मानसी लोकसाहित्यमा भलौलो « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

मानसी लोकसाहित्यमा भलौलो


२८ आश्विन २०७४, शनिबार


नेपालको कर्णाली काग हिमालदेखि पश्चिम र भारतको कुमाउ नन्दा हिमालसम्मको क्षेत्र पुराणमा मानसखण्ड नामले विख्यात छ । यही क्षेत्रमा पुर्खादेखि कथ्य परम्परामा हस्तान्तरण हुँदै आएको लोकसाहित्य नै मानसी लोकसाहित्य हो । मानसी लोकसाहित्यलाई पनि लोक गद्य र लोक पद्य दुई भागमा वर्गीकरण गर्न सकिन्छ । मानसी लोकगद्यअन्तर्गत बातै, भडा, नाटक, तथा विभिन्न संवाद पर्छन् भने मानसी लोकपद्यअन्तर्गत सगुना, फाग, अठ्यावाली, धुमारी, चैत गरी यस क्षेत्रमा विभिन्न चाँडवाड तथा शुभकार्यमा गाइने सगुना, फाग, गीत, भैन, भलौलो आदि पर्छन् । भलौलो मानसी लोक साहित्यको लोकपद्यअन्तर्गत पर्ने विधा हो । यस क्षेत्रका नारीहरूले उज्यालो हुने बेलामा गाउँदै आइरहेको लोकपद्य नै भलौलो हो । भलौलोमा समयसँग सम्बन्धित गीत पर्छन् । विभिन्न कथालाई आधार बनाएर कुन समयमा कुन काम गर्नु उचित हुन्छ भन्ने शिक्षा दिने भलौलोमा यस क्षेत्रको धार्मिक, सामाजिक, सांस्कृतिक, राजनीतिक तथा समग्र पहिचान झल्केको पाइन्छ । यस क्षेत्रको रहनसहन, सभ्यता, भेषभूषा तथा समग्र पहिचान बोकेको भलौलो समग्र वाङ्मयकै लोक सम्पत्ति हो ।

यस क्षेत्रमा प्रसिद्ध भलौलोमध्ये रामको कथामा आधारित भलौलो र रानी मौलालाई ब्रह्म महुर्तमा के–के काम गर्नुपर्छ भनी सोधिएका प्रश्न र तिनका उत्तर भएको भलौलो हुन् । रामको कथामा आधारित भलौलोमा सासू कौशल्याले सीतालाई उज्यालो हुन लाग्यो ब्यूझेर पानी भर्न जानु भन्ने प्रसङ्गबाट सुरु हुन्छ भने रानी मौलको भलौलोमा रानी मौलालाई रात कसरी रात कती घडी बाँकी छ भन्ने प्रसङ्गबाट सुरु भएको पाइन्छ । भगवान रामको कथामा आधारित भलौलोको कथा केही मात्रमा रामायणसँग मिले पनि यसमा धेरै कुरा मौलिक छन् । यस भलौलोमा सासू कौशल्याले सीतालाई बिहान हुन लाग्यो पानी भर्न जाऊ भनेको, सीता पानी भर्न गएको अवस्थामा स्वर्णमृग देखेको, सीता मृग देखेर रमाएको र पानी भरेर घर आउन ढिला भएको, घरमा सबै रिसाउनु र अबेर हुनुको कारण सोधेको, सीताले मृगको बयान गरेको तथा राम र लक्ष्मण मृगको खोजीमा गएको कथा छ । यसबाट के प्रष्ट हुन्छ भने यसमा आएको रामायणको कथा वास्तविक रामायणको कथा नभएर काल्पनिक तथा यस क्षेत्रसँग मेल खाने गरी बनाएको कथा हुन सक्छ । यस भलौलोमा यस क्षेत्रको सामाजिक चित्रण प्रष्टसँग गरेको पाइन्छ । भलौलोमा भएका विभिन्न पक्षको चित्रण यसरी गर्न सकिन्छ ।

