शीर्ष नेताकै जिल्लामा कांग्रेस कमजोर « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

शीर्ष नेताकै जिल्लामा कांग्रेस कमजोर


९ आश्विन २०७४, सोमबार


काठमाडौं । प्रदेश नं. २ को स्थानीय तहको निर्वाचनमा शीर्ष नेताहरू रहेको जिल्लामा कांग्रेस कमजोर बन्न पुगेको छ ।

मतपरिणामअनुसार धनुषा, सिरहा, बारामा कांग्रेसले अनुमान गरेजति स्थानीय तहमा जित हासिल गर्न सकेन । धनुषाको जनकपुर उपमहानगरपालिकामा कांग्रेस उम्मेदवार साढे १० हजार मतले पराजित हुन पुगे ।

धनुषा कांग्रेस नेता विमलेन्द्र निधिको गृहजिल्ला हो । उनी टिकट वितरणमा हावी भएको नेताहरूको आरोप छ । आठ जिल्लाकै कांग्रेस सभापति निधि पक्षका हुन् । जसका कारण उनले आफूनिकटका नेतालाई टिकट दिए । तर, कांग्रेसको परम्परागत गढ मानिएको जनकपुरमै कांग्रेस भारी मतले पराजित हुन पुग्यो ।

०४९ को स्थानीय निर्वाचनमा कांग्रेसबाट उपमेयरको टिकट नपाएपछि स्वतन्त्र उम्मेदवारी दिएर उपमेयर बनेका लालकिशोर साहले यसपटक मेयरमा बाजी मारे । राजपाबाट उनले २१ हजार दुई सय ७७ मत ल्याए । निकटतम प्रतिद्वन्द्वी कांग्रेसका मनोजकुमार साहले १० हजार ६ सय ३९ मत ल्याउन सके । धनुषा जिल्लामा निधि, आनन्दप्रसाद ढुंगाना, महेन्द्र यादव, रामकृष्ण यादवजस्ता चर्चित नेता छन् ।

यस्तै, बारामा पनि कांग्रेस कमजोर बन्न पुगेको छ । फरमुल्लाह मन्सुर, उमाकान्त चौधरी, राधेचन्द्र यादव, शोभाकर पराजुलीजस्ता नेता भए पनि १६ मध्ये चारवटा तहमा मात्रै जित्यो । जितपुर–सिमरा उपमहानगरपालिकामा कांग्रेस पराजित हुन पुग्यो । निर्वाचनको मुखसम्मै माओवादीसँग चुनावी तालमेल गर्ने प्रचार कांग्रेसबाटै भए पनि जम्मा दुईवटा तहमा घोषित तालमेल भयो । तालमेल भएकामध्ये बाराको निजगढ नगरपालिकामा मात्रै कांग्रेस उम्मेदवार विजयी भए । आजको नयाँ पत्रिकामा खबर छ ।

 

प्रतिक्रिया दिनुहोस