बाबुराम/नारायणकाजी : कसले मार्ला बाजी « प्रशासन
Logo ६ बैशाख २०८१, बिहिबार
   

बाबुराम/नारायणकाजी : कसले मार्ला बाजी


११ कार्तिक २०७४, शनिबार


गोरखा । कुनै बेला एउटै पार्टीभित्र समान हैसियतमा काम गरेका दुई नेताबीच चुनावी प्रतिसप्रर्धा हुने भएपछि गोरखा–२ अहिले चर्चामा छ । माओवादी छाडेर नयाँ शक्ति पार्टी खोलेका डाक्टर बाबुराम भट्टराई र माओवादी नेता नारायणकाजी श्रेष्ठबीचको चुनावी भिडन्तलाई चौतर्फी रुपमा रोमाञ्चक तरिकाले लिइएको छ । कांग्रेसको आडमा उम्मेदवार बनेका भट्टराई र एमालेसँग साथ लागेका श्रेष्ठ स्थानीय तहमा पाएको मतान्तरको जोडघटाउ मिलाएर जित्ने दाउमा छन् ।

अघिल्लो संविधानसभा निर्वाचनमा ३ क्षेत्र रहेको गोरखा अहिले २ क्षेत्रमा खुम्चिएको छ । २०६४ मा भएको पहिलो संविधानसभा निर्वाचनमा भट्टराई गोरखा–२ बाट सर्वाधिक मत ल्याएर विजयी भएका थिए । २०७० को निर्वाचनमा उनी गोरखा–१ बाट विजयी भएका थिए । नयाँ शक्ति पार्टी खोलेर माओवादी छाडेपछि उनको सांसद पद गुमेको थियो । यसबाट केही मतदाताले निराशासँगै चिन्ता व्यक्त गरेका थिए । अहिले गोरखा २ संसदीय क्षेत्रमा विभाजित छ । पहिले २ नम्बर सबै ओगटेको क्षेत्र अहिले पनि २ भित्रै छ । १ नम्बरको केही भूगोल २ मा थपिएको छ । ३ नम्बरका अधिकांस क्षेत्र १ मा गाभिएका छन् ।

स्थानीय तह निर्वाचनको मताधारलाई हेरेर अहिले दुवै नेता आफूले सहजै जित्ने दाबी गरिरहेका छन् । भट्टराईले पार्टी छाडेपछि माओवादीलाई गोरखाको स्थानीय तह निर्वाचनमा ठूलो धक्का लागेको थियो । संविधानसभाको पहिलो र दोस्रो निर्वाचनमा भट्टराई साथ रहँदा तीनवटै क्षेत्र एक्लै जितेको माओवादीले स्थानीय तह निर्वाचनमा ११ मध्ये दुई तह मात्रै जित्यो । भट्टराई साथ नहुँदाको फाइदा कांग्रेसलाई मिल्यो र उसले ९ स्थानीय तहमा जित हासिल गर्‍यो। अधिकांश तहमा माओवादी र नयाँ शक्तिको मत एकै ठाउँमा राख्दा माओवादी नै विजयी हुने देखिन्थ्यो।

कांग्रेसको आडमा उम्मेदवार बनेका भट्टराई र एमालेसँग साथ लागेका श्रेष्ठ स्थानीय तहमा पाएको मतान्तरको जोडघटाउ मिलाएर जित्ने दाउमा छन् ।

स्थानीय तहको नतिजालाई आधार बनाएर गोरखामा भट्टराई र श्रेष्ठ मतान्तर जोडघटाउ गरिरहेका छन् । यहाँका सर्वसाधारणले दुवै शीर्ष नेता एकै ठाउँमा नउठेको भए हुन्थ्यो भन्ने चाहना पनि व्यक्त गर्छन् तर त्यो समय टरिसकेकाले अहिले नेता मतदाता रिझाउनमा लागिसके । स्थानीय तहको निर्वाचनमा नयाँ शक्ति क्षेत्र नं. २ मा पर्ने पालुङटार नगरपालिकामा क्षेत्रमा तेस्रो स्थानमा छ । उसले माओवादीका उम्मेदवारले भन्दा करिब पाँच सय मत कम पाएको थियो । विजयी बनेका कांग्रेसका उम्मेदवारकोे भन्दा माओवादीका उम्मेदवारको दुई सय मत कम छ । भट्टराई आफैं निर्वाचनमा होमिँदा झन्डै २६ हजार मतदाता रहेको पालुङटारमा स्थानीय तहमा भन्दा धेरै मत आउने आकलन गरिएको छ।

