गौचन हत्याको अनुसन्धान अरु घटनासँग जोडेर गरिनुपर्छ « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

गौचन हत्याको अनुसन्धान अरु घटनासँग जोडेर गरिनुपर्छ


३१ आश्विन २०७४, मंगलबार


केही दिनअघि राजधानीमा निर्माण व्यवसायी महासंघका अध्यक्ष शरद गौचनको गोली हानी हत्या गरियो । राजधानीमा दिनदहाडै गोली हानी हत्या हुँदा पनि प्रहरीले अहिलेसम्म अपराधी पत्ता लगाउन सकेको छैन । आफ्नो कार्यकालमा अपराध अनुसन्धानमा अब्बल ठहरिएका नेपाल प्रहरीका पूर्वनायव महानिरीक्षक (डिआइजी) हेमन्त मल्ल ठकुरीले यो घटना र यसपछिको अपराध अनुसन्धानलाई कसरी हेरेका छन् ? यही सेरोफेरोमा उनीसँग प्रशासन डट कमका एसराज उपाध्यायले गरेको कुराकानी ।

राजधानीको मुटुमा दिनदहाडै व्यवसायीको हत्या हुनुले सुरक्षा अवस्था फितलो देखायो नि ?
हैन, फितलो भन्न मिल्दैन । म जहिले पनि भन्ने गर्छु, क्राइम भनेको हन्ड्रेट पर्सेन्ट पु्रभ कहिले पनि हुँदैन । पुलिसले कहिले पनि हन्ड्रेड प्रसेन्ट सेक्युयर गर्न सक्दैन । त्यसैले एक–दुई अपराध हुँदैमा सहर असुरक्षित भयो भन्न मिल्दैन । किनकि सेक्युरिटी भनेको मानिसको फिलिङ हो । बन्दुकमात्र छरेर मात्र सुरक्षित हुँदैन ।

म जहिले पनि उदाहरण दिँदा अफगानिस्तान र अमेरिकालाई कम्पेयर गर्छु । होमिसाइड केसको कुरा गर्ने हो भने अफगानिस्तानभन्दा अमेरिकामा धेरै छ । वार्षिक क्रिमिनल डाटा हेर्ने हो भने त्यहाँ बढी छ । तर तपाईं अमेरिकालाई बढी सेफ किन मान्नुहुन्छ भन्नुस् त ? त्यो मान्छेको फिलिङ हो । साउथ एसियामा नै हेर्नुस् न ? इन्डियामा केटी राति घुम्न डराउँछन् । नेपालमा त अँध्यारोमा नि हिँडिरहेका छन् नि गल्ली–गल्लीमा । सुरक्षा भनेको त्यो हो । घटनाले एकछिन केही असर पार्ला । तर, ओभरअल असर पार्दैन । त्यसरी लिनुपर्छ जस्तो लाग्छ ।

घटना घटेको यत्रो समय बित्दा पनि अपराधी फेला पार्न नसक्नु सुरक्षा संयन्त्र नै कमजोर की फितलो अनुसन्धान ?
एउटा केसलाई फोकस गरेर कुरा गर्छौै भने यसको दुई वटा पाटो छ । जस्तो गौचन केसको सन्दर्भमा भन्ने हो भने यो एउटा, संगठित गु्रपले गरेको छ । अर्को, ट्रान्सनेसल ग्रुपले गरेको छ । अहिलेसम्म जुन मिडियामा आएको छ । जुन किसिमले बुझिन्छ नि एउटा ट्रान्सनेसल हो, अर्को अर्गनाइज्ड सिन्डिकेट गु्रप नै हो । त्यसले गर्दा इन्डिभिजियोल मान्छेले क्राइम गरेको भए तुरुन्त पत्ता लाग्छ र समात्न सजिलो पनि हुन्छ । यसमा अर्गनाइज्ड सिन्डिकेटले गरेपछि डेप्थसम्म पुग्नुपर्यो । यसका अरु पाटा पनि छन् । जस्तै: आर्थिक लाभ । त्यो पनि हेर्नुपर्ने भएकोले समय लाग्छ । मलाई के लाग्छ भने पुलिसले यसमा सफलता पाइसकेको छ केहीहदसम्म । अलि समय लाग्छ यस्तो केसमा ।

