एमाले–माओवादी गठबन्धन– १०७ क्षेत्रको टुंगो « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

एमाले–माओवादी गठबन्धन– १०७ क्षेत्रको टुंगो


११ कार्तिक २०७४, शनिबार


काठमाडौं । एमाले र माओवादी केन्द्रले मंसिर २१ मा हुने दोस्रो चरणको चुनावका लागि सिट बाँडफाँड अन्तिम चरणमा पुर्‍याएका छन् । दोस्रो चरणको १२८ निर्वाचन क्षेत्रको बाँडफाँडबारे सम्भवतस् शनिबार संयुक्त रूपमा सार्वजनिक गर्ने भएका छन् ।

दोस्रो चरणमा हुने प्रतिनिधिसभाका १२८ निर्वाचन क्षेत्रमा दुई दलका उम्मेदवारहरू लड्ने १०७ क्षेत्रको टुंगो लागिसकेको सिट बाँडफाँड समितिका एक सदस्यले कान्तिपुरलाई बताए । त्यसमध्ये एमालेलाई ७२ र माओवादी केन्द्रलाई ३५ सिट छुट्याइएको छ । त्यही अनुपातमा सम्बन्धित प्रदेशमा पनि सिट बाँडफाँड भएको छ ।

एमाले महासचिव ईश्वर पोखरेलको संयोजकत्वमा दुवै दलका नेता सम्मिलित कार्यदलले दोस्रो चरणको चुनावका लागि उक्त बाँडफाँडसहितको प्रतिवेदन शीर्ष नेतृत्वलाई बुझाएको हो । कार्यदलले बुझाएको प्रतिवेदनमाथि छलफल गर्न एमाले स्थायी समितिको बैठक शुक्रबार रातिसम्म बसेको थियो । पहिलो चरणको मंसिर १० मा हुने चुनावका लागि प्रतिनिधिसभामा एमालेले २१ र माओवादीले १६ सिटमा सहमति गरेका थिए । सोहीअनुसार उम्मेदवार मनोनयनसमेत भइसकेको छ । दुई ठूला वाम दलबीच ६०/४० प्रतिशतका आधारमा सिट विभाजन गर्ने नीतिअनुसार कार्यदलले प्रतिवेदन तयार पारेको हो ।

‘हामीले सिट विभाजन करिब टुंंग्याएका छौं, चाँडै त्यसलाई सार्वजनिक गर्छौं,’ दुवै दलका उम्मेदवारी चयनमा सक्रिय एमाले सचिव गोकर्ण बिष्टले कान्तिपुरसँग भने । उनका अनुसार दुई दलबीच उम्मेदवार चयनमा केही विवाद देखिए पनि त्यसलाई शीर्ष नेतृत्व सम्मिलित एकता संयोजन समितिबाट टुंगो लगाइने छ ।

माओवादी केन्द्रका प्रभावशाली नेता वर्षमान पुनले दोस्रो चरणको चुनावका लागि दुई दलबीच ६०/४० कै प्रतिशतका आधारमा सिट चयन गरिएको कान्तिपुरलाई बताए । ‘प्रतिनिधिसभामा कम्तीमा ६० माओवादीको हुने गरी सिट बाँडफाँड गरिएको छ,’ पुनले भने । उनका अनुसार टुंगो लाग्न बाँकी क्षेत्रहरूमा दुवै दलका शीर्ष नेता सम्मिलित समितिको बैठक शनिबार बिहान बसी टुंगो लाग्ने छ ।

सिट बाँडफाँड कार्यदलले झापा, मोरङ, सुनसरी, चितवन, कास्की, बारा, उदयपुरलगायत जिल्लाका निर्वाचन क्षेत्र टुंग्याउने जिम्मा शीर्ष नेतृत्वलाई सुम्पेको छ । कार्यदलले सिट बाँडफाँडको मुख्य आधार पछिल्लो स्थानीय तहको चुनावको मतलाई लिएको छ । त्यसबाहेक कतिपय क्षेत्रमा उम्मेदवारको लोकप्रियता र सामाजिक क्षेत्रमा पुर्‍याएको योगदानलाई पनि आधार बनाएको छ ।

स्थानीय चुनावमा राम्रो परिणाम ल्याएका धनकुटा, इलाम, तेह्रथुमलगायत जिल्लाबाट प्रतिनिधिसभामा एमालेका मात्र उम्मेदवार हुने भएका छन् । चितवनमा एमाले र माओवादीले १/१ सिटमा टुंगो लगाएका छन् । बाँकी १ सिटमा छलफल जारी छ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल भने चितवन–३ बाट उठ्ने छन् । काठमाडौंका १० सिटमा एमालेले ७ र माओवादीले ३ सिट लिनेछन् । ललितपुरमा माओवादीले क्षेत्र नं। ३ मा सम्भवतस् प्रवक्ता पम्फा भुसाललाई अघि सार्ने तयारी गरेको छ । भक्तपुरमा प्रतिनिधिसभामा माओवादीको दाबी छैन । भक्तपुरमा क्षेत्र नं. २ मा एमालेका युवानेता महेश बस्नेत उठ्ने टुंगो लागेको छ । आजको कान्तिपुर दैनिकमा खबर छ ।

प्रतिक्रिया दिनुहोस