स्थानीय तहको निर्वाचनमा अहिलेको २ नम्बर क्षेत्रभित्र वाम गठबन्धनको तुलनामा लोकतान्त्रिक गठबन्धनले पाएको मत एक सय ३२ ले कम छ । भट्टराई यो मतान्तर ठूलो संख्यामा आफूले बढाउने दाबी गर्छन् भने श्रेष्ठ यसले पनि ठूलो अर्थ राख्ने दाबी गर्छन । गोरखा २ मा नेपाली कांग्रेस र नयाँ शक्तिले स्थानीय तह निर्वाचनमा २४ हजार नौ सय ७० मत पाएका थिए । यस्तै वाम गठबन्धनका माओवादी र एमालेले पाएको मत जोड्दा २५ हजार दुई मत हुन्छ । गोरखा–२ मा पालुङटार नगरपालिका, गोरखा नगरपालिकाको ८ देखि १४ वडा, अजिरकोट, सिरान्चोक र सुलिकोट गाउँपालिका पर्छन्।

श्रेष्ठ पहिलो पटक गोरखाबाट निर्वाचन लड्दै गरेकाले उनलाई भट्टराईसँग प्रतिस्पर्धा गर्न सजिलो छैन तर २०७० को संविधानसभा निर्वाचनमा विजयी भई मन्त्रीसमेत बनेका हितराज पाण्डेले उनलाई साथ दिएका छन् । भट्टराई बाहिरिएर कमजोर महसुस गरेका उनी एमालेसँगको तालमेलले जित्नेमा ढुक्क छन् । कांग्रेसका कार्यकर्ताको मतले माओवादीलाई सजिलै पराजित गर्नेमा भट्टराई पनि ढुक्क देखिन्छन् । यसअघि विजयी भएर अर्थमन्त्री, प्रधानमन्त्री हुँदा गोरखा जिल्लामा र अझै त्यसभित्र पनि गृहक्षेत्र गोरखा–२ मा गरेको लगानीबारे जनतालाई बुझाउनमा भट्टराई सक्रिय भएका छन् । श्रेष्ठले बलियो संगठन र एमाले–माओवादीको पार्टी एकतासम्मको अजेन्डाले कार्यकर्ता र जनतामा खुसी ल्याएको भन्दै जित्ने दाबी गर्छन् । आउँदो निर्वाचनमा भट्टराईको व्यक्तित्वको प्रभाव रहन सक्ने केहीको विश्लेषण छ । गठबन्धन घोषणा गरेको साता नबित्दै वाम गठबन्धनबाट बाहिरिएर कांग्रेससँग तालमेल गरेको भनी भट्टराईको आलोचना गर्नेको जमात पनि बाक्लै छ।

सिरान्चोक गाउँपालिका जौबारी घर भएका श्रेष्ठले जित्ने आधार स्थानीय तहको मतान्तरलाई मानेका छन् । क्षेत्र निर्धारण गर्दादेखि नै उनले क्षेत्र नम्बर २ मा माओवादीको आधार बलियो देखिएको ठाउँ समावेश गर्न दबाब दिएको खबर बाहिर आएको थियो । माओवादीले उक्त क्षेत्रको सुलिकोट गाउँपालिकामा फराकिलो मतान्तरले जितेको छ । झन्डै ८ सय मतान्तर रहेको उक्त ठाउँ र जौबारीस्थित आफ्नो आधार इलाकाबाट भोट बढाउने दाउमा श्रेष्ठ छन् । उनले पालुङटार केन्द्रित रहेर भोट बढाउने योजना बुनेका छन् भने भट्टराई सुलिकोट, सिरान्चोक र अजिकोट क्षेत्रमा मतदाता रिझाउन जुट्ने तयारीमा छन् । आजको नागरिक दैनिकमा खबर छ ।

प्रतिक्रिया दिनुहोस