चार विद्यार्थीका लागि दुई शिक्षक : गाउँका विद्यार्थी सहर झरेपछि विद्यालय खाली « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

चार विद्यार्थीका लागि दुई शिक्षक : गाउँका विद्यार्थी सहर झरेपछि विद्यालय खाली


२७ आश्विन २०७४, शुक्रबार


लमजुङ । मस्र्याङ्दी गाउँपालिका–७ छिनखोलास्थित सिर्जना प्राथमिक विद्यालयमा चार विद्यार्थी मात्रै छन् । उनीहरूलाई दुई शिक्षकले पढाउँछन् । गाउँका विद्यार्थी सहरका बोर्डिङप्रति आकर्षित भएपछि विद्यालयमा विद्यार्थीको खडेरी परेको हो । ०४४ मा स्थापित यस विद्यालयमा शिशुदेखि ३ कक्षासम्म पठनपाठन हुन्छ ।

विद्यार्थी संख्या बढाउन हरेक वर्ष विद्यालयले घरदैलो अभियान चलाउँछ । तैपनि, सात वर्षदेखि विद्यार्थीको संख्या घट्दै गएको प्रधानाध्यापक नौजङ गुरुङले बताए । ‘हामी हरेक वर्ष घरदैलो अभियान चलाउँछौँ,’ प्रधानाध्यापक गुरुङले भने, ‘सहरका बोर्डिङ स्कुलमा पढाउने भन्दै अभिभावकले विद्यालयमा छोराछोरी भर्ना गर्न छाडेका छन् ।’

प्रधानाध्यापक गुरुङका अनुसार विद्यालयमा शिशुदेखि कक्षा ३ सम्म नयाँ शैक्षिक सत्रमा पाँच विद्यार्थी भर्ना भएका थिए । तर, दुई विद्यार्थी मात्र विद्यालय आउने गरेका छन् । दुवै २ कक्षामा अध्ययनरत छन् ।

शिशुमा एक र कक्षा १ मा भर्ना भएका दुई विद्यार्थी विद्यालय आउँदैनन् । विद्यालयमा अध्ययनरत चारमध्ये दुईजना विद्यार्थी अघिल्लो शैक्षिक सत्रमा भर्ना भएका हुन् । कक्षा तीनमा भने विद्यार्थीको संख्या शून्य रहेको प्रधानाध्यापक गुरुङले बताए ।

विद्यालयले प्रत्येक अभिभावकको घरघरमा पुगेर आफ्ना बालबालिकालाई विद्यालय पठाउन आग्रह गर्दै आएको शिक्षक चन्द्रकान्त घिमिरेले बताए । ‘०७२ को भूकम्पले विद्यालयको पाँचकोठे भवनमा पूर्ण रूपमा क्षति पुर्याएको छ । एउटा कक्षाकोठा मर्मत गरेर सबै विद्यार्थीलाई त्यसमै पढाइने गरिएको छ,’ उनले भने, ‘विद्यालयको पुनर्निर्माणमा कसैले ध्यान दिएका छैनन् ।’ भौतिक संरचना नभएकाले विद्यार्थी विद्यालय नआएको उनको बुझाइ छ । आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।

प्रतिक्रिया दिनुहोस