दुर्घटना घटाउन ड्राइभर एजुकेसन र रोड रूल इनफोर्समेन्ट प्यारालल्ली लैजानुपर्छ « प्रशासन
Logo १२ मंसिर २०७८, आइतबार
   

दुर्घटना घटाउन ड्राइभर एजुकेसन र रोड रूल इनफोर्समेन्ट प्यारालल्ली लैजानुपर्छ


१४ कार्तिक २०७४, मंगलबार


सडक समृद्धिको आधार मानिन्छ । किनकि विकास निर्माणको सबैभन्दा पहिलो सर्त सडक हो । तर, हाम्रोमा भने सडकको दुरावस्था देखिन्छ । सडकको अवस्था, यसले पारेको प्रभाव, सडक दुर्घटनालगायत विषयमा भौतिक योजना तथा निर्माण मन्त्रालयका प्रवक्ता राजेन्द्र शर्मासँग प्रशासन डट कमका एसराज उपाध्यायले गरेको कुराकानी ।

सडकलाई समृद्धिको आधार मानिन्छ, तर हाम्रोमा अझै सडकको दुरावस्था देखिन्छ नि, यस्तो रोडले कसरी सम्बृद्धि ल्याउछ त ?
सडक भनेको देशको ऐना हो । तपाईँ कुनै पनि देशमा उत्रिनेबित्तिकै त्यहाँका सडक हेर्नुस्, त्यसले त्यो देशको अवस्था झल्काउँछ । देशको अवस्था हेर्न अरू केही हेर्नै पर्दैन । अहिले नेपालमा सडकको अवस्था हेर्दा त्यति राम्रो पाइँदैन । त्यसकारण हामीले सडकलाई फस्ट प्रायोरिटी दिनु पर्छ ।

नेपालमा मुख्य राजमार्गहरुको अवस्था पनि त्यति सन्तोषजनक देखिदैन नि ?
केही ठाउँमा यस्तो अवस्था छ । तर, ओभरअलमा राजमार्ग ठिकठिकै देखिन्छन् । जुन इन्टरनेसनल स्याण्डर्डमा हुनुपर्ने थियो त्यो चाहिँ छैन । अर्वन रोडहरू एकदम नराम्रो अवस्थामा छन् । केही अन्डर कन्सट्रक्सनका कुरा छोडिदिनुस् । जस्तो: तपाईँले नारायणगढ–मुग्लिन सडक भन्नुभएको होला । यी अन्डरकन्सट्रक्सन हुन् । अन्डरकन्सट्रक्सन प्रोजेक्टमा केही अफ्ठेरा हुन्छन् । तर, जुन महेन्द्र राजमार्ग लगायतका अरु राजमार्गहरु छन् तिनीहरू राम्रै कन्डिसनमा देखिन्छन् । यद्यपी सन्तुष्ट हुने अवस्था चाहिँ छैन ।

सडकमा लगानी बालुवामा पानी खन्यायजस्तै किन हुन्छ ?
गरिबलाई दुःख जहिले थपिन्छ भनेजस्तै गरिव देश हुनु भनेको पनि मान्छे जस्तै हो । खर्चिला प्रोजेक्टहरु बनाउन सकिँदैन । अनि टालटुल पार्दापार्दै अलिअलि छर्दाछर्दै त्यो पैसा कही पनि बन्दैन । त्यस्तो स्थिति छ । अलिकति आर्थिक अवस्था राम्रो भयो भने रोडमा पनि पुग्नेगरी पैशा राख्न सकिएला, त्यसपछि राम्रै होला ।

सडक दुर्घटनामा वर्षेनी कयौंले अकालमै ज्यान गुमाउँदा पनि राज्य खासै गम्भीर भएको देखिँदैन, बढ्दो सडक दुर्घटनाको दीर्घकालीन समाधान के होला ?
यसलाई तपाई नन् स्याण्डर्ड कुरा भन्नुहोला तर सडक दुर्घटनामा रोड मात्रै कारण होइन । मैले पढेको सडक दुर्घटनाका रिपोर्टमा ९० प्रतिशत सवारी चालककै कारण घटेको पाइएको छ । तर, हाम्रोमा त्यसको समाधानका लागि चालक तयार गर्ने मेकानिजम नै भएन । दुर्घटनामा प्रायः चालककै गल्ती देखिन्छ ।