भनिन्छ नेपाल प्रहरीमा नगण्य मात्रामा मात्रै अनुसन्धान अधिकारी छन्, किन त्यो अवस्था आयोे ? जानाजानै त्यसो गरिएको हो कि ? अनुसन्धान अधिकृत चाहिन्छन् भन्ने कुरा थाहा नभएको त पक्कै होइन होला ?
यसमा प्रस्ट म के भन्छु भने प्राइम रेस्पोन्सबिलिटी भनेको अपराध अनुसन्धान नै हो । ल एण्ड अर्डर भनेको स्थानीय प्रशासनको अधिकारको कुरा हो । प्रहरीले उनीहरूलाई सहयोग मात्र गर्ने हो । यसैले देखाउँछ अपराध अनुसन्धान हाम्रो प्राइम रेस्पोन्सबिलिटी हो । तर, अपराध अनुसन्धानमा डाइरेक्ट्ली खटिएको प्रहरीको संख्या ६/७ प्रसेन्टभन्दा पनि बढी छैन । यसैले पनि थाहा हुन्छ ।

अर्को कुरा अपराध अनुसन्धान एउटै दृष्ट्रिकोणबाट हेर्छौ तर यसलाई अलिकति म क्लियर गर्न चाहन्छु । पुलिस भनेको सबै एउटै होइन, मेडिकल डाक्टर भने जस्तै पुलिसका आ–आफ्ना बिधाहरु छन् । अपराध अनुसन्धानको कुरा गर्नुहुन्छ भने त्यसभित्र पनि बिभिन्न बिधाहरु छन् । कोही फाइनान्सियल इन्डिकेटर होलान्, कोही ग्याङका फाइट, कोही लागूऔषध लगाएत फरक फरक बिधा हेर्ने हुन्छ । त्यसरी पनि हामीले बुझ्नुपर्ने हुन्छ । त्यसलाई प्रायोरिटीमा राखेकै छैन जस्तो लाग्छ मलाई ।

रानीबारी हत्याकाण्डदेखि न्यायाधीश रणबहादुर बम हत्याकाण्डलगायत थुप्रै गम्भिर र जटिल अपराध अनुसन्धानको अनुभव छ यहाँसँग, यदि तपाइको नेतृत्वमा गौचन घटनाको अनुसन्धान हुन्थयो भने कसरी शुरुवात गर्नुहुन्थ्यो ?
पहिले म एउटा राम्रो टिम बनाउथेँ, मसँग काम गरेका टेस्टेड मान्छेको । यस्ता मान्छे नेपाल प्रहरीमा लिमिटेड मात्रै छन् । उनीहरूसँग टिमवर्क गरेर अघि बढ्थे होला । अरु अनुसन्धानका पाटा भनेका त आफ्नो ठाउँमा छँदैछन् ।

यसको अर्थ अनुसन्धानमा टिमवर्क हुन अनिवार्य छ ?
हो । एक्लैले केही गर्न सकिँदैन । मैले पनि एक्लैले केही गर्न सक्दैन, गरेको पनि थिइनँ । यसका लागि राइट म्यान छान्ने र टिम बनाउनुपर्छ । काम टिमले गर्ने हो । टिम महत्वपूर्ण हो ।

किन प्रहरी अनुसन्धानमा चुक्न पुग्छ ?
६ प्रतिशत नेपाल प्रहरी अपराध अनुसन्धानका लागि खटिएका छन् । त्यसमा पनि राम्रा इन्भेष्टिगेटर औंलामा गन्न सकिने छन् । यस्ता १०–२० जना मात्रै छन् । सबैमा त्यो सेन्स नहुन पनि सक्छ । त्यहाँको ट्रयाक सबैले किन समात्न सक्दैन भने सबैको हेराइ फरक फरक हुन्छ । तर, राम्रो इन्भेष्टिकेटरले मात्र प्रोपर ठाउँ समात्छ । किनकि घटनालाई कहाँबाट उठान गर्ने त्यही इम्पोटेन्ट हो । के–के हेर्ने त्यो महत्वपूर्ण हो । किनकि घटना त सबैले हेरेको छ नि त । तर, पिक गर्ने शैली आफ्नो हुन्छ । सही व्यक्ति नपरिदिँदा पनि चुक्न पुग्छ ।

कस्तो प्रहरी एक सफल अनुसन्धान अधिकारी बन्न सक्छ ?
कसैले जन्मजातै त्यो क्षमता बोकेर आएको हुँदो रहेछ । त्यो हामीले मान्नै पर्छ । पुलिसमा दुई/चार जना कहलिएका रिटायर्डहरु छन् जसको बारेमा हामीले पञ्चायत कालमा पनि सुन्थ्यौं । त्यो बीचमा त हजारौं आए–गए । तर, दुई÷चार जनाबारे मात्रै किन सुन्यौं त भन्दा सफल भएरै हो नि । भारतीय गायिका लता मंगेसकर, आशा भोस्लेलाई पछि सिकाएर सिकेको होइन नि त । नेपालकै स्वरसम्राट नारायण गोपालले पनि पछि सिकाएर सिकेको होइन नि ।

