उपत्यकाबाट दैनिक २ लाख यात्रु बाहिरिँदै « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

उपत्यकाबाट दैनिक २ लाख यात्रु बाहिरिँदै


१० आश्विन २०७४, मंगलबार


काठमाडौं । मंगलबारदेखि निरन्तर तीन दिन (१०–१२ गतेसम्म) राजमार्ग र स्थानीय सडक वर्षभरमै सबैभन्दा बढी व्यस्त हुँदै छन् । यातायात व्यवसायीका अनुसार यो अवधिमा ६ लाख मानिस उपत्यकाबाट बाहिरिँदै छन् ।

‘काठमाडौंमा पेसा–व्यवसाय गर्नेदेखि अधिकांश विद्यालय, क्याम्पस बिदा हुने भएकाले यो वर्षको दसैँमा घर जाने पिक आवर सुरु हुँदै छ,’ नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौलाले भने । बिहीबारसम्म सबै यात्रुको यात्रा सफल बनाउन सकेको खण्डमा यो वर्षको दसैँ सफल भएको मानिने व्यवसायीको भनाइ छ ।

‘त्यसका लागि यात्रुबसको व्यवस्थापनमा खटिरहेका छौँ,’ सिटौलाले भने । मंगलबारसम्म काठमाडौं उपत्यकाबाट बाहिरिएकामध्ये ११ लाख गन्तव्य (घर) मा पुगिसकेको र करिब १ लाख मानिस यात्रारत रहेको महासंघले जानकारी दिएको छ ।

यात्रुबाहक बस तथा अन्य सवारीसाधन बिहान २ बजेदेखि बेलुका ६ बजेसम्म गन्तव्यतर्फ लागिरहेका छन् । ग्रामीण क्षेत्रतर्फ गएका सवारीसाधन भने सडकको दुरावस्थाको कारण समयमा फर्कन नसक्दा ढिला भइरहेको यातायात व्यवसायीले जानकारी दिएका छन् । राजमार्गमा भने तुलनात्मक रूपमा यात्रा सहज रहेको छ ।

यो वर्ष देशभरका अधिकांश ग्रामीण भेगमा सडकको दुरावस्थाको कारण यात्रुलाई सास्ती भइरहेको छ । कतिपय स्थानीय सडक गाडी गुडाउनसमेत कठिन हुँदा दसैँ, तिहार तथा छठलगायतका चाड मनाउन घर हिँडेकालाई समयमै गन्तव्यमा पुग्न समस्या भइरहेको विभिन्न गन्तव्यमा यात्रारत र घर पुगेका यात्रुको गुनासो छ । यातायात व्यवसायीले पनि मुख्य राजमार्ग छोडेर स्थानीय सडकलाई छुनेबित्तिकै सडक समस्या बनेको बताएका छन् । आजको नयाँ पत्रिकामा दैनिकमा खबर छ ।

प्रतिक्रिया दिनुहोस