दलले बुझाए समानुपातिक सूची « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

दलले बुझाए समानुपातिक सूची


३० आश्विन २०७४, सोमबार


काठमाडौं । मंसिर १० र २१ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि समानुपातिकतर्फ दलहरूले आइतबार निर्वाचन आयोगमा उम्मेदवारको मनोनयन सूची दर्ता गरेका छन् । बिहान १० देखि ५ बजेसम्म मनोनयन सूची बुझाउने समय तोकिए पनि दलहरूले आन्तरिक तयारी पूरा गर्न नसक्दा मध्यरातसम्म आयोगमै बसेर सूची बुझाएका हुन् ।

आयोगले आइतबार रातभरि कार्यालय खुला राखेर टोकन लिएका दलका मनोनयनको सूची बुझ्ने जनाएको छ । यो समाचार तयार पार्दासम्म ५५ दलले टोकन लिएकामध्ये प्रतिनिधिसभातर्फ ३६ दल र प्रदेशसभातर्फ १२ दलले उम्मेदवारको बन्दसूची पेस गरेको आयोग प्रवक्ता नवराज ढकालले जानकारी दिए । बन्दसूचीमा अधिकांश महिला उम्मेदवारको नाम छ भने प्रत्यक्षतर्फको उम्मेदवारीमा ५० प्रतिशत महिला पुर्‍याउन मुस्किल पर्ने देखिन्छ ।

प्रमुख दलका नेताहरू दिउँसो ३ बजेतिर आयोगमा पुगेर टोकन लिए पनि बन्दसूची भने मध्यरातमा मात्र बुझाएका थिए । समानुपातिकतर्फ केन्द्रमा १ सय १० जना उम्मेदवारको सूची बुझाउनुपर्छ । भावी २ सय ७५ सदस्यीय प्रतिनिधिसभामा १ सय ६५ जना प्रत्यक्ष र १ सय १० समानुपातिकबाट निर्वाचित हुनेछन् ।

यस्तै, सातवटै प्रदेशसभाका लागि २ सय २० जना निर्वाचित हुनेछन् । दलहरूले प्रदेशसभाका लागि सातवटै प्रदेशतर्फ फरक–फरक सूची बुझाएका छन् । १ नम्बर प्रदेशमा ३७, २ नम्बरमा ४३, ३ नम्बर प्रदेशमा ४४, ४ नम्बर प्रदेशमा २४, प्रदेश नम्बर ५ मा ३५, प्रदेश नम्बर ६ मा १६ र प्रदेश नम्बर ७ मा २१ जनाको समानुपातिकतर्फ मनोनयन सूची बुझाउनुपर्छ ।

आयोगमा सबैभन्दा पहिले १० बजे नै राष्ट्रिय यथार्थवादी पार्टीले बन्दसूची बुझाएको थियो । चर्चामा नरहेको उक्त दलले केन्द्रमा ११ जनाको सूची बुझाएको आयोग प्रवक्ता ढकालले जानकारी दिए । त्यसपछि ग्रिन पार्टी, नेपाल समावेशी पार्टी, नेपाल समाजवादी लोहियावादी, नेपाली जनता दल, जनशक्ति पार्टीले मनोनयन सूची बुझाएका थिए । नेमकिपाका प्रेम सुवाललगायतले आयोगमा बन्दसूची बुझाएका थिए ।

कम चर्चामा रहेका दलले सूची बुझाउँदा पनि कांग्रेस, एमाले र माओवादी केन्द्रका नेता भने आयोगमा देखा परेका थिएनन् । प्रमुख दल भने ३ बजेपछि मात्र आयोगमा पुगेका थिए । आजको अन्नपूर्ण पोस्ट दैनिकमा खबर छ ।

Tags :
प्रतिक्रिया दिनुहोस