चिकित्सा शिक्षा विधेयक नआउने निश्चित « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

चिकित्सा शिक्षा विधेयक नआउने निश्चित


२८ आश्विन २०७४, शनिबार


काठमाडौं । प्रा.डा. गोविन्द केसीको मुख्य मागका रूपमा रहेको चिकित्सा शिक्षा विधेयक संसद्बाट पास नहुने निश्चित भएको छ । व्यवस्थापिका–संसद् शनिबारदेखि स्वतः विघटन हुने भएपछि विधेयक संसद्मै अलपत्र परेको छ ।

माथेमा कार्यदलले तयार पारेको प्रतिवेदन जस्ताको त्यस्तै ऐनका रूपमा आउनुपर्ने माग गर्दै चिकित्साशास्त्र अध्ययन संस्थान (आइओएम) का डा. केसी विगत नौ दिनदेखि अनशनमा छन् ।

शुक्रबार बसेको संसद्को अन्तिम बैठकबाट विधेयक पास गराउन सभामुख ओनसरी घर्तीमगरले प्रमुख दलका शीर्ष नेतासँग अन्तिम समयसम्म प्रयास गरे पनि सफल हुन सकेन । केसीका मागमा सहमति खोज्न सभामुखले राखेको शीर्ष नेता सम्मिलित प्रमुख सचेतकहरूको बैठकमा सहमति जुट्न नसकेपछि विधेयक नआउने निश्चित भएको सभामुख घर्तीका प्रेस सल्लाहकार बबिन शर्माले बताए । उनले अब संसद्बाट चिकित्सा शिक्षा विधेयक पास हुने आशा टरेको बताए । ‘चिकित्सा शिक्षा विधेयक संसद्बाट पास नहुने भयो,’ शर्माले भने, ‘तीन दलका शीर्ष नेता र प्रमुख सचेतकसँग भएको छलफल कुनै निष्कर्षमा पुगेन ।’ आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।

प्रतिक्रिया दिनुहोस