समाजले कलाको महत्व बुझ्न सकेको छैन « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

समाजले कलाको महत्व बुझ्न सकेको छैन


११ कार्तिक २०७४, शनिबार


केही समयदेखि मूर्तिकला र चित्रकलामा आबद्ध छन्, मिट्थु थारू । मूर्ति तथा चित्रकलाको औपचारिक शिक्षा लिएका उनी अहिले पनि अनवरत रूपमा यो कलामा होमिएका छन् । उनले बनाएका मूर्ति र क्यानभास यथार्थपरक छन् । समाजको यथार्थपरक मूर्ति कोर्न रुचाउने कलाकार मिट्थुसँग मूर्तिकला तथा चित्रकलाका विविध पक्षलगायत विषयमा प्रशासन डट कमका बरिष्ट सम्बाददाता यज्ञराज जोशीले गरेको कुराकानी ।

मुर्तिमा दत्तचित्त भएर लागिराख्नु भएको छ कसरी आयो मुर्तिकार बन्ने सोच ?
म कुनै व्यक्तिबाट प्रेरित भएर यो क्षेत्रमा लागेको होइन । बाल्यकालदेखि नै मूर्ति र चित्रकलाप्रति मेरो झुकाव थियो । हातमा गिलो माटो पर्यो कि त्यसले कुनै न कुनै आकृति लिइहाल्थ्यो । कपी र पेन्सिल पाउनेबित्तिकै चित्र कोर्न थालिहाल्थे । कला क्षेत्रमा बाल्यकालदेखि मेरो रुचि र लगाव थियो ।

शुरुमा कसबाट मुर्ति बनाउन सिक्नुभयो ?
सुरूमा मैले कला प्रशिक्षक दीपक कुँवरबाट चित्रकलाका केही औपचारिक कुरा सिकेँ । कलाप्रतिको लगावले मलाई यो क्षेत्रमा तान्यो । २०७३ सालबाट डल्लुको विजेश्वरी उच्च माविमा ललितकला विषय लिएर प्लस टु मा भर्ना भएँ । र, कलाका औपचारिक शिक्षा सुरु भयो ।

त्यस्तो के कुरा देख्नुभयो ता कि यसैलाई व्यवसाय बनाउँछु भनेर लाग्नुभयो ?
मैले अघि पनि भने, बाल्यकालदेखि कलाप्रतिको झुकावले यस क्षेत्रमा प्रवेश गरेको हुँ । त्यसका अलावा कला आफ्नो पहिचान बनाउने उत्कृष्ट माध्यम पनि हो, जसमा लागेर कलाकारले नाम र दाम कमाउन सक्छ । यस कुराले कला क्षेत्रमा म आकर्षित भएको हुँ ।

प्रायः कस्ता मूर्ति बनाउनु हुन्छ ?
मैले बढीजसो यथार्थपरक मूर्ति बनाउँछु । किनकि यथार्थपरक मूर्तिले दिने सन्देश जो कोहीले पनि सहजरूपमा बुझ्न सक्छन् । अनौपचारिकरूपमा बनाएका मूर्तिको यकिन तथ्यांक राखेको छैन । तर, औपचारिकरूपमा मूर्ति बनाउन थालेदेखि १५/२० वटा जति भयो होला ।

कस्तो छ प्रतिक्रिया ?
राम्रै प्रतिक्रिया पाइरहेको छु । थुप्रैले मेरो चित्रकला र मूर्तिकला मनपराइदिनुभएको छ । कतिले प्रेरणा पनि दिनुहुन्छ । म उहाँहरूप्रति कृतज्ञ छ ।

नेपालमा यसको कस्तो सम्भावना देख्नुहुन्छ ?
नेपालमा यसको सम्भावना छ । तर, धेरै गाह्रो छ । समाजले कलाको महत्व बुझ्न नसकिरहेको अवस्था छ । कलाप्रति त्यति आकर्षण पाइँदैन । जस्तो : मान्छेले १५/२० हजार रूपैयाँको साडी सहजै किन्छन् । तर, पाँच/छ हजारको मूर्ति किन्न हिच्किचाउँछन् ।

यसको बजार पनि अध्ययन गर्नुभएको होला खासगरी कुन कुन देशमा जान्छन् नेपालका मुर्तिहरु ?
नेपालमा बनेका मूर्ति विषेश गरी चीन, अमेरिका, जापान, भारतलगायत देशमा निर्यात हुने गरेको छ । विदेशबाट देवीदेउताको मूर्तिको माग हुने गरेको पाइएको छ ।

कति खर्चिलो हुन्छ मुर्ति बनाउन ?
मूर्ति बनाउन प्रयोग हुने सामग्री, लगानी र समयले मूल्य निर्धारण हुने गरेको छ ।

