कांग्रेस घोषणापत्र – वाम गठबन्धनप्रति आक्रामक « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

कांग्रेस घोषणापत्र – वाम गठबन्धनप्रति आक्रामक


१४ कार्तिक २०७४, मंगलबार


काठमाडौं । कांग्रेसले एमाले–माओवादी वाम गठबन्धनविरुद्ध डटेर लड्न देशभरका लोकतन्त्रवादी शक्तिलाई आह्वान गरेको छ । प्रतिनिधिसभा र प्रदेशसभा चुनावका लागि तयार पारेको घोषणापत्रमा कांग्रेसले कम्युनिस्ट गठबन्धनले संसदीय प्रणाली नै संशोधन गरी राष्ट्रपतीय प्रणालीका माध्यमबाट एकदलीय कम्युनिस्ट शासन भित्र्याउन खोजेको आरोप लगाएको छ ।

कांग्रेसले यही विषयलाई मुख्य चुनावी मुद्दा बनाउँदै लोकतन्त्रवादीको मत आफूतिर आकर्षित गर्ने प्रयास गरेको छ । घोषणापत्र मंगलबार सार्वजनिक हुँदैछ । उसले मधेसको समस्या समाधान गर्नका लागि संविधान संशोधनको विकल्प नरहेको भन्दै मधेसी जनताको चाहनाको स्वागत गरेको छ । ‘कम्युनिस्ट गठबन्धनका नेता र योजनाकारले संविधानका आधारभूत लोकतान्त्रिक मूल्यपद्धति र शासन प्रणालीलाई संशोधन गर्दै प्रत्यक्ष राष्ट्रपतीय प्रणालीका माध्यमबाट एकदलीय कम्युनिस्ट पार्टीद्वारा सत्ता नियन्त्रण गर्ने र नेपालमा साम्यवाद स्थापना गर्ने उद्देश्य राखेका छन्,’ कांग्रेस घोषणापत्रमा भनिएको छ ।

कम्युनिस्ट गठबन्धनको उद्देश्य आगामी प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा चुनावी तालमेल गरी अन्ततः एउटै कम्युनिस्ट पार्टी बनाउने रहेको कांग्रेसको ठम्याइ छ । ‘यो कम्युनिस्ट गठबन्धनले अन्ततः संविधानले प्रत्याभूत गरेको संघीय समावेशी लोकतन्त्रका आधारभूत संरचना तथा अधिकार भत्काउने र अपहरित गर्ने नियत राखेको देखिन्छ,’ कांग्रेसले भनेको छ, ‘एकदलीय कम्युनिस्ट शासनको सपना र प्रयोगले धेरै मुलुकका स्वाधीनता, स्वतन्त्रता र समृद्धि गुमेको इतिहास छ । नेपाललाई पनि यस्तो जोखिमतर्फ धकेल्ने कुचेष्टा वर्तमान कम्युनिस्ट गठबन्धनले गरेको छ ।’ कांग्रेसले सत्ता र स्वार्थको गठबन्धनको डटेर सामना गर्ने उल्लेख गर्दै लोकतन्त्र र आर्थिक समृद्धिका लागि निजी क्षेत्रको उत्साहपूर्ण भूमिका र क्षमता तथा सामाजिक न्याय र समतामूलक विकाससहितको लोकतान्त्रिक समाजवाद स्थापनाको अभियानलाई अवरुद्ध हुन नदिने अठोट लिएको छ ।

एमाले नक्कली राष्ट्रवादी, माओवादी षड्यन्त्रकारी

कांग्रेसले एमालेलाई राष्ट्रिय एकता र समृद्धिको बाधक शक्ति भनेको छ । ‘मधेस र पहाडका बीच मतभेद चर्काउने, मधेसी समुदाय र पहाडी समुदायको राष्ट्रियताको भावनालाई बेग्लाबेग्लै तराजुमा जोख्ने र प्रचार गर्ने एमालेको अतिवादी विचारले देशको एकता र सामाजिक सद्भाव, संविधानको कार्यान्वयन र लोकतान्त्रिक अभ्यासलाई ठूलो क्षति पुर्‍याएको छ,’ कांग्रेसले भनेको छ । एमाले र माओवादी केन्द्र गठबन्धनले निर्वाचनका बेला सम्पूर्ण देशलाई ‘कथित’ राष्ट्रवादी र अराष्ट्रवादी कित्तामा विभाजित गर्ने काम गरेको समेत उसले उल्लेख गरेको छ ।