तत्कालीन परिवेशमा समयको ज्ञान सम्बन्धी चित्रण
आधुनिक घडीको आविस्कार हुनुपूर्व मानिसले समयको जानकारीका लागि पनघडी (पानीघडी)को माध्यमबाट समयको जानकारी लिने कुरा सर्वविदित नै छ । पानीघडी तामाको पातलो कचौरा जस्तो भाँडा हो जसको तलतिर मसिनो प्वाल हुन्छ र त्यसलाई पानीभएको भाडोमा राखिन्थ्यो र त्यो प्वालबाट पानी उक्त भाँडोमा आउने र भरिनेबित्तिकै एक घडी समय भएको मानिन्थ्यो । वर्तमान आधुनिक घडीको एक घण्टा समय बराबर तत्कालीन घडीको अढाई घडी हुन्थ्यो । सबै ठाउँ र समयमा पानीघडीबाट समय हेर्न कठीन हुने भएकाले मानिसले लक्षण अनुसार समयको जानकारी लिने गर्थे । श्वास फेर्दा नाकको कुन प्वालबाट वायू ओहोरदोहोर हुँदैछ, तारा तथा जून कहाँ पुगे, ब्यान तारो उदाएको, चिसो हावा चलेको आदि कुराबाट समयको जानकारी लिने चलन अझै पनि यस क्षेत्रमा चलिरहेकै छ । यसरी भलौलोमा पनि पानी घडीबाट समयको जानकारी लिने कुरा रानीमौलाको भलौलोबाट प्रष्ट हुन्छ ।

ओ रानी मौला तमुइ बोल भाइर कती घडी रात
पानी भरन्याकी सेवा मानेइ गुसाइ बेइझाली रात

यसमा आएको कति घडी रात भन्ने कुराले रात कती समय बाँकी छ भन्न खोजेको पाइन्छ । घडी नभएको अवस्थामा पनि विभिन्न लक्षणबाट समयको जानकारी लिने कुरालाई रामको कथामा आधारित भलौलोका केही पङ्तिलाई लिन सकिन्छ ।

धन्य बिजोइ खानी कोसेडी लछे राम हरि
कि जाणेइ रातकी बात हो लछे राम हरि
नाककी नथिया मेरा ठण्ण लागि लछे राम हरि
तब जाण्या रातकी बात हो लछे राम हरि
बौलीका खडुवा डण्ण लाग्या…
तब जाण्या रातकी बात…
सपुर पिछौडी मेरा ठण्ण लागि…
तब जाण्या रातकी बात…

उपर्युक्त पङ्तिमा रात सकिन लागेको कसरी थाहा पायौ ? भन्ने प्रश्नको उत्तरमा आफूले लागाएका गहना नाकमा लगाएको नथु, हातमा लगाएका खडुवा, पछ्यौरी आदि चिसो हुन लागेका छन्, यिनै लक्षणको आधारमा अब रात धेरै छैन, उज्यालो हुन लागेको सङ्केत पाए भन्ने कुरालाई प्रष्ट्याउन खोजेको पाइन्छ ।

यसैगरी भलौलोमा पूर्वीय दर्शनले भनेअनुसार ब्रह्म महुर्तमा उठेर सरसफाइ, धर्मकर्म पूजापाठ आदि गर्नुपर्छ भन्ने कुराको साथै तत्कालीन समयको धार्मिक अनुसानको चित्रण रानी मौलाको भलौलोमा यसरी गरेको पाइन्छ ।

ओ रानी मौला तमुई बोल भाइर कती घडी रात
पानी भरन्याकी सेवा मानेई गुसाइ बेइझाली रात
ओ रानी मौला तमुई बोल भाइर कती घडी रात
लिपन्या घसन्याकी सेवा मानेई गुसाइ बेइझाली रात

यसैगरी फूल टिपन्याकी सेवा मानेई, पात टिपन्याकी सेवा मानेई, पुजारी पण्णाकी सेवा मानेई आदि पङ्तिले ब्रह्म महुर्तमा गर्नुपर्ने कामको समेत जानकारी दिएको पाइन्छ । यसरी भलौलोभित्र तत्कालीन परिवेशमा हाम्रा पूर्खाले समयको जानकारी कसरी पाउथे ? कुन समयमा कुन काम गर्नु उचित हुन्छ ? भन्नेसँगै ब्रह्म महुर्तको महत्वको समेत चित्रण गरिएको पाइन्छ ।

तत्कालीन समाजका सासू–बुहारीको सम्बन्धको चित्रण
सानै उमेरमा विवाह भएपछि बुहारीलाई उचित शिक्षा दिने काम सासूद्वारा हुने गथ्र्यो । बुहारीले सासू–ससुरा, श्रीमान तथा घरपरिवारका सदस्यको सेवा कसरी गर्नुपर्छ ? पाहुनाको सत्कार कसरी गर्ने ? समाजमा कसरी बस्ने ? भनने कुराको ज्ञान सासूहरूले दिने गरेको पाइन्छ । भलौलोमा पनि सासू–बुहारीको सम्बन्धलाई प्रष्टसँग चित्रण गरेको पाइन्छ । सानै उमेरमा विवाह हुँदा बुहारीले भोग्नुपरेका पीडा, सासूबाट बुहारी शासित भएको कुरा पनि यसबाट प्रष्टसँग थाहा पाउन सकिन्छ । केही नकारात्मक पक्ष भए पनि यसमा तत्कालीन समयका लागि उपयुक्त हुने किसिमले बुहारीलाई धर्म, नीति, अनुशासन, तथा घर चलाउने कला सिकाउने गुरुकारूपमा सासूको भूमिकालाई लिन सकिन्छ । बुहारीलाई समयमा उठ्न, उचित समयमा उचित काम गर्न शिक्षा दिएको पाइन्छ । त्यसैगरी यसभित्र नारीहरूले भोग्नुपरेका पीडा र कष्टकर जीवनको समेत चित्रण गरेको पाइन्छ । भलौलोमा सासूले बुहारीलाई कसरी काममा खटाउँथे र काम बिग्रिए गुनासो गर्थे भन्ने कुरालाई रामको कथामा आधारित भलौलोमा यसरी चित्रण गरिएको पाइन्छ ।

पत्ताल बिउज्या काली नाग लछे राम हरि
शिखर बिउजया महादेव लछे राम हरि
भोल बेइ उजालो होइग्यो लछे राम हरि
पानी भरनी बेला हाइरैछ लछे राम हरि

यसैगरी लिपनी घसनी बेला होइरैछ, फुल टिपनी बेला होइगैछ, सन्या गरनी बेला होइरैछ आदि भनेर सासूले सुतिरहेकी बुहारीलाई बिउझाएर काममा लगाएको चित्रण यहाँ पाइन्छ ।

सबकी बुहारी चेली पानी नावा लछे राम हरि
हमरी बुहारीको जागो नाई भयो लछे राम हरि
उगाड उगाड सीता दार जोलो लछे राम हरि

यसरी घरका सदस्यको निद्रा खराब हुने डर तथा सानो घरमा ठाउँठाउँमा घरका अन्य सदस्य सुतिरहेका र बाहिर निस्कने बाटो नभएको एवम् के भन्ने हुन भन्ने डर तथा लाजले बुहारीलाई बाहिर निस्कन समेत मुस्किल परेको कुरा यसरी अभिव्यक्त गरिन्छ ।

दशरथ सौर सिताई छन लछे राम हरि
कसिकाइ उगाडौ मुइत दार जोलो लछे राम हरि

यसैगरी राम भतार सीताई छन्, लछेमन देउर सीताइ छन्, कसी काइ उगाडु मैत दारजोलो भनेर बुहारीले भन्ने गरेको कुरा यहाँ देखाइएको छ । तत्कालीन समयमा घरको सुरक्षाका लागि कुकुर पाल्ने गरेको र घरको मूल ढोका (खोलादेली)मा कुकुर सुत्ने गरेको र बुहारीले कुकुरको डर मान्ने कुरालाई समेत यहाँ यसरी देखाइएको पाइन्छ ।

खोलादेली झपुवाकी चौखी लछे राम हरि
कसीकाई उगाडु मुइत दारजोलो लक्षे राम हरि

यसरी विभिन्न सम्स्याका बाबजुत पनि बुहारीले सासूले अह्राएको काम समयमा गर्नुपर्ने बाध्यताको चित्रण गरिएको पाइन्छ ।

हात समाइछ रूपा घडुली लछे राम हरि
कोखीमुणी शिर सिरौणी लछे राम हरि
सीता रानी पानीनाव गैन लछे राम हरि
नारीले भोग्नु परेका पीडाको चित्रण

तत्कालीन परिवेशमा नारीले नुहाउन बन्द कोठाको व्यवस्था नभएकाले पानीका मुहानमै खुलारूपमा नुहाउनु परेको अवस्थाको चित्रण यहाँ गरिएको पाइन्छ । कसैले नदेखुन् भनेर अँध्यारोमै पानीका मुहानमा गएर चिसो पानीले नुहाउनुपर्ने बाध्यता हुन्थ्यो । पुस÷माघको ठण्डीमा समेत चिसै पानीले नुहाउनु, तुसारोमा नाङ्गै खुट्टाले हिँड्नु र विभिन्न किसिमका रोगले च्याप्नु एकातिर आफैमा समस्या थियो भने अर्कोतिर पानीका मुहानमा नुहाउँदा भोगी पुरुषबाट असुरक्षित हुनु अर्को समस्या हुने गथ्र्यो । युवतीको नाङ्गो शरीर हेर्ने लालसा भएका दुष्ट पुरुष लुकेर नुहाएको हेर्ने तथा नारीप्रति आकर्षित भएर विभिन्न किसिमका जाल रच्ने पुरुषको चरित्रलाई पनि भलौलोमा यसरी देखाएको पाइन्छ ।