सबैभन्दा पहिले बनाएको मूर्तिबारे स्मरण छ ?
मैले सबैभन्दा पहिले भगवान बुद्धको मूर्ति बनाएको थिएँ । त्यसयता थुप्रै मूर्ति बनाइसकेको छु । तर व्यवसायिक रुपले अझै शुरु गरेको छैन ।

मूर्ति बेचेको छैन भन्नुहुन्छ अनि कसरी टिक्नुभएको छ राजधानीमा ?
हो, मैले व्यावसायिकरूपमा मूर्ति बनाएको छैन । मैले आर्टलाई व्यावसायिकता दिएको छु । त्यसैको आम्दानीबाट जीविकोपार्जन गरिरहेको छु । मूर्तिभन्दा चित्र बेच्न अलि सहज छ ।

आर्ट बेचेर जीविकोेपार्जन सम्भव छ त ?
गाह्रो छ । तर, असम्भव छैन । राम्रो चित्रको बजार राम्रै छ । यही आर्टमै लागेर पनि जीविकोपार्जन गर्न सम्भव छ । किनभने अहिले चित्र किन्ने मान्छे बढेका छन् । आर्ट ग्यालरीको संख्या पनि बढ्दो छ । यसले आर्ट बेचेर बाँच्न सकिने अवस्था बन्दैछ । यसमा आशावादी छु ।

तपाइले सबैभन्दा महँगोमा बेचेको आर्टको मूल्य कति थियो ?
नेपाली बजारमा कलाको मूल्य बाहिरी देशको तुलनामा त्यति धेरै त छैन । मत झन् भर्खर यो क्षेत्रमा व्यावसायिकरूपमा लागेको मान्छे । मेरो पहिलो चित्र ३५ सयमा बिक्री भएकोे थियो । सबैभन्दा महँगो भनेको पाँच हजार पाएको छु । मैले ग्यालरीमा बेच्ने गरेकाले ग्यालरीले पनि नयाँ चित्रकार भनेर निकै कम मूल्य दिने गरेका छन् । ग्यालरीले नाम चलेको आर्टिस्टलाई भने जति दिन्छन् । तर, हामी जस्ता नयाँलाई थोरै दिन्छन् । ग्यालरीभन्दा बाहिर भने भनेको मूल्यमा चित्र बेच्न सकिन्छ ।

प्रायःजसो राजधानीको कुन क्षेत्रमा बिक्रि हुन्छन् तपाइका आर्टहरु  ?
मेरो बजार भनेको ठमेलका ग्यालरी हुन् । त्यसकाअलावा भक्तपुर, ललितपुर र स्वयंभू क्षेत्रमा पनि बेच्ने गरेको छु ।

ग्यालरीभन्दा बाहिरको व्यापार कस्तो छ ?
एकदम कम छ । कोही चिनेको मान्छे छ भने तिनीहरूको अर्डर अनुसार पनि बनाउने गरेको छु ।

चित्र कोर्नु र मूर्ति बनाउनुमा के फरक छ ?
चित्र कुनै सतहमा कुनै माध्यमबाट रंङ वा रेखाको माध्यमबाट कुनै दृश्यात्मक आकृति बनाइन्छ भने त्यसले दिन खोजेको भाव गहिराई निकै लामो हुन्छ । यसको गहिराई बुझ्न मान्छेलाई घोत्लिन बाध्य बनाउँछ । अब मूर्तिको कुरा गरौं । यो कुनै ठोस वस्तुमा केन्द्रित भएर बहुआयामिक आकृति भर्ने काम गरिन्छ । यो विभिन्न धातु, ढुंगा, माटो र काठ जस्ता चिजबाट बनाउन सकिन्छ ।

तपाईँको विचारमा कला के हो ?
हाम्रो समाज जति विकसित हुँदै गएको छ । कलाको परिभाषा पनि त्यति नै व्यापक र परिमार्जित हुँदै आएको छ । कला अभिव्यक्तिको माध्यम हो । त्यसकारण यसलाई मानव सभ्यताको अभिन्न अंग पनि मानिन्छ ।

चित्रकार र मुर्तिकार बन्ने सपना बोकेर निरन्तर संघर्ष गर्दै हुनुहुन्छ, के रहेछ जिन्दगी ?
भनिन्छ, कलाकारको संघर्ष घरबाटै सुरू हुन्छ । मलाई पनि त्यस्तै भयो । कलामा लाग्दा सुरूमा घरबाट कुनै सपोर्ट पाइनँ । घरका मान्छे भन्ने गर्थे, ‘कलाकार हाहाकार’ । ‘खाने मुखलाई जुंगाले छेक्दैन’ भने झै मैले यस क्षेत्रमा केही गर्ने अठोट लिइसकेको थिएँ । त्यसकारण म आफ्नो लक्ष्यबाट विमुख भइनँ ।

मिट्थुका कलाहरू

Tags :
प्रतिक्रिया दिनुहोस