घुस लिएको आरोपमा तीन ट्राफिक प्रहरी निलम्बित « प्रशासन
Logo ११ बैशाख २०८१, मंगलबार
   

घुस लिएको आरोपमा तीन ट्राफिक प्रहरी निलम्बित


१० कार्तिक २०७४, शुक्रबार


काडमाडौं । चालकहरूसँग घुस लिएको आरोपमा तीनजना ट्राफिक प्रहरी निलम्बनमा परेका छन् । महानगरीय ट्राफिक प्रहरी महाशाखाले एक असई र दुई जवानलाई बुधाबार निलम्बन गरेको हो ।

निलम्बनमा पर्नेमा असई चूणामणि पोखरेल, जवानद्वय रणबहादुर माल र जालन्धर बाँस्तोला छन् । उनीहरू तीनैजना रंगेहात घुससहित पक्राउ परेका हुन् । थानकोट तथा नागढुंगा क्षेत्रमा कार्यरत ट्राफिक प्रहरीविरुद्ध उजुरी आएपछि ट्राफिक महाशाखाका डिआइजी सर्वेन्द्र खनालले महाशाखाबाट सादा पोसाकमा छड्के पठाएका थिए । त्यस क्रममा चालकहरूसँग लिएको घुस रकमसहित उनीहरू पक्राउ परेका थिए । महाशाखाले निलम्बनमा गरी उनीहरूमाथि कारबाही अघि बढाएको छ।

यो घटनापछि नागढुंगा र थानकोट प्रभागमा कार्यरत सबै ट्राफिक प्रहरीलाई महाशाखाले तानेको छ । इन्चार्जसहित नागढुंगामा कार्यरत १६, थानकोटमा कार्यरत १५ जनालाई महाशाखामा सरुवा गरिएको हो । त्यस्तै, कलंकी प्रभागमा कार्यरत नौजना ट्राफिक पनि महाशाखामा तानिएका छन् । लामो समयदेखि कार्यरत ट्राफिक प्रहरीलाई बदमासीको आशंकामा महाशाखाले तानेको हो । आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।

प्रतिक्रिया दिनुहोस