उधारोमा दसैँ मनाउँदै चेपाङ « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

उधारोमा दसैँ मनाउँदै चेपाङ


९ आश्विन २०७४, सोमबार


रत्ननगर । अति सीमान्तकृत चेपाङ समुदायका परिवार उधारो र ऋण गरेर दसैँ मनाउने तयारीमा जुटेको छ ।

दसैँको मुख्य दिन आउन लागेकाले शक्तिखोर बजारमा सिद्धि, काउले र शक्तिखोरका पहाडी भेगका चेपाङको भीड लागेको छ । स्थानीय दलबहादुर चेपाङले दसैंका लागि उधारोमा चामल, नुन, तेल, मसला किनेको बताए । ‘खाद्यान्न किन्ने पैसा नभएपछि दसैँका लागि उधारो किनेको छु,’ उनले भने ।

कतिपय चेपाङ बोका, ठेकी, डोका, डाला बेचेर दसैँको जोहोमा जुटेका छन् भने केहीले गहत र मास फलेपछि त्यसबाट आएको पैसा दिने प्रतिबद्धता जनाएर उधारोमा चामल, तेल, नून, मसला खरिद गरेर लगेका स्थानीय लक्ष्मण चेपाङले बताए । केहीले दशैँ सकिएपछि ज्याला मजदुरी गरी उधारो तिर्ने बताएका छन् ।

ऋण तथा उधारोमै भए पनि मीठो मसिनो खाएर, नयाँ लुगा लगाएर रमाइलो गर्ने योजना बनाएको नेपाल चेपाङ संघका अध्यक्षसमेत रहेका लक्ष्मण चेपाङ बताउँछन् ।

नेपाल चेपाङ संघका केन्द्रीय कोषाध्यक्ष रवीन्द्र चेपाङका अनुसार नेपालमा करिब ७० हजार चेपाङको बसोबास छ । चितवन, मकवानपुर, गोरखा, धादिङ, लमजुङ र तनहुँमा विशेषतः चेपाङको बसोबास छ । मकवानपुरबाट गएका केही चेपाङ बाँके र बर्दियामा पनि बस्दै आएका छन् ।

खाना सकिएका बेला गिठा र भ्याकुर खोजेर खाने चेपाङले हिन्दूले झैँ घटस्थापनादेखि नै दसैँ मनाउने गर्छन् । उनीहरुको छुट्टै सांस्कृतिक महत्व रहिआएको छ । संविधानसभाका सदस्यसमेत बन्नुभएका गोविन्द चेपाङ श्रीमान्–श्रीमती पक्का बनाउन गोडा फर्काउने चलन रहेको बताउँछन् । श्रीमती ल्याएपछि माइती बुझाउने चलन दसैँमै गर्नुपर्ने तथा नसक्नेले माघमा गर्नुपर्ने चलन रहेको उनको भनाइ छ ।

विभिन्न संघसंस्थाले चेपाङका लागि कार्यक्रम चलाए पनि उनीहरुको दिगो आय आर्जनमा सहयोग पुग्ने कार्यक्रम खासै सञ्चालन हुने सकेका छैनन् । त्यसैले चेपाङको जीवनस्तर सोचे जसरी अघि बढ्न सकेको छैन ।

प्रतिक्रिया दिनुहोस