एमबिबिएसमा मनपरी शुल्क लिन केयूको छुट « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

एमबिबिएसमा मनपरी शुल्क लिन केयूको छुट


१४ कार्तिक २०७४, मंगलबार


काठमाडौं । सरकारको निर्णय र डा. गोविन्द केसीसँगको सहमतिविपरीत काठमाडौं विश्वविद्यालयले निजी मेडिकल कलेजहरूलाई सीधै विद्यार्थी भर्ना गर्न अनुमति दिएको छ । मेरिटलिस्ट छलेर मोलमोलाइका आधारमा विद्यार्थी भर्ना गर्न पनि कलेजहरूले छुट पाएका छन् ।

सरकारले २६ मंसिर ०७३ मा एमबिबिएस र बिडिएस भर्नाको शुल्क–सीमा तोकेको थियो । पछिल्लो पटक ३१ असोजमा डा। केसी र सरकारबीच भएको सहमतिमा पनि सरकारले तोकेको मापदण्डअनुसार नै विद्यार्थी भर्ना गर्ने उल्लेख छ । तर, १५ दिन नबित्दै केयूले सहमतिविपरीत निजी कलेजहरूलाई सरकारले तोेकेकोभन्दा बढी शुल्क लिएर विद्यार्थी भर्ना गर्ने अनुमति दिएको छ ।

विद्यार्थी भर्नामा मेडिकल कलेजले मनोमानी शुल्क असुलेको गुनासो आएपछि यसै वर्षदेखि केयूले पनि आफैँ भर्ना लिने व्यवस्था गरेको थियो । उसले एमबिबिएस अध्ययन गर्न चाहने विद्यार्थीलाई काउन्सिलिङ गरी मेरिटका आधारमा विद्यार्थी आफूले रोजेको कलेजमा पढ्न पाउने व्यवस्था गरेको थियो । तर, दुई महिना नपुग्दै निर्णय उल्ट्यायो ।

केयूले सोमबार एक जरुरी सूचना निकाल्दै निजी मेडिकल कलेजलाई सीधै भर्ना लिने बाटो खोलेको छ । सोमबारको पत्रका आधारमा कलेजहरूले विद्यार्थी आफैँ भर्ना लिने र विद्यार्थीको लिस्ट मात्रै केयूमा पठाए पुग्छ । केयूले गरेको पछिल्लो निर्णयले निजी मेडिकल कलेजहरूलाई फाइदा पुग्ने चिकित्सा अध्ययन संस्थान (आइओएम) का प्रा.डा. गोविन्द केसीनिकट चिकित्सकहरूको भनाइ छ । मेरिटमा परेका २३ सय दुईदेखि ४३ सय २६ सम्मका उम्मेदवारहरूलाई भर्नाका लागि सीधै मेडिकल कलेजसँग सम्पर्क गर्न काठमाडौं विश्वविद्यालयले आग्रह गरेको छ । विद्यार्थीलाई ओहोरदोहोरमा समस्या हुने भएकाले यस्तो निर्णय गरेको उसले बताएको छ । स्रोतका अनुसार निजी मेडिकल कलेजले मेरिटका आधारमा विद्यार्थी भर्ना लिएपछि केयूलाई लिस्ट पठाउने र सो लिस्टअनुसार निर्णय गर्नेछ । आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।

प्रतिक्रिया दिनुहोस