अहिले स्लो स्पिड रोडमा त यति एक्सिडेन्ट भएका छन् । हामीले फास्ट मुभिङ रोड बनायौं भने अझै एक्सिडेन्टको संख्या बढ्छ । किनकि ड्राइभर त तिनै हुन नि । त्यसकारण रोड इम्प्रुभ गरे दुर्घटना घट्ने होइन, अझ बढ्छन् । त्यसकारण रोड एक्सिडेन्टमा चालकलाई एजुकेसन दिने र इनफोर्समेन्टमा सुधार्नु पर्छ । यि दुइ कुरालाई प्यारालल्ली(समानान्तर) रुपमा लैजानुपर्छ । जहासम्म इन्जिनियरिङ एस्पेक्टको कुरा छ, यसमा स्पिड डबल हुनेबित्तिकै फ्याटालिटी चार गुणा बढ्छ । जस्तो ३० किलोमिटर प्रतिघण्टाको स्पिडमा हिड्दा जति फ्याटालिटी हुन्छ, ६० मा त्यसको चार गुणा बढ्छ । यसको अर्थ फ्याटालिटी स्पिडको स्क्वायरसंग बढ्दै जान्छ । यसको अर्थ रोड राम्रो र चिल्लो बनाउनु नै हुँदैन भन्ने होइन । त्यही रूपमा ड्राइभर पनि एजुकेटेड हुनुपर्यो र रोड रूल इनफोर्समेन्ट समानान्तर रुपमा जानु पर्छ । जस्तो कतिपय ठाउँमा रोड बिग्रेर एक्सिडेन्ट भएको हो भनिन्छ । कहीँ हिलोबाट चिप्लेर त्यस्तो होला । स्पिड कम भएर एक्सिडेन्ट त कमै हुन्छ । स्पिड बढ्यो भने भोलि हाम्रो एक्सिडेन्ट बढ्छ । यदी चालक र इन्फोर्समेन्ट यस्तै हुने हो भने ।

त्यसोभए चालकलाई सुधार्नुपर्ने देखियो हैन ?
बाटोमा हेर्नुस् न, एउटा आउँदा अर्काेलाई छाडौ भन्ने कल्चर छैन । पैदल यात्रुले जेब्रा क्रसिङमा खुट्टा हालेपछि त उसले रोक्नुपर्ने हो । तर, ड्राइभरलाई पेलेर गइहाल्छु भन्ने हुन्छ । जेब्रा क्रसिङमा खुट्टा टेकेपछि गाडी रोक्नै पर्छ भन्ने कल्चर विकास भएको छैन ।

त्यस्तै ट्राफिक म्यानेजमेन्ट पनि । मोटरसाइकल नभइदिएको भए गाडीलाई लेन मार्किङ गरेर व्यवस्थित गर्न सकिन्थ्यो । मोटरसाइकल एउटै लेनमा पाँच वटा अट्छ । गाडी एक लेनमा एउटा मात्रै हिँड्थ्यो । मोटरसाइकलको यो ठूलो समस्या छ । त्यसकारण यहाँबाट मोटरसाइकल हटाउनु पर्छ । तर, मोटरसाइकल हटाउन सम्भव छैन । यसले सहज पनि बनाएको छ । आधा घण्टा लाग्ने ठाउँमा पाँच मिनेटमा पुगिएको छ । त्यसले समय संगसंगै काममा पनि सहजता बनाएको छ । त्यसको अल्टरनेटिभ दिनुपर्यो हामीले मास ट्रान्जिट बढाउनु पर्छ । मास ट्रान्जिट भनेको पब्लिक बस व्यापक बनाएर मोटरसाइकल चढ्नै नपरोस् । त्यो हामीले भिजन राख्नुपर्ने हुन्छ । सहरको मान्छेले मोटरसाइकल चढ्नु नै नपरोस्, बसबाटै उ जान सकोस् ।

असारको महिनामा हतार हतार निर्माण गरिने सडकले कसरी मापदण्ड पुरा गर्न सक्छन् त ? रातारात पीच हुन्छन्, सबैलाई थाहा हुँदाहुँदै पनि वर्षौ देखि यही चलन चल्दै आएको छ त ?
त्यसरी रातारात सडक बनाए पनि गुणस्तर बिगारे एक्सक्युज हुँदैन र हुनुहुँदैन पनि । चाँडो होस् या ढिलो दुबैका लागि स्पेसिफिकेसन त्यही हो । जुन कामका लागि स्पेसिफिकेसनले जति गुणस्तर कायम राख्न भनेको छ त्यही अनुशार नै बनाएको हुनुपर्छ । हतारोमा गरेकोले क्वालिटी कम गरेँ भन्न पाइदैन । चाँडो काम गर्ने हो भने रिसोर्सेज थप्नुपर्यो ।

