पूर्वमन्त्री यादव वडासदस्यमा निर्वाचित ! « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

पूर्वमन्त्री यादव वडासदस्यमा निर्वाचित !


९ आश्विन २०७४, सोमबार


काठमाडौं । विगतमा वडासदस्य भएकाहरु स्थानीय तहको प्रमुख, उपप्रमुख , मेयर भएकाहरु सांसद् र सांसद् भएकाहरु मन्त्री बन्न मिहिनेत गरिरहेका बेला एक पूर्वमन्त्री भने वडासदस्यमा निर्वाचित भएका छन् ।

स्थानीय तह तेस्रो चरणको निर्वाचनअन्तर्गत सिरहाको भगवानपुर गाउँपालिका–३ को वडासदस्यमा पूर्वमन्त्री राजलाल यादव निर्वाचित भएका हुन् । उनी बाबुराम भट्टराई नेतृत्वको सरकारमा बिनाविभागीय मन्त्री थिए । त्यसअघि उनी सिरहा जिल्ला विकास समितिको सभापति पनि थिए ।

७२ वर्षीय राजलाल ०६४ को संविधानसभा निर्वाचनमा तत्कालीन मधेसी जनअधिकार फोरमबाट सभासद् निर्वाचित भएका थिए । अहिले उनी फोरमका केन्द्रीय सदस्य छन् ।

राजलाल निर्वाचित वडामा दुई हजार सात सय २१ मत खसेको थियो । उनी ८ सय ७८ मत ल्याएर निर्वाचित भए । संघीय समाजवादी फोरमबाटै सो वडाको सदस्यमा निर्वाचित अरुणकुमार यादवले राजलालको भन्दा बढी मत प्राप्त गरे । उनले नौ सय ८ मत पाए ।

वडा सदस्यमा निर्वाचित भएर जिल्ला समन्वय समितिको नेतृत्व गर्न फोरमले उनलाई अघि सारेको थियो । तर, सिरहको १७ स्थानीय तहमध्ये समाजवादी फोरमले ४ गाउँपालिकामा अध्यक्ष, उपाध्यक्ष र एक नगरपालिकामा मेयरमा मात्र जित हात पारेको छ । आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।

प्रतिक्रिया दिनुहोस