ई–सेवाको संलग्नताबारे राष्ट्र बैंकले थाल्यो अनुसन्धान « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

ई–सेवाको संलग्नताबारे राष्ट्र बैंकले थाल्यो अनुसन्धान


३१ आश्विन २०७४, मंगलबार


काठमाडौं । नेपाल राष्ट्र बैंकले बिटक्वाइन कारोबारमा ई–सेवाको संलग्नताबारे अनुसन्धान थालेको छ । नेपालमा बिटक्वाइन बेच्ने बिटसेवाले आफ्नो अफिसियल गेटवेका रूपमा ई–सेवालाई राखेको थियो । तर, नयाँ पत्रिकामा लगातार समाचार आएपछि बिटसेवाको साइट बन्द भएको छ । लाखौँ नेपाली रुपैयाँ वा डलर तिरेर सर्वसाधारणले बिटसेवामा संकलन गरेको बिटक्वाइन अब के हुन्छ भन्ने पनि टुंगो छैन । यता, सिस्टम अपग्रेड गर्ने भन्दै ई–सेवाले पनि आफ्नो कारोबार शुक्रबारदेखि नै अवरुद्ध गरेको छ ।

संसारको कुनै पनि राज्यले उत्पादन नगरेको, कुनै पनि निकायमा सुरक्षण नभएको र भौतिक आकार र अस्तित्वसमेत नभएको यस्तो ‘भर्चुअल करेन्सी’ खरिदबिक्री गरेर रातारात धनी हुने ध्याउन्नमा लागेको गिरोहका सातजना पक्राउ परिसकेका छन् । अनलाइनमा घन्टाघन्टामा दर तलमाथि हुने यस्तो मुद्रा किन्दा रातारात करोडपति हुन सकिने भन्दै विभिन्न गिरोहले सर्वसाधारणलाई आकर्षित गर्दै आएका थिए ।

बिटक्वाइनको कारोबारलाई सरकार र राष्ट्र बैंकले अवैध मानेका छन् । अनलाइन भुक्तानी सेवाप्रदायक (पिएसपी) को काम गरिरहेको ई–सेवाबाट बिटक्वाइनको कारोबार भइरहेको तथ्य बाहिर आएपछि राष्ट्र बैंकले अनुसन्धान सुरु गरेको हो । राष्ट्र बैंकले सूचना सार्वजनिक गरेर बिटक्वाइन कारोबार नगर्न तथा नगराउन भनेको छ ।

राष्ट्र बैंकले ई–सेवालगायत केही कम्पनीको बिटक्वाइन कारोबारमा संलग्नताबारे अनुसन्धान थालेको राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्तामणि शिवाकोटीले जानकारी दिए । ‘ई–सेवा राष्ट्र बैंकबाट अनुमतिप्राप्त कम्पनी हो र उसका गतिविधिको निरीक्षण तथा अनुगमन गर्नु राष्ट्र बैंकको काम हो,’ उनले भने, ‘भुक्तानी सेवाप्रदायक भएका कारण हामीले बिटक्वाइनका विषयमा ई–सेवालगायत कम्पनीबारे अनुसन्धान थालेका हौँ ।’

नेपाल राष्ट्र बैंकले नेपालमा बिटक्वाइनको कारोबार विषयमा थप अध्ययन गरिरहेको सहायक प्रवक्ता राजेन्द्र पण्डितले बताए । पछिल्लो समयमा सञ्चारमाध्यममा आएका समाचार, बिटक्वाइन कारोबारमा विभिन्न व्यक्तिको संलग्नताको विषयबारे राष्ट्र बैंक जानकार रहेको उनको भनाइ छ । ‘अहिलेसम्म राष्ट्र बैंकले कुनै एक्सन लिएको छैन, बिटक्वाइनका विषयमा अझै अध्ययन भइरहेको छ,’ उनले भने, ‘नेपालमा बिटक्वाइन कारोबार गैरकानुनी भएकाले यसमा कोही संलग्न भएको पाइए कारबाही हुनेछ ।’ आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।

प्रतिक्रिया दिनुहोस