दुई गजल « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

दुई गजल


११ कार्तिक २०७४, शनिबार


१.
किन बोल्नु पर्यो तिमी अभाव बोलेकै छ,
अवला ति नारीमाथि दबाब बोलेकै छ ।

अधिकार दिए भन्छौ अधिकार भित्र हेर,
घमण्ड र दम्बको त्यो नकाव बोलेकै छ ।

यातनाको कोठी भित्र श्रृगांर थरीथरी,
बाध्यतामा घँघुरु र पैजाव बोलेकै छ ।

भेटिँदैनन् इमान्दार छैनन् विश्वासिला,
राम्राले त मुखै थुनी खराब बोलेकै छ ।

नगर भो ठूला कुरा के गर्यौ गर्नुपर्ने ?
हेर तिम्रा कामभित्रै लगाव बोलेकै छ ।

२.

आज भोलि शितले पनि पोल्न थालेको छ,
अचम्मै भो लाटो पनि बोल्न थालेको छ ।

दोबाटोको भेट थियो छुट्दा मन रोयो,
पिरतीले नौलो रंग घोल्न थालेको छ ।

छुटेको त्यो साथ उनको माग्दा जिन्दगीले,
समयले पिरतीको मूल्य मोल्न थालेको छ ।

सोचाइमा दिन कट्छ रात छट्पटीमा,
पराईको सम्झनाले बिथोल्न थालेको छ ।

आँखाभरि सजिएको तस्बिर बोलिदिँदा,
हृदयले आफ्ना कुरा खोल्न थालेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस