मत गणना सुस्त, छैटौं दिनमा ११३ स्थानको मात्र परिणाम « प्रशासन
Logo ४ बैशाख २०८१, मंगलबार
   

मत गणना सुस्त, छैटौं दिनमा ११३ स्थानको मात्र परिणाम


८ आश्विन २०७४, आइतबार


काठमाडौं । १ सय ३६ स्थानीय तह रहेका प्रदेश २ मा मतगणना सुस्त भएकाले चुनाव सकिएको छैटौं दिन शनिबार रातिसम्म १ सय १३ स्थानीय तहको मात्र परिणाम आएको छ । असोज २ गते भएको निर्वाचनको सम्पूर्ण परिणाम ५ दिनभित्र आइसक्ने निर्वाचन आयोगले बताएको थियो । तर, मत गन्ने काम सुस्त भएकाले अझै केही दिन लम्बिने देखिएको छ ।

‘सबै स्थानको परिणाम आइसक्न अझै २/३ दिन लाग्न सक्छ,’ आयोग प्रवक्ता सहसचिव नवराज ढकालले भने, ‘आयोगले लक्ष्यअनुसार नै काम गरिरहेको छ, यतिन्जेलसम्म झन्डै ८५ प्रतिशत परिणाम आइसकेको छ ।’

गणनामा ढिलाइ हुनुका कारण थोरै मतान्तर पनि हो । प्रवक्ता ढकालका अनुसार प्रतिस्पर्धा कडा भएपछि मतपत्र पटक–पटक प्रतिनिधिहरूलाई देखाएर गन्नुपर्दा ढिलाइ भएको हो । उनले गणनालाई व्यवस्थित र छिटो सक्न आयोगले निर्देशन दिनुका साथै आवश्यक सहयोग पनि पठाएको बताए ।

प्रदेश २ को ८ वटै जिल्लाका मतपत्र ठूलो आकारमा रहेकाले पनि गणनामा ढिला भइरहेको छ । दलहरूबीच आउने विवादले पनि मत गन्ने काम सुस्त हुन पुगेको छ । सबैको चासो रहेको प्रदेश २ को एक मात्र महानगर वीरगन्ज र तीनवटा उपमहानगरको परिणाम भने अझै आइसकेको छैन । सर्वजनिक पछिल्लो परिणाामअनुसार नेपाली कांग्रेसले सबैभन्दा बढी स्थानमा जित हासिल गरेको छ । कांग्रेसले ३४ स्थानीय तह जितेको छ भने ६ स्थानमा अग्रता कायम राखेको छ । २२ स्थान जितेर दोस्रो स्थानका लागि संघीय समाजवादी फोरम प्रतिस्पर्धामा देखिएको छ । अन्य ३ स्थानमा अगाडि देखिएको छ ।

तेस्रो स्थानमा माओवादी केन्द्र र राष्ट्रिय जनता पार्टी देखिएका छन् । दुवै दलले १९/१९ स्थान जितेका छन् । माओवादