक दशकभन्दा बढी समय बिताएका कोल्पुका स्थानीयले भने दुर्गन्ध भयो भन्न जाने ठाउँ अझै भेट्टाएका छैनन्। घर छाडेर जाने अवस्था नभएका उनीहरू फोहोरकै कारण बिरामी पर्दै जान थालेका छन् ।

नुवाकोटस्थित सिसडोल ल्यान्डफिल साइटमा जोडिएको कोल्पुका बासिन्दा जेठा बलामी भन्छन्, ‘अन्त कतै जाने ठाउँ छैन । सहनुको विकल्पै छैन ।’ बलामी १४ वर्षदेखि सिसडोलमा फालिएको फोहोरको दुर्गन्ध सहेरै बसेका छन् । ०५१ सालमा घर बनाएर बसेका उनले पीडा सुनाए, ‘हामीले घर बनाएर बस्दा सिसडोल स्वर्ग थियो। काठमाडौंको फोहोरले यसलाई नर्क बनायो ।’

जेठाको परिवार बाटो जोडिएकै जग्गामा होटल चलाउँदै आएका छन्। टेबल, भित्ता, चुलो र पकाएर राखिएका परिकारमा झिँगा र सिसडोल जाने र फर्कने दैनिक सयभन्दा बढी टिपरको धुलोले ढपक्कै ढाकेको छ। होटलमा खाना पकाइरहेकी उनकी पत्नी सन्तमायाको माइती नुवाकोटकै आठमाइल पर्छ। सुरुमा स्वर्ग सिसडोल भन्दै आफूलाई अन्माएको सम्झँदै उनले भनिन्, ‘कर्ममै नर्कमा पर्नु लेख्या रै’छ ।’

महानगरपालिकाले पछिल्ला वर्षमा साइटबाट ९ सय मिटर आसपासका प्रभावित करिब तीन सय घरलाई क्षतिपूर्ति दिन थालेको छ। जेठाले तीन घरबापत महानगरपालिकाबाट वार्षिक ३६ हजार रुपैयाँ पाउँछन्। जेठाका बुबा ७२ वर्षीय पूर्णले भने, ‘नयाँ मान्छे आएर केही घन्टा बस्यो भने ऊ बिरामी भएर फर्कन्छ। बुढेसकालमा दुर्गन्धले कहिले सास जालाजस्तो हुन्छ ।’

०६२ सालमा तीन वर्षका लागि भनेर महानगरले सिसडोलमा फोहोर फाल्न थालेको हो । विकल्प खोज्न नसक्दा अहिलेसम्म महानगरले फोहोरमाथि फोहोर थुपारिरहेको हो । फोहोरको थुप्रो चुलिएर पहाड बनेको छ। माथिको फोहोरले थिचेर कुहिएको फोहोरबाट निस्केको ढल कोल्पु खोलामा मिसिएको छ । काठमाडौं, ललितपुर र भक्तपुरसमेतको गरी दैनिक झन्डै साढे आठ सय मेट्रिक टन फोहोर सिसडोल लगेर थुपारिन्छ ।

निजी क्षेत्रका दुई सय र महानगरका ८० ट्रिपर फोहोर ओसार्न प्रयोग भएका छन् । दैनिक एक सय २० ट्रिपरले फोहोर साइटमा पुर्‍याउँछन् । महानगरपालिकाको वातावरण विभागको संयोजनमा बुधबार सञ्चारकर्मीको टोली पुग्दा ट्रिपर पालैपालो फोहोर पोखिरहेका थिए । दुईवटा डोजरले ती थुप्रालाई व्यवस्थापन गर्दै थिए । अर्को डोजरले भित्तोबाट माटो कोपर्दै एक छेउमा थुपार्दै थियो। अर्को डोजरले त्यो माटो लगेर फोहोरमाथि पुर्दै थियो । एक दर्जन गाईगोरु र बाख्राका हुल त्यही फोहोरमा चरिरहेका थिए। सिसडोलस्थित साइटमा भ्याली १, २, ३ गर्दै ४ बनाएर आसपास सबै भर्दा पनि बन्चरेडाँडामा ल्यान्डफिल्ड साइड तयार हुन सकेको छैन ।

सिसडोल साइटका इन्चार्ज सरकारदीप श्रेष्ठले साइटको डंगुर देखाउँदै फोहोर फाल्नै नमिल्ने अवस्थामा पुगेको बताए। २०६२ सालमा महानगरले फोहोरका लागि वार्षिक डेढ करोड छुट्याएको थियो। चालु आवमा झन्डै ६ करोड रुपैयाँ खर्चिदैछ। उनले भने, ‘बर्खाले ढाडिएको फोहोरमा ट्रिपर गुडाउँदा गत वर्ष फसेको छ, अबको बर्खाअघि नै विकल्प नपाए महानगरपालिकाको कुनै विकल्प छैन ।’ आजको अन्नपूर्ण पोस्ट दैनिकमा खबर छ ।

प्रतिक्रिया दिनुहोस