फर्की आयो चुनावी पर्व « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

फर्की आयो चुनावी पर्व


६ कार्तिक २०७४, सोमबार


काठमाडौं । आगामी १० मंसिरमा हुने पहिलो चरणको प्रदेश र प्रतिनिधिसभा निर्वाचनका लागि ८०२ उम्मेदवारले मनोनयन दर्ता गरेका छन् । निर्वाचन आयोगका अनुसार प्रतिनिधिसभातर्फ ३२० र प्रदेश सभाका लागि ४८२ ले उम्मेदवारी दिएका छन् । पहिलो चरणको निर्वाचनमा ३२ लाख २८ हजार ८७९ मतदाताले मताधिकारको प्रयोग गर्नेछन् ।

पहिलो चरणको निर्वाचनमा ३२ जिल्लाबाट प्रतिनिधिसभाका ३७ र प्रदेश सभा ७४ गरी १११ सिटका लागि प्रतिस्पर्धा हुँदै छ । निर्वाचन आयोगले आइतबार शान्तिपूर्ण रूपमा उम्मेदवारी मनोनयन दर्ता भएको जनाएको छ ।

आयोगले समानुपातिक निर्वाचन प्रणालीको बन्दसूचीमा नाम समावेश भएको व्यक्तिले प्रत्यक्ष निर्वाचनमा उम्मेदवार हुन नपाउने व्यवस्था गरेको छ । प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादवले एक व्यक्तिले एकपटकमा कुनै एक निर्वाचन क्षेत्रका लागि मात्र उम्मेदवारी दिन सक्ने बताए । ‘एकभन्दा बढी निर्वाचन क्षेत्रमा उम्मेदवारी दिएमा त्यस्ता उम्मेदवारको सबै क्षेत्रको उम्मेदवारी बदर हुने व्यवस्था छ,’ उनले भने ।

निर्वाचन आयोगले ८ कात्तिकमा उम्मेदवारलाई निर्वाचन चिह्न वितरण गर्ने कार्यतालिका छ । आइतबार मनोनयन दर्ता गराएका उम्मेदवारविरुद्ध उजुरी दिने, उजुरी जाँचबुझ तथा छानबिन गर्ने, उम्मेदवारी फिर्ता लिने कार्य सम्पन्न भएपछि निर्वाचन चिह्न प्रदान गर्नेछ ।

आयोगले ९ कात्तिकबाट पहिलो चरणका प्रत्यक्षतर्फका मतपत्र छाप्न सुरु गर्नेछ । समानुपातिक निर्वाचन प्रणालीतर्फ प्रतिनिधिसभा तथा प्रदेश सभा सदस्य निर्वाचनका लागि आवश्यक पर्ने एक करोड ७४ लाख मतपत्रमध्ये एक करोड १२ लाख मत छापिइसकेको छ । समानुपातिकका मतपत्र सात प्रकारका हुनेछन् भने प्रत्यक्षतर्फका मतपत्र भने निर्वाचन क्षेत्रअनुसार फरक–फरक हुनेछन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।

प्रतिक्रिया दिनुहोस