टिकट नपाएकोमा सिटौलासमेत असन्तुष्ट « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

टिकट नपाएकोमा सिटौलासमेत असन्तुष्ट


८ कार्तिक २०७४, बुधबार


काठमाडौं । निर्वाचन आयोगमा दर्ता भएको समानुपातिक उम्मेदवारको सूचीमा परिसकेका कांग्रेस पूर्वमहामन्त्री कृष्ण सिटौलाले झापा ३ बाटै निर्वाचन लड्ने घोषणा गरेका छन् । सोमबार झापा पुगेका उनले नेता कार्यकर्तासँग भने, ‘मसँग सल्लाह नै नगरी मेरो नाम समानुपातिकमा पठाइएको छ, तर म झापा–३ बाटै निर्वाचन लड्छु ।’ कार्यकर्ताले समानुपातिकमै जान आग्रह गरे आफूलाई मान्य हुने पनि उनले बताएका छन् ।

एमाले र माओवादी केन्द्रले वाम गठबन्धन बनाएपछि कांग्रेसले राप्रपासँग मिलेर बलियो गठबन्धन बनाउन खोजेको छ । त्यसकै चेपुवामा सिटौलाजस्ता शीर्ष नेता पनि परेका छन् । गत संविधानसभा निर्वाचनमा सिटौलासँगै पराजित राप्रपाका राजेन्द्र लिङ्देनका लागि सिट छोड्न कांग्रेस तयार भएको छ ।

कांग्रेसले गत संविधानसभामा झापामा चार क्षेत्र जितेको थियो । एमालेको पकड भएको झापामा सिटौलाजस्ता प्रभावशाली नेता चुनावमा नजाँदा यसको फाइदा वाम गठबन्धनलाई हुन्छ, कांग्रेस कार्यकर्ताको मनोबल गिर्छ भन्नेहरूले पनि सिटौलालाई प्रत्यक्षमै उठ्न सुझाब दिइरहेका छन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।

प्रतिक्रिया दिनुहोस