के रातारात काम गर्ने परिपार्टि ठिकै लाग्छ यहाँलाई ? ११ महिनासम्म चुपचाप बस्ने अनि जर्याकजुरुक उठेर एक महिनामा काम सिध्याउछु भनेर लाग्दा गुणस्तरीयतामा असर पर्दैन ?
कहिलेकाही रातारात पनि गर्नुपर्ने हुन्छ । जस्तोः सार्क सम्मेलनको बेला पनि देख्नुभयो रातारात काम गर्नु पर्यो । देशको इज्जत कुरा जोडिन्छ । जस्तो अरबियन कन्ट्रिमा सेखले म दुई वर्षमा संसारको अग्लो टावर बनाउछु भन्छ । बनाउनु पर्छ तर, रिसोर्स हाल्नुपर्यो नि । दुई–चार वर्षमा म संसारको सबैभन्दा ठुलो बिलियन डलर पर्ने टावर बनाउँछु भन्छ भने बन्छ पनि । त्यसका लागि त रिसोर्स थप्नु पर्यो ।

प्रायः सडक तथा पुलहरु निर्माण गर्दा गुणस्तरीयताकै कुरा उठ्ने गर्दछ, राष्ट्रको इज्जत र आम नागरिकको जीउधनसंग जोडिएको विषयमा पनि यस्तो खेलबाड गर्न कसरी सकेका होलान् ?
मेरो विज्ञता हाइवे ब्रिज भएको हुनाले एउटा सर्वसाधारण नागरिकको आँखाले देख्ने र मेरो आँखाले देख्ने कुरामा आकासपातालको फरक हुन्छ । कहिले काँही यसो कमेन्ट सुन्छु । मलाइ हाँसो लाग्छ । किन हाँसो लाग्छ त भन्दा सामान्य मानिसले देखेको मिस्टेक भन्दा अर्कै मिस्टेक भइरहेको हुन्छ । जति पब्लिकले देखेको छ त्यो भन्दा बढी मिस्टेक हामीले देख्छौं । हामी इन्जिनियरिङ आखाले हेर्छौ नि त । रोड र ब्रिज भनेपछि त मेरो प्यासन नै हो । रोड र ब्रिज बिग्रेको देख्दा त मलाई साह्रै दुःख लाग्छ । हाम्रा रोड जुन बिग्रिराखेका छन् नि यो देख्दा एकदमै पिर लाग्छ । रोड र ब्रिजका लागि पर्सनल्ली म कम्परमाइज गर्न सक्दिन । त्यो विषयमा विज्ञ भएको नाताले पनि त्यस्तो गर्नै सकिँदैन । मान्छेले जुन विषयमा जानकारी छ त्यो विषयमा बदमासि गर्नै सक्दैन । कुनै रोड र ब्रिज बिगार्ने भन्ने मेरो त कल्पनामा पनि आउनै सक्दैन ।

यहाँले बिगारेको देख्नुभएको छ की छैन ?
बिगारेको देखेको छु । मबाट बिगार्ने काममा कुनै सम्झौतै हुँदैन । एक्सन लिनुपर्ने त्यस्तो अवस्था आयो भने म कुनै कसर बाँकी राख्दैन । मान्छे हो कहिले काँही पर्सनली बिग्रिन सक्छ । गल्ती हुन सक्छ । जानीजानी बिगार्नु कुनै हालतमा क्षम्य हुँदैन । विभागतिर पनि हाम्रो कुरा हुन्छ । काम बिगार्ने कुरामा त जिरो टोलरेन्स हुनैपर्छ । मलाई मेरो क्षेत्रभन्दा बाहिरको काम बिग्रेको नबुझेको कुराले त्यति टच गर्दैन तर जब रोड र ब्रिज बिग्रन्छ त्यसले भित्रै टच गर्छ । सबै बिज्ञ बिज्ञहरुलाई आ–आफ्नो क्षेत्रमा यस्तै हुन्छ होला । जस्तो डाक्टरले बिरामी मरोस् त भन्दैन नि ? उसलाई पनि औषधी गरौं भन्ने हुन्छ । र, मलाई के लाग्छ भने यदि कोही मानिस प्रोफेसनल हो भने जानीजानी आफ्नो क्षेत्रमा बदमासी गर्न सक्दैन । रोड र पुल भन्ने कुरा त हाम्रा उत्पादन हुन् । त्यसमा कसरी बदमासी गर्न सकिन्छ र, सकिँदै सकिँदैन नि ।


र यो पनि,

लोकल रोड पनि सेन्टरबाटै ह्यान्डल गरिदिनुपर्यो भन्ने प्रेसर आइरहेको छ

Tags :
प्रतिक्रिया दिनुहोस