काठमाडौं–हेटौँडा सुरुङमार्ग निर्माणमा दुई चिनियाँ कम्पनीको चासो « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

काठमाडौं–हेटौँडा सुरुङमार्ग निर्माणमा दुई चिनियाँ कम्पनीको चासो


१४ कार्तिक २०७४, मंगलबार


काठमाडौं । दुई चिनियाँ कम्पनीले काठमाडौं–हेटौँडा सुरुङमार्ग निर्माणमा चासो देखाएका छन् । भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालयका अनुसार सिनो हाइड्रो र चाइना रेलवे कम्पनीले सुरुङमार्ग निर्माणमा चासो देखाएका हुन् । त्यसमध्ये पावर चाइना (सिनो हाइड्रो)का उच्च प्रतिनिधिले भौतिक पूर्वाधार तथा यातायात व्यवस्थामन्त्री वीरबहादुर बलायरलाई भेटेरै प्रस्ताव राखेका छन् । रेलवे कम्पनीका प्रतिनिधि भने सुरुङमार्गको स्थलगतसहित सम्पूर्ण प्रतिवेदन अध्ययन गरी चीन फर्किएका छन् ।

मन्त्री बलायरले सुरुङमार्ग निर्माण सम्बन्धमा पावर चाइनका प्रतिनिधिसँग गहन छलफल भएको बताए । ‘काठमाडौं–कुलेखानी–हेटौँडा सुरुङमार्ग निर्माण ढिला भइरहेको थियो । अब यसलाई स्थगित नै गर्ने भन्ने मनस्थितिमा सरकार पुगेको थियो । यही समयमा सुरुङमार्ग निर्माणमा चासो देखाउँदै भेट्न आएका पावर चाइनाका प्रतिनिधिसँग छलफल भएको छ । उनीहरूको प्रस्तावमा विश्वस्त हुने केही आधार भेटिएका छन्,’ उनले भने ।

पावर चाइनाका प्रतिनिधिले सुरुङमार्गको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) परिमार्जन गर्न चाहेको मन्त्री बलायरले बताए । ‘सुरुङमार्ग निर्माणका विषयमा विस्तृत छलफल भयो । उनीहरूले डिपिआरमा केही परिमार्जन चाहेका छन् । त्यसो हुन सके लगानी गर्न सक्ने उनीहरूको आशय थियो । पावर चाइनाको सिनो हाइड्रोले नेपालमा यसअघि पनि धेरै खालका पूर्वाधार निर्माण गरेको छ, सुरुङमार्ग निर्माणमा चासो देखाएकाले विश्वस्त हुने ठाउँ देखियो,’ उनले भने । आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।

Tags :
प्रतिक्रिया दिनुहोस