नाइधोइ सीतारानी सूर्ज ज्वार लछे राम हरि
अइतिर धेक्यो सुनामृग लछे राम हरि
मृग धेक्यो अचम्मको लछे राम हरि
तामाले बादेकी पिठ थिई लछे राम हरि

यसैगरी सुनाले बादेका दन्त थिया, चाँदीले बादेकी पुछ थिई, लुवाले बादेका खुर थिया, सीतारानी अचम्म पडी, सीतारानी मृगैका ख्याल, सीतारानी घर लौटी आइन् । यसरी रावले मृगको रूप धारण गरी सीतालाई आकर्षित गर्न खोजेको प्रसङ्गबाट तत्कालीन समाजका पुरुषको भोगी चरित्र तथा विभिन्न प्रलोभनमा पारेर आफ्नो स्वार्थ सिद्ध गर्न खोज्ने प्रवृतिको चित्रण एकातिर पाइन्छ भने युवायुवतीको प्रेमलाई अपराध सम्झने समाजको समेत यसमा चित्रण गरिएको पाइन्छ । बुहारीले कामबाट समयमा घर फर्कन नसके विभिन्न किसिमका शंका उपशंका गर्ने, रिसाउने, गाली गर्ने तथा विभिन्न शारीरिक तथा मनोवैज्ञानिक दबाब दिने कुरा पनि प्रष्टसँग थाहा पाउन सकिन्छ । बुहारीले समयमा पानी नल्याएकाले घरका सदस्य अगाडिदेखि नै रिसले चुर भइरहेको करालाई यसरी देखाइएको छ ।

भोलबेइ उज्यालो होइग्यो लछे राम हरि
नाइ आयो सीताको पानी लछे राम हरि
घाम दडिई वर आयो लछे राम हरि
नाइ आयो सीताको पानी लछे राम हरि
बासीतुसी पानीले सन्न्या ग¥यो लछे राम हरि
नाइ आयो सीताको पानी लछे राम हरी
बासीतुसी पानीले कोट लायो लछे राम हरी
नाइ आयो सीताको पानी लछे राम हरी

कोट चिणी चिणी पैतोली, कोट चिणी चिणी गोडी गाठा, घुणजोला, जाङ जोला, आदि गरी घर पुरै बनाइसक्दा पनि पानी नपुगेको र एकातिर सबै जना बुहारीदेखि रिसाइरहेको र अर्कातिर कतै दुर्घटना त भएन की भन्ने चिन्ताले आकुलव्याकुल हुने गरेको कुरा यहाँ देखाउन खोजिएको छ । त्यसैगरी अबेर घर बुहारीसित कोही पनि नबोल्ने काममा नसघाउने कुरालाई यसरी देखाएको छ ।

सीता रानी घर लौटी आइन लछे राम हरि
कौसिला सासु तमुइ बोल लछे राम हरि
घडुली बिसोइ हम दिय लछे राम हरि
जैकी उचाइ घडु सोइ बिसोलो लछे राम हरि
राम भतार तमुई बोल लछे राम हरि
घडुली उचाइ हम दिय लछे राम हरि
जैकी उचाइ घडु सोइ बिसोलो लछे राम हरि

यसरी घरका सबै सदस्यलाई आग्रह गर्दा पनि टाउकोमा राखेर ल्याएको भरिएको पानीको गाग्री जमिनमा राख्न कसैले सहयोग नगरेको हुँदा आफैले बलजफतपूर्वक भाडो बिसाएको कुरालाई यसरी देखाएको पाइन्छ ।

शिर है उचायो घडु कुमजोला लछे राम हरि
कुमु है उचायो घडु छाति जोला लछे राम हरि
छाति है उचायो घडु काखी जोला लछे राम हरि
काखी है उचायो घडु बाइर खाख्यो लछे राम हरि

बुहारीले पानी भर्न अबेर गरेकाले विभिन्न कुरा सुनाएर उसमाथि प्रश्न गरेको पाइन्छ ।

ओ रानी सीता तमुई बोल लछे राम हरि
पनिया इतनी क्या बेर लछे राम हरि
बुहारीले काममा ढिला भएको कारण यसरी बताइएको छ ।
पानिया भरना मुइले मृग धेक्या लछे
मृग धेक्या मुइले अचम्मको लछे राम हरि
तामाले बादेकी पिठ थिई
सुनाले बादेका दन्त थिया
सुनाले बादेका सिङ्ङु थिया…
मुइ भुल्यो मृगका खेल लछे राम हरि
तब भैछ पनिया बेर लछे राम हरि

