डा. केसीले तोडे अनसन « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

डा. केसीले तोडे अनसन


२ कार्तिक २०७४, बिहिबार


काठमाडौं । प्रा.डा. गोविन्द केसीले सरकारसँग १० बुँदे सहमति भएपछि बुधबार दुई साता लामो १३ औं आमरण अनशन तोडेका छन् । आफ्नो मागबमोजिम राष्ट्रिय चिकित्सा शिक्षा विधेयक अध्यादेशमार्फत जारी गर्न कात्तिक ६ गतेको मन्त्रिपरिषद् बैठकबाट सिफारिस गर्न सरकार सहमत भएकाले हाड भाँच्चिएकी १० वर्षीया बालिका रोजिना तामाङको हातबाट मह–पानी पिएर केसीले अनशन तोडेका हुन् ।

सरकारले गरेको सहमतिअनुसार शैक्षिक वर्ष २०७४/७५ का लागि एमबीबीएसतर्फ उपत्यकाभित्र ३८ लाख ५० हजार, उपत्यकाबाहिर ४२ लाख ४५ हजार र बीडीएसतर्फ १९ लाख ३२ हजार ६ सय १२ रुपैयाँ शुल्क लिएर भर्ना सुनिश्चित गर्न शिक्षा मन्त्रालयले कात्तिक ६ गते सार्वजनिक सूचना प्रकाशित र पत्राचार गर्नेछ । यसको तत्काल फाइदा एमबीबीएसका विद्यार्थीलाई हुनेछ ।

यस्तै सातै प्रदेशमा सरकारी मेडिकल कलेज खोल्नेबारे समेत काम अगाडि बढाउने सहमति भएको छ । काठमाडौं नेसनल मेडिकल कलेज सम्बन्धन प्रकरणसँग सम्बन्धित त्रिविका उपकुलपति तीर्थ खनियाँलगायत पदाधिकारीमाथि छानबिनका लागि विशेष अदालतका पूर्वमुख्य न्यायाधीश गौरीबहादुर कार्कीको संयोजकत्वमा गठित जाँचबुझ आयोगमा कात्तिक ६ गते लेखेर पठाउने र आयोगको सिफारिसअनुसार कारबाही गर्ने सहमतिसमेत भएको छ । डा. केसीसँग सरकारको हालसम्म भएका सम्झौता र सहमति कार्यान्वयनको अवस्था अनुगमनका लागि गठित उच्चस्तरीय अनुगमन समितिमा एक जना प्रतिनिधि थप गरिनेछ ।

सहमतिपत्रमा डा. केसी र सरकारी वार्ता समितिका संयोजक प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिन ङइन्द्रप्रसाद उपाध्यायले स्वास्थ्यमन्त्री दीपक बोहरा, स्वास्थ्य सचिव डा. किरण रेग्मीलगायतका उपस्थितिमा हस्ताक्षर गरेका छन् । डा. केसीले हस्ताक्षरलगत्तै प्रधानमन्त्री शेरबहादुर देउवासँग संक्षिप्त कुराकानीसमेत गरे । ‘हयान्ड्स फ्रि’ गरिएको फोनवार्तामा डा. केसीले भने सहमति अक्षरशः पालना गर्न आग्रह गरे । ‘६ गते मन्त्रिपरिषदको बैठकबाट अध्यादेश जारी गर्ने र सहमति अनुमोदन गर्ने काम भएन भने ८ गतेदेखि फेरि सत्याग्रह थाल्छु,’ उनले भने । आजको कान्तिपुर दैनिकमा खबर छ ।

Tags :
प्रतिक्रिया दिनुहोस