प्रदेशसभा सञ्चालनमा समस्या, निर्वाचन सुरु भयो, बैठकस्थल छैन « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

प्रदेशसभा सञ्चालनमा समस्या, निर्वाचन सुरु भयो, बैठकस्थल छैन


७ कार्तिक २०७४, मंगलबार


काठमाडौं । नेपालमा पहिलोपटक प्रदेशसभा निर्वाचन प्रक्रिया सुरु भए तापनि कानुन र भौतिक पूर्वाधार निर्माण नहुँदा प्रदेशसभा बैठक सञ्चालनमा समस्या हुने भएको छ ।

संविधानको धारा १८३ मा प्रदेशसभा निर्वाचनको अन्तिम परिणाम घोषणा भएको मितिले २० दिनभित्र प्रदेशसभा अधिवेशन आह्वान गर्नुपर्ने उल्लेख छ । तर अहिलेसम्म प्रदेशसभाको बैठकका लागि आवश्यक पर्ने भौतिक पूर्वाधार र कानुन निर्माण हुन सकेको छैन ।

संसद् सचिवालयका प्रवक्ता डा. भरतराज गौतमले प्रतिनिधिसभा र राष्ट्रियसभा सञ्चालनका लागि आवश्यक कार्य सुरु भइसके तापनि प्रदेशसभा सञ्चालनका लागि कुनै काम सुरु गर्न नसकिएको बताए । ‘प्रतिनिधिसभा र राष्ट्रियसभा सञ्चालनका लागि अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रलाई नै प्रयोग गरिने भएको छ । त्यसका लागि संरचना व्यवस्थापनको कार्य सुरु भइसकेको छ,’ गौतमले नागरिकसँग भने, ‘तर प्रदेशसभा सञ्चालनका लागि आवश्यक तयारी छैन । त्यसैले प्रदेशसभा सञ्चालनमा समस्या हुने भएको छ ।’ उनका अनुसार प्रदेश राजधानी र सभा हलका बारेमा सरकारले निर्णय नगरिदिँदा संविधानबमोजिम सभा सञ्चालन हुन नसक्ने भएको छ ।

डा. गौतम नेतृत्वमा गठित संघीय संसद् एवं सचिवालय र प्रदेशसभा एवं सचिवालयसम्बन्धी अध्ययन समितिले प्रदेशसभा सञ्चालनका लागि आवश्यक संरचनाबारे अध्ययन गरी प्रतिवेदन बुझाएर सरकारलाई सहजसमेत बनाइदिएको थियो । ‘प्रदेशसभा सचिवालय प्रदेश व्यवस्थापिका भवनको नजिकै रहनुपर्दछ ।

सचिवालयले गर्ने काम र कर्मचारीको दरबन्दीअनुसार सचिवालयको भौतिक संरचना तयार गरिनुपर्छ’, सुझाव प्रतिवेदनमा उल्लेख छ, ‘प्रत्येक प्रदेशमा सचिवालय भवन र प्रदेशसभा पुस्तकालयसमेतको व्यवस्था गरी आधुनिक प्रविधियुक्त गराइनुपर्दछ । प्रदेशसभा भवन, सचिवालय, समिति कक्ष, पुस्तकालय र कर्मचारी व्यवस्थापनको तयारी प्रदेशसभाको निर्वाचन हुनुभन्दा कम्तीमा ३ महिनाअघिदेखि प्रारम्भ गर्नुपर्ने देखिन्छ ।’ तर, उक्त प्रतिवेदनको सुझावबारे सरकार गम्भीर नहुँदा प्रदेशसभा सञ्चालनमा कठिनाइ हुने देखिएको सचिवालयको ठम्याइ छ । आजको नागरिक दैनिकमा खबर छ ।

Tags :
प्रतिक्रिया दिनुहोस