तालमेलको सकसः झस्कियो कांग्रेस « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

तालमेलको सकसः झस्कियो कांग्रेस


२३ आश्विन २०७४, सोमबार


काठमाडौं । राष्ट्रिय जनता पार्टी (राजपा) र संघीय समाजवादी फोरमले प्रदेश २ मा दुई तिहाइ संसद् सिट पाउनुपर्ने माग गरेपछि आफ्नो नेतृत्वमा लोकतान्त्रिक गठबन्धन बनाउन अग्रसर कांग्रेस झस्किएको छ ।

कांग्रेससहितको ६ दलीय गठबन्धन कार्यदलको आइतबार बसेको बैठकमा राजपा र फोरमले संयुक्त रूपमा सातै प्रदेशमा प्रतिनिधिसभाको ५५ सिट आफूहरूले पाउनुपर्ने माग गरेका हुन् ।

उनीहरूले सबैभन्दा बढी प्रदेश २ को ३२ निर्वाचन क्षेत्रमा २४ सिट पाउनुपर्ने माग गरेका छन् । प्रदेशसभाका लागि त्यसै अनुपातमा ४८ सिट मागिएको स्रोतले जनायो । कांग्रेसले पनि यस क्षेत्रमा ५० प्रतिशत सिट माग गर्दै आएको छ ।

प्रदेश २ लाई कांग्रेसले पनि आफ्नो प्रमुख भोट बैंकको रूपमा लिँदै आएको छ । तेस्रो चरणअन्तर्गत यो प्रदेशमा भएको स्थानीय तहको चुनावमा समेत कांग्रेस पहिलो स्थानमा थियो । त्यसपछि फोरम र राजपा आएका थिए । राजपा र फोरमबीच साझा उम्मेदवार बनाएर चुनावमा जाने सहमति भएपछि यी दुई दलले प्रदेश २ मा दुई तिहाइ सिट संख्या माग गरेका हुन् । ‘हामी दुई दल मिल्दा दुई तिहाइभन्दा बढी स्थानमा चुनाव जित्छौं,’ राजपाका एक नेताले कान्तिपुरसँग भने, ‘कांग्रेसलाई ५० प्रतिशत छाडेर हामी जान सक्दैनौं ।’ प्रदेश २ मा सोचेभन्दा बढी सिटको अपेक्षा राजपा र फोरमले गरेपछि आइतबार कार्यदल स्तरमा थप छलफल नगरी बैठक टुंगियो । कार्यदल स्तरमा सिट संख्यामा सहमति जुटाउन सकस भएपछि अब शीर्ष तहमा छलफल हुनेछ । आजको कान्तिपुर दैनिकमा खबर छ ।

प्रतिक्रिया दिनुहोस