नापी विभागसँग चोरीको सफ्टवेयर, नक्सा जोखिममा « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

नापी विभागसँग चोरीको सफ्टवेयर, नक्सा जोखिममा


८ आश्विन २०७४, आइतबार


काठमाडौं । नापी विभागले प्रयोग गर्दै आइरहेको भौगोलिक सूचना प्रणाली (जिआइएस)सम्बन्धी सफ्टवेयर चोरीको (पाइरेटेड) भएको पाइएको छ । विभागले ‘इसरी इन्क’ नामक अमेरिकी कम्पनीको ‘आर्क जिआइएस’ सफ्टवेयर अनधिकृत रूपमा महत्वपूर्ण तथ्यांक संकलन तथा अपडेट गर्ने कार्यमा प्रयोग गरिरहेको छ । इसरी इन्डियाका नेपाल हेर्ने विवेक चौहानका अनुसार ७–८ वर्षयता नापी विभागले आफूबाट जिआइएस अनुमतिपत्र नलिएको बताए ।

नापी विभागको सर्भे तथा नाप नक्सासम्बन्धी कामका लागि जिआइएस सफ्टवेयर सबैभन्दा महत्वपूर्ण हुन्छ । विभाग र मातहत शाखा तथा ७५ वटै जिल्ला कार्यालयको काममा दैनिकजसो उपयोगमा आउने सफ्टवेयर भने सम्बन्धित कम्पनीको अनुमतिविना नै प्रयोग भइरहेको छ । सबै शाखा र जिल्ला कार्यालयमा इसरीको आर्क जिआइएस सफ्टवेयर प्रयोगमा छ ।

त्यसमध्ये करिब आठ वर्षअघि तीनवटा युजर लाइसेन्स मात्रै विभागलाई प्रदान गरेको चौहानले बताए । ‘जिआईएस सफ्टवेयरविना विभागको नापीनक्सासम्बन्धी काम नै अघि बढ्दैन,’ उनले भने, ‘विभागमातहतका कार्यालयहरुमा पाइरेटेड सफ्टवेयर प्रयोग भइरहेको यसबाटै प्रस्ट हुन्छ ।’ विभागका लागि अत्यन्त महत्वपूर्ण जिआइएस सफ्टवेयर आधिकारिक रूपमा उपयोगमा ल्याउनका लागि हालसम्म कुनै प्रयाससम्म भएको छैन । सामान्य नागरिकदेखि सिंगो मुलुकको नाप–नक्साजस्तो महत्वपूर्ण तथ्यांक राख्न वर्षौँदेखि अनधिकृत सफ्टवेयर प्रयोगमा छ । यसरी अधनिकृत रूपमा सफ्टवेयर प्रयोग गर्दा जुनसुकै बेला तथ्यांकहरू ‘क्र्यास’ (नष्ट) हुन सक्ने विज्ञहरू बताउँछन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।

प्रतिक्रिया दिनुहोस