यस किसिमले मृर्गको ख्यालमा पानी ल्याउन अबेर भएको कुरा बुहारीले बताएको पाइन्छ । यसरी तत्कालीन समाजमा बुहारीले गरेका हरेक कामबारे जानकारी लिने र विभिन्न कमजोरीले बताउनुपर्ने परिवेशको भलौलोमा चित्रण गरिएको पाइन्छ ।

पति–पत्नीको प्रेम र नारी हठको चित्रण
हिन्दु सभ्यता अनुसार नारी र पुरुषमा हुने प्रेम केवल पति र पत्नीबीच मात्र हुनुपर्छ भन्ने मान्यता अनुसरण गरेको पाइन्छ । नारी पुरुषले एकआपसमा असाध्य प्रेम गर्ने र पुरुषले पनि नारीको प्रेमका लागि ज्यानै जोखिममा राखेर पनि पत्नीले भनेको कुरा पु¥याउने कुरालाई पनि यसमा देखाएको छ । सीताले देखेको मृग सुन्दर भएको र उक्त मृगलाई उपहारका रूपमा मलाई ल्याइदिनु भनेर रामलाई आग्रह गरेको अनि रामले मृग ल्याउने बाचा गरी धनुष लगेर वनतिर गएको कुराबाट पति पत्नीको प्रेमलाई एकातिर झल्काएको छ भने यस्तो मृग प्रकृतिमा सम्भव छैन यो कुनै छल हुन सक्छ यसमा जिद्दी नगर यसले विनास ल्याउन सक्छ, पछि दुःख पर्न सक्छ भन्दा पनि सीताले उक्त मृग जसरी पनि ल्याउनै पर्ने कुराले नारीमा हुने हठ र त्यसले निम्त्याउने सङ्कटलाई पनि यहाँ यसरी देखाउन खोजिएको छ ।

राम भतार तमुइ बोल लछे राम हरि
मृग लेइ हम दिय लछे राम हरि
ओ रानी सीता तमुइ बोल लछे राम हरि
जन पडै मृगका पाछा लछे राम हरि
तैबात होलो विनास लछे राम हरि

जति भन्दा पनि सीताले नमानेपछि राम र लक्ष्मण जङ्गलतिर गएको प्रसङ्ग यसरी दिएको पाइन्छ ।

हिट भौल्या मृगका खोज लछे राम रही
एकन डडेली काटी दोसरीका छिना
नाई पायो मृगको खोज लछे राम हरि

यसरी जति गर्दा पनि मृग नमिलेको, वनमा असुभ सङ्केत देखिएको र घरमा सीताको अपहरण भएको कुरालाई लिएर पति–पत्नीको प्रेम र नारी हठले निम्त्याएको पीडालाई यहाँ प्रष्ठरूपमा देखाउन खोजिएको छ ।

भलौलोको जीवन दर्शन
भलौलोमा हिन्दू दर्शन र मानसी लोकाचारका कुरालाई देखाउन खोजिएको छ । बह्म महुर्तमा उठेर नित्यकर्म गरी पूजापाठ गर्नु, अनुशासित जीवन बिताउनु, ठूलाबडाले भनेको मान्नु आदि कुरालाई यसमा देखाएको पाइन्छ । भगवान रामका आदर्श गुणको अनुशरण गर्नु पर्ने, पति पत्नीव्रत धर्मका कुरालाई राम्रोसँग चित्रण गरिएको पाइन्छ । यसैगरी कुनै कुरामा गम्भीर भएर विचार गरी अघि बढ्नुपर्छ, हठ गर्नु हुँदैन, विचार नपु¥याइ काम गरे त्यसले पश्चाताप मात्र हुन्छ, दुःख मात्र भोग्नु पर्छ भन्ने कुरालाई देखाउन खोजिएको छ भने समयको महत्व यसभित्रको मुख्य दर्शन हो । यसरी समग्रमा वर्तमान नेपालको सुदूरपश्चिमी तथा भारतको चम्पावत जिल्लालगायत कुमाउ, गडवाल क्षेत्रको धार्मिक, सामाजिक, सांस्कृतिक, नैतिक आदि समग्र पहिचान भलौलोले बोकेको पाइन्छ ।

Tags :
प्रतिक्रिया दिनुहोस