रानीपोखरीको नक्सा नै गलत « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

रानीपोखरीको नक्सा नै गलत


१ कार्तिक २०७४, बुधबार


काठमाडौं । साढे दुई वर्षअघि गएको भूकम्पमा ध्वस्त रानीपोखरीको नक्सा त्रुटिपूर्ण रहेको फेला परेको छ । काठमाडौं महानगरपालिकाले करिब तीन महिना लगाएर रानीपोखरीको नक्सा ‘ड्रइङ एन्ड डिजाइन’ तयार गरेको थियो । पुरानै नक्साअनुसार काम अघि बढाउने कि नयाँ नक्सा बनाउने विषयमा अन्योल भएपछि रानीपोखरी निर्माण वर्ष दिनदेखि अलपत्र बन्न पुगेको छ ।

महानगरपालिकाका प्रवक्ता ज्ञानेन्द्र कार्कीले नक्सामा त्रुटि देखिएपछि निर्माण कार्य अलपत्र बनेको बताए । ‘रानीपोखरीको नक्सा हामीले नै बनाएका हौँ । तर, पछि त्रुटिपूर्ण देखियो । पुरानै नक्साअनुसार काम अघि बढाउने कि नयाँ नक्सा बनाउने विषय अझै टुंगो लागेको छैन, यही कारण निर्माण कार्य रोकिएको हो,’ उनले भने ।

महानगरपालिकाका भौतिक पूर्वाधार विभाग प्रमुख डा। उत्तरकुमार रेग्मीको नेतृत्वमा रानीपोखरीको नक्सा तयार गरिएको थियो । तयार नक्सा त्रुुटिपूर्ण रहेको तथ्य त्यतिवेला पत्ता लाग्यो, जतिवेला पानी सुकाएर रानीपोखरी पूर्णरूपमा भत्काइसकिएको थियो । महानगरपालिकाका अनुसार इन्जिनियरले रानीपोखरीको आकर्षक नक्सा निर्माण गर्यो ।

पोखरीवरिपरि मनोरम गार्डेन रहेन भनी नक्सामा उतारियो । पोखरीभित्र म्युजिकल फाउन्टेनसमेत बनाउने भनियो । तर, पोखरीमा पानी अड्याउने विषयतर्फ इन्जिनियरको ध्यान नै गएन । पोखरीमा पानी अड्याउने विषय नै समावेश नभएपछि रानीपोखरीको नक्सामा त्रुटि भेटिएको हो । ‘नक्सा ठीक नभएको पछि मात्रै थाहा भयो । प्राविधिकले पहिले नै यति विषय त सोच्नुपर्ने हो, तर सोचेको देखिएन । गल्ती यहीँ भएको छ,’ उनले भने । आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।

Tags :
प्रतिक्रिया दिनुहोस