प्रत्यक्षतर्फ एमालेले टुंग्यायो ५०% उम्मेदवार « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

प्रत्यक्षतर्फ एमालेले टुंग्यायो ५०% उम्मेदवार


१४ कार्तिक २०७४, मंगलबार


काठमाडौं । एमालेले दोस्रो चरणको निर्वाचनका लागि करिब ५० प्रतिशत उम्मेदवार टुंगो लगाएको छ । उपाध्यक्ष वामदेव गौतमको निवास भैँसेपाटीमा सोमबार राति अबेरसम्म बसेको स्थायी समिति बैठकले २१ मंसिरमा हुने निर्वाचनका लागि प्रतिनिधिसभा र प्रदेश सभाका करिब ५० प्रतिशत उम्मेदवार टुंगो लगाएको हो ।

माओवादी केन्द्रसँग वाम गठबन्धन कार्यदलमा टुंगिएर प्रतिनिधिसभातर्फ आफ्नो भागमा परेका ६८ सिटमध्ये ३५ उम्मेदवारको नाम एमालेले टुंग्याएको छ । बैठकले प्रदेश नम्बर ७ का उम्मेदवारहरूको नाम टुंगो लगाएको छ । ६ नम्बर प्रदेशमा पनि छलफल भए पनि निर्णय भएको छैन । बाँकी प्रदेशहरूका उम्मेदवार मंगलबार बेलुकीसम्म टुंगो लगाइने केन्द्रीय कार्यालय सचिव कृष्णगोपाल श्रेष्ठले बताए । ‘अन्य प्रदेशका उम्मेदवार मंगलबार बेलुकीसम्म टुंगो लगाउँछौँ,’ श्रेष्ठले भने, ‘समानुपातिकतर्फ पनि आइतबार बुझाइएको सूचीमा केही नाम थपघट हुन सक्छ ।’

निर्वाचन आयोगको कार्यतालिकाअनुसार समानुपातिकतर्फ बुझाइएको संशोधित सूचीमा मंगलबार केही नाम हटाउन र थप्न पाइनेछ । सोही कारण एमालेसहित प्रमुख दलहरूले समानुपातिकतर्फको सूची सार्वजनिक गरेका छैनन् । ‘पार्टीले सर्वसम्मत रूपमा समानुपातिकतर्फका योग्य उम्मेद्वारहरूको नाम टुंग्याइसकेको छ,’ केन्द्रीय प्रचार विभागका सचिव विष्णु रिजालले भने, ‘प्रत्यक्षतर्फका बाँकी उम्मेदवारको नाम पनि मंगलबारै टुंगो लाग्नेछ ।’ दोस्रो चरणका लागि १६ कात्तिकमा उम्मेदवारी मनोनयन रहेकाले मंगलबार अबेरसम्म सबै उम्मेदवारहरूको नाम टुंग्याउने दबाबमा एमाले छ । आवको नयाँ पत्रिका दैनिकमा खबर छ ।

प्रतिक्रिया दिनुहोस