पोखरा । एमाले मनाङकी उम्मेदवार खण्डा लामा गुरुङले उम्मेदवारी फिर्ता लिएकी छिन् । लामाको उम्मेदवारी फिर्ता भएपछि एमालेको समर्थन स्वतन्त्र उम्मेदवार दीपक मनाङे भनिने राजीव गुरुङलाई हुने भएको छ । मनाङेलाई सहज हुने गरी एमालेले लामाको उम्मेदवारी फिर्ता गराएको हो।
मनाङका मुख्य निर्वाचन अधिकृत दीपक ढकालले एमाले उम्मेदवार लामाको उम्मेदवारी फिर्ता भएको बताए । ‘एमालेकी उम्मेदवार खण्डाको उम्मेदवारी फिर्ता भएको छ,’ ढकालले भने, ‘अब स्वतन्त्र उम्मेदवार राजीव (दीपक मनाङे) र कांग्रेसका कर्मा गुरुङबीच प्रतिस्पर्धा हुनेछ।’
एमालेले सुरुमै मनाङेलाई उम्मेदवार बनाउने तयारी गरे पनि विवाद हुँदा अन्तिम समयमा खण्डालाई उम्मेदवार चयन गरेको थियो । आफूलाई टिकट नदिएपछि मनाङेले प्रदेशसभा (ख) बाट स्वतन्त्र उम्मेदवारी दिएका थिए । स्वतन्त्र उम्मेदवारी दिए पनि खण्डालाई फिर्ता गराएर मनाङेलाई नै आधिकारिक उम्मेदवार बनाउने एमालेको तयारी थियो ।
एमाले मनाङका अध्यक्ष पोल्देनछोपाङ गुरुङले खण्डाको उम्मेदवारी फिर्ता भएकाले एमालेको समर्थन मनाङेलाई हुने बताए । ‘हाम्रो उम्मेदवार नै अब मनाङे हुन् । स्वतन्त्रबाट उम्मेदवारी दिए पनि एमालेले फिर्ता गराएपछि समर्थन स्वतन्त्रलाई हुनेछ,’ उनले भने, ‘स्वतन्त्र उम्मेदवारलाई भरपूर सहयोग हुनेछ ।’ मनाङे र खण्डा एकै परिवारभित्रका भएकाले दुवैजनालाई उम्मेदवार बनाउन उपयुक्त नभएकाले खण्डाको उम्मेदवारी फिर्ता गराएको उनले बताए । आजको नागरिक दैनिकमा खबर छ ।







