वाम गठबन्धनलाई सिट बाँडफाँड गर्न सकस « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

वाम गठबन्धनलाई सिट बाँडफाँड गर्न सकस


२ कार्तिक २०७४, बिहिबार


काठमाडौं । एमाले र माओवादी केन्द्रसहितको वाम गठबन्धनमा क्षेत्र बाँडफाँड र सिट संख्या टुंग्याउने विषय जटिल बन्दै गएको छ । पहिलो चरणअन्तर्गत प्रदेश र संघको निर्वाचनको उम्मेदवार मनोनयन दर्ता गर्न तीन दिन मात्रै बाँकी हुँदासम्म सहमति जुट्न सकेको छैन ।

क्षेत्र र सिट बाँडफाँड कार्यदलमा एमालेबाट महासचिव ईश्वर पोखरेल, सुरेन्द्र पाण्डे र शंकर पोखरेल तथा माओवादी केन्द्रबाट रामबहादुर थापा, वर्षमान पुन र मातृका यादव छन् । कार्यदलले दुई सातादेखि गृहकार्य गर्दा पनि अन्तिम टुंगो लगाउन नसकेपछि पार्टी एकता संयोजन समितिले बुधबार छलफल गरेको छ । संयोजन समितिमा एमालेबाट अध्यक्ष केपी शर्मा ओली, झलनाथ खनाल, माधवकुमार नेपाल र वामदेव गौतम छन् । त्यस्तै, माओवादी केन्द्रबाट अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, रामबहादुर थापा र नारायणकाजी श्रेष्ठ छन् ।

ललितपुरको एक निजी घरमा भएको छलफल अन्तिम टुंगो लगाउने दिशामा अघि बढेको माओवादी प्रवक्ता पम्फा भुसालले बताइन् । ‘बिहीबार र शुक्रबार अझै दुई दिन छलफल गरेर क्षेत्र र सिट टुंग्याउँछौँ,’ उनले भनिन् । ५ गतेअघि नै दुई दल सहमतिमा पुग्ने भुसालको भनाइ छ । प्रभावशाली र युवा नेताको क्षेत्र निर्धारण झन् चुनौतीपूर्ण एमाले र माओवादीका प्रभावशाली केही नेताहरूको सिफारिस एउटै क्षेत्रबाट भएका कारण क्षेत्र निर्धारणमा धेरै समस्या भएको माओवादी केन्द्रका नेता टेकबहादुर बस्नेतले बताए ।

उम्मेदवार उठाउँदा ६०–४० को अनुपातमा सहमति गर्ने भनिए पनि दुवैतर्फका उम्मेदवार मिलाउँदा जित सुनिश्चित गर्नुपर्ने बाध्यता कार्यदललाई छ । चितवन– २ बाट रामबहादुर थापा र क्षेत्र नम्बर ३ बाट प्रचण्डको नाम सिफारिस भएको छ । तर, चितवनमा माओवादी संगठन कमजोर भएकाले माओवादीले दुवै नेतालाई जित्न कठिन हुने विश्लेषण गरिरहेको छ । त्यसैले प्रचण्ड निर्वाचनमा उठेमा थापाले चितवनबाट निर्वाचनमा नलड्ने मनस्थिति बनाउन सक्ने सम्भावना प्रबल रहेको एक नेताले बताए । माओवादी संगठन कमजोर भएकाले एमालेसँग तालमेल गर्दा पनि हार्न सकिने थापाको निष्कर्ष रहेकाले उनलाई कसरी क्षेत्र व्यवस्थापन गर्ने भन्ने चुनौती देखिएको छ ।

दाङ– ३ बाट युवराज ज्ञवाली र २ बाट शंकर पोखरेलको नाम सिफारिस भएको छ । माओवादी नेता कृष्णबहादुर महराले पनि २ मै उठ्ने तयारी गरिरहेकाले कार्यदललाई मिलाउन कठिन भएको स्रोतको दाबी छ । त्यस्तै, सल्यानबाट प्रतिनिधिसभाका लागि एमाले नेता प्रकाश ज्वाला र माओवादी नेता टेकबहादुर बस्नेत दुवैले उठ्न चाहेका छन् । ज्वालाले प्रत्यक्षमा नहुँदा समानुपातिकमै भए पनि सिट सुनिश्चित गर्न लबिङ जारी राखेका छन् । सिन्धुपाल्चोक–१ बाट एमाले नेता अरुण नेपाल र माओवादी नेता अग्नि सापकोटा दुवैको नाम आएकाले दुईमध्ये कसलाई अर्को क्षेत्रमा पठाउने भन्ने समस्या देखिएको छ ।

२ मा सापकोटालाई पठाउने तयारी भए पनि एमालेकै शेरबहादुर तामाङले प्रदेशमा उठ्न सहमति जनाइसकेका छैनन् । ललितपुर– ३ मा एमाले नेता रघुजी पन्त र नेतृ सुशीला नेपाल तथा माओवादीबाट नेतृ पम्फा भुसालको नाम एउटै क्षेत्रबाट सिफारिस भएकाले पन्तले क्षेत्र बाँडफाँडमा माओवादीलाई दिने हो भने जित्ने अर्को क्षेत्रमा चुनाव लड्ने गरी व्यवस्थापन हुनुपर्ने अडान राखेका छन् ।

माओवादी नेता देव गुरुङले कास्कीको सट्टा लमजुङ दाबी गरेपछि एमाले सचिव पृथ्वी सुब्बा गुरुङको वैकल्पिक व्यवस्थापन चुनौतीपूर्ण बनेको छ । पृथ्वी सुब्बाको नाम केन्द्र र प्रदेश दुवै ठाउँमा उठ्न सक्ने गरी सर्वसम्मतिले सिफारिस आएकाले पनि दुई गुरुङलाई कसरी मिलाउने समस्या भएको कार्यदलका एक सदस्यले बताए ।

उता, प्रदेश नम्बर– १ मा ७० सालमा आफैँले पराजय व्यहोरेको संखुवासभा एमालेले लिने, माओवादीको प्रभाव कम रहेको भोजपुर उसैलाई दिनेगरी तयारी भएपछि एमाले र माओवादी केन्द्र दुवैतर्फ असन्तुष्टि चुलिएको छ । भोजपुरमा स्थानीय तहको निर्वाचनमा एमाले पहिलो र माओवादी केन्द्र तेस्रो स्थानमा छ । त्यहाँ प्रत्यक्षतर्फ सिफारिस भएका एमालेका युवा नेता तथा अखिलका पूर्वअध्यक्ष राजेन्द्र राईको टिकट खोस्ने नियोजित योजनाअनुसार कार्यदलले भोजपुर जबर्जस्ती माओवादी केन्द्रलाई दिने अन्तिम तयारी भइरहेको आरोप लगाएको छ । राईका पक्षमा एमालेका युवा विद्यार्थी पंक्तिले नेतृत्वमाथि दबाब सुरु गरेका छन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।

Tags :
प्रतिक्रिया दिनुहोस