हिमाल–पहाड–मधेसका जनताबीच भावनात्मक मतभेद चर्काएर हिंसा र बल प्रयोग गर्ने, शान्ति सुरक्षाको जिम्मेवारी पाएको गृह प्रशासनलाई राष्ट्रिय कर्तव्यबाट विचलित गराउने कम्युनिस्ट गठबन्धनको रणनीति रहेको कांग्रेसको आरोप छ । उसले माओवादी (केन्द्र) सत्तापक्षमा पनि साझेदार हुने र प्रतिपक्षसँग गठबन्धनमा पनि हिस्सेदार हुनेलाई अनैतिक र षड्यन्त्रकारी भूमिकाका रूपमा कांग्रेसले लिएको छ ।

संविधान संशोधनको शान्तिपूर्ण र मध्यमार्गी बाटो अवरुद्ध गर्ने तथा कम्युनिस्ट वर्चस्वको एकदलीय एवं निरंकुश शासनका लागि एमालेको नेतृत्वमा कम्युनिस्ट गठबन्धन निर्माण गर्ने प्रयासले नयाँ संविधानका उपलब्धि, आर्थिक प्रगति, राष्ट्रिय एकता र सामाजिक सद्भाव जोखिममा परेको कांग्रेसको ठहर छ । ‘अहिले कम्युनिस्ट गठबन्धनको नाममा नेकपा (एमाले) र माओवादी (केन्द्र) कम्युनिस्ट वर्चस्वको सरकार, प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति, त्यसबाट प्राप्त हुने कथित राजनीतिक स्थिरता र आर्थिक समृद्धिको नारा उचालेर देश र जनतालाई भ्रममा पार्न खोज्दै छन्,’ कांग्रेसले भनेको छ । संसद्मा कम्युनिस्ट वर्चस्वले स्थिरताको ग्यारेन्टी नगर्ने भन्दै कांग्रेसले व्यक्तिमा केन्द्रित कार्यकारी अधिकार भएको राष्ट्रपतीय प्रणालीले स्थिरताको ग्यारेन्टी गर्न नसक्ने दाबी गरेको छ । ‘यस्तो अवस्था देशलाई केबल निरंकुश कम्युनिस्ट शासनतर्फ लैजाने तथा मुलुकमा लामो समयसम्म द्वन्द्व सिर्जना गर्ने एउटा खतरनाक प्रयोग मात्र हुन सक्छ,’ उसले भनेको छ । कांग्रेसले एमाले र माओवादी केन्द्रलाई सुनियोजित तबरबाट संस्थागत भ्रष्टाचारलाई संरक्षित गर्ने पार्टी प्रमाणित भएको जिकिर गरेको छ । राजनीतिक पार्टीको चरित्र गुमाउँदै एमालेले लेबी बुझाउने सक्रिय नेता र कार्यकर्ताका भ्रातृ संगठनको माध्यमबाट अस्पताल, मेडिकल कलेज, एनजीओ सञ्चालन, सहकारी संस्था, उद्योग, जलविद्युत्, आवास र बैंकिङ क्षेत्रमा लगानी र स्वार्थ भएको व्यावसायिक घरानाको भूमिकामा आफूलाई परिवर्तित गर्दै लगेको कांग्रेसले उल्लेख गरेको छ ।

माओवादी केन्द्रलाई कांग्रेसले अस्थिर राजनीतिको लाभ खोज्ने वैचारिक विचलन र अवसरवादी प्रवृत्ति भएको पार्टीका रूपमा चित्रण गरेको छ । एमालेसँगको गठबन्धनमा जानुअघि कांग्रेस माओवादीप्रति निकै नरम थियो । गएको स्थानीय चुनावको घोषणापत्रमा समेत माओवादी केन्द्रलाई कांग्रेसले यस्तो आक्षेप लगाएको थिएन । माओवादी केन्द्र द्वन्द्वकालीन सहकार्यमा आबद्ध हुनुको साटो अस्थिर राजनीतिका बखत सत्ताको लाभ खोज्ने प्रवृत्तिले राष्ट्रिय राजनीतिमा अस्थिरता बढाएको कांग्रेसको ठहर छ । ‘पुष्पकमल दाहाल नेतृत्वको माओवादी पार्टी विगत एक दशकदेखि अस्थिर राजनीतिक समीकरण, सत्ता स्वार्थको गठबन्धन, वैचारिक अस्पष्टता र असफलताको केन्द्र बन्दै आएको छ,’ कांग्रेसले भनेको छ ।