मानिसमा एउटा जन्मजात क्षमता हुन्छ । ट्रेनिङ संगत, सिकाउने मान्छे राम्रो परिदियो भने पर्यो भने उसले फम्र्याटमा ल्याइदिन्छ । पछि त निखारिने मात्रै हो । इन्भेस्टिकेसन भनेको जन्मजात नै भन्छु म त । जन्मजातै त्यो क्षमता लिएर आएको हुन्छ ।

घटना घटाइ सकेपछि अपराधि त भाग्छ नै, तर त्यसलाइ पक्रिनका लागि प्रहरीले कसरी अनुसन्धान अगाडि बढाउन जरुरी छ ?
भाग्नु ठुलो कुरा होइन । अपराधी त सकेसम्म नजिक बस्न खोज्दैन नि । अपराधी त अपराध भएको ठाउँबाट आपूmलाई टाढा गर्न खोज्छ । राम्रो इन्भेस्टिकेटरको काम भागेको अपराधी र घटना भएको ठाउँलाई जोड्दै जाने हो । त्यसले गर्दा अहिले पनि जुन अपराधी भागेको छ त्यसलाई अन्यथा रूपमा लिँदैन म ।

अपराधिक घटना घटेपछि प्रहरीले के कुरामा चनाखो हुन जरुरी हुन्छ ?
घटना घटिसकेपछि घटनास्थल सुरक्षित राख्नुपर्छ यो पहिलो काम हो । किनकि अपराध भएपछि पुलिसले पहिलो काम सुुरु गर्ने ठाउँ त्यही हो । सबैभन्दा महत्वपूर्ण त्यही हो । अर्को कुरा, कति कुराहरु घटनास्थलदेखि वाहेकका पनि जुन अनुसन्धानका लागि काम लाग्छन् । त्यो इन्फरमेसन पनि इमिडेट्ली कलेक्सन गरेर राख्नु पर्छ । घटनास्थल र घटनास्थलदेखि वाहेकका वरीपरी केही अरुपनि छन् कि त्यो सुरक्षित राख्नु सबभन्दा जरुरी छ । अरु कुरा त पछाडि जोड्दै जानुपर्छ ।

गौचन हत्यालाई तपाईँले कसरी हेरिरहनुभएको छ ?
गौचन हत्याको घटनासंगसँगै मंगलबार अरु दुई घटना भएका छन् । तर, हामी गौचनको घटना मात्रै जोडिरहेका छौं । एउटा घटना काठमाडौंमा भयो त्यो निर्माण व्यवसायीसंग जोडियो । त्यसैदिन अर्को घटना सर्लाहीमा भएको छ, को संग जोडियो त भन्दा सुन व्यवसायीसंग जोडिएको छ । सोही दिन सप्तरीको रक्सी उत्पादन गर्ने कारखानामा गार्डलाई हानेको छ ।

गौचन घटना लगत्तै थुप्रै व्यवसायीले मिडियामा ओपन्ली बोलेका छन् । उनीहरूले करोडभन्दा बढी पैसा मागिरहेको र थ्रेट आइरहेको छ भनेर ओपन्ली कुरा गरेका छन् । भनेपछि मारेको र थ्रेट आएको त पैशाको लागि रहेछ नि त ! सुन व्यवसायीको हत्या तर्साउन गरिएको हो की ? उतातिर लिकर । यो संगठन भनेको त पैसावाला व्यापारीको संगठन हो । त्यहाँ पनि लिकरवालालाई तर्साउन टार्गेट गरिएको छ की ?

त्यसैले अस्तिको घटनालाई गौचनमा मात्रै सिमित नराखि फराकिलो दायरा बनाएर पनि हेर्नु पर्ने हो की ? गौचन हत्यासँगै अरु घटना जोडिएको पनि हुन सक्छ, नजोडिएको पनि हुन सक्छ । तर, पनि गौचन हत्या अनुसन्धान अरु घटनासँग जोडेर गर्नुपर्छ भन्ने मलाई लाग्छ । यिनीहरूलाई एउटै बास्केटमा राखेर अनुसन्धान गरिनुपर्छ भन्ने मलाई लागेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस