डाक्टर पढ्न डिभाइसबाट चिट « प्रशासन
Logo ४ बैशाख २०८१, मंगलबार
   

डाक्टर पढ्न डिभाइसबाट चिट


२९ आश्विन २०७४, आइतबार


काठमाडौं । एमबीबीएस प्रवेश परीक्षामा सिमकार्डयुक्त अत्याधुनिक इलेक्ट्रोनिक डिभाइस प्रयोग गरेर चिट चोर्ने ४ विद्यार्थी पक्राउ परेका छन् । तीन विद्यार्थीलाई बौद्धस्थित परीक्षा केन्द्रबाट र एक जनालाई तीनकुनेबाट पक्राउ गरिएको हो ।

चिट चोर्न डिभाइस उपलब्ध गराउने गिरोहका अन्य ५ जना, नक्कली परीक्षार्थी बनेर परीक्षा दिइरहेका एकजना र नक्कली परीक्षार्थीलाई सहयोग गर्ने एक जनालाई पनि पक्राउ गरेको छ ।

गिरोहका सदस्यले २ देखि ५ लाख रुपैयाँसम्म लिएर चिट चोर्ने डिभाइस विद्यार्थीलाई उपलब्ध गराएका थिए । यस्तो डिभाइसबाट चिट चोर्ने विद्यार्थीले टिसर्ट लगाएका हुन्छन्, जसमा सलाइको बट्टा आकारको सिमकार्डयुक्त डिभाइस सिलाएर राखिएको हुन्छ। उक्त डिभाइसबाट निस्किएको तार कपडाभित्र सिलाउँदै कुमनेर पुर्‍याइएको हुन्छ।

तारको टुप्पोभित्र रहेको अत्यन्तै सानो आकारको वायरलेसले एयरफोनमा आवाज पुर्‍याउन मद्दत गर्छ । यस्तो यन्त्रजडित टिसर्ट लगाएका विद्यार्थी परीक्षाहलमा बसेको केहीबेरपछि गिरोहका सदस्यले यस यन्त्रमा फोन गर्छन्।

साइलेन्स मोडमा रहेको उक्त यन्त्रमा एक घण्टी जानेबित्तिकै फोन आफैं रिसिभ हुने अटोमेटिक सिस्टम हुन्छ । त्यसैको सहारामा गिरोहका सदस्यले परीक्षाहलबाहिर बसेर उत्तर फटाफट भन्दै जान्छन् । त्यही सुनेर परीक्षार्थीले सजिलै उत्तर मिलाउन सक्छन् । आजको कान्तिपुर दैनिकमा खबर छ ।

प्रतिक्रिया दिनुहोस