पहिलो संविधानसभामा ठूलो पार्टीको भूमिका र सरकार नेतृत्वको अवसर पाएर पनि नेकपा माओवादी (केन्द्र) को परिचय संविधान निर्माण गर्न नसक्ने, दोस्रो संविधानसभामा संविधान निर्माणको महत्त्वपूर्ण जिम्मेवारी र अवसर पाएर पनि संविधानसभामा ध्वंस मच्चाएर संविधान सडकबाट लेख्न उद्यत हुने पार्टीका रूपमा माओवादी केन्द्र रहेको कांग्रेसको ठम्याइ छ । ‘एउटा विचार र दर्शनमा आबद्ध भएर एघार वर्ष सशस्त्र द्वन्द्वमा होमिएका सिंगो माओवादी पार्टी विगत एक दशकमा टुक्राटुक्रा भएको छ,’ घोषणापत्रमा छ, ‘आफू निरन्तर विभाजित भइरहेको माओवादी र एमाले अब एउटै कम्युनिस्ट पार्टी बनाउने नारामा अहिले एकअर्कालाई धृतराष्ट्रको अँगालोमा बाँध्ने गरी क्रियाशील भएका छन् ।’

कम्युनिस्ट गठबन्धनको चर्को आलोचना गर्दै कांग्रेसले अहिलेको सम्पूर्ण राजनीतिक समस्याको समाधान राष्ट्रिय एकता, मेलमिलाप र सहमतिको भावनाको माध्यमबाट मात्रै हुन सक्ने बताएको छ । ‘राष्ट्रियता जनताको सँगै बस्ने, सँगै बाँच्ने, सँगै प्रगति गर्ने र सँगै मर्ने बलियो भावनात्मक एकताबाट तथा आफ्नो भाषा, संस्कृति, भूगोल र ऐतिहासिक गौरव, विशिष्टता र पहिचानको रक्षा तथा संवद्र्धन गर्ने संकल्पबाट सुदृढ बन्ने गर्दछ,’ कांग्रेसले भनेको छ । राष्ट्रियता र राष्ट्रवाद नेपालका कम्युनिस्टहरूले प्रचार गर्न खोजेको जस्तो कहिल्यै पनि जनतालाई विभाजित गर्ने र समुदायका बीच विभेद सिर्जना गर्ने घृणा र उन्मादको नकारात्मक अवधारणामा आधारित हुन नसक्ने भन्दै कांग्रेसले राष्ट्रवादको अन्ध नारामा मात्र बहकिँदा लोकतन्त्र र देशको एकतामा गम्भीर आघात पुग्न बताएको छ ।

घोषणापत्रमा कांग्रेस लोकतान्त्रिक गठबन्धनमा आबद्ध दलहरूप्रति नरम देखिएको छ । कांग्रेस नेतृत्वमा रहेको लोकतान्त्रिक गठबन्धनमा राष्ट्रिय जनता पार्टी (राजपा), संघीय समाजवादी फोरम, राप्रपा, राप्रपा (प्रजातान्त्रिक) र नयाँ शक्ति नेपाल छन् । कांग्रेसले राजनीतिक र विकासका मुद्दामा मधेस केन्द्रित दलहरूको सहकार्यमा समस्याको समाधान खोज्ने पनि बताएको छ । राप्रपा (प्रजातान्त्रिक) र राप्रपासँग विश्वसनीय सहकार्य गर्ने कांग्रेसले उल्लेख गरेको छ । उसले राष्ट्रियता र लोकतन्त्र, सामाजिक न्यायसहितको प्रतिस्पर्धात्मक आर्थिक ढाँचा र देशको समृद्ध सांस्कृतिक वैभव र पहिचानको संरक्षण गर्ने संवैधानिक प्रतिबद्धता यी पार्टीहरूसँगको सहकार्य गर्ने बलियो आधार रहेको उसले उल्लेख गरेको छ ।

राजनीतिक दलहरूले सत्ताका निम्ति मात्र दलीय प्रतिस्पर्धा गर्नुको साटो लोकतन्त्र र आर्थिक समृद्धिको मुद्दालाई केन्द्र भागमा राखेर राजनीतिक सहकार्य गर्ने तत्परता देखाउन जरुरी भएको कांग्रेसले उल्लेख गरेको छ । आजको कान्तिपुर दैनिकमा खबर छ ।

प्रतिक्रिया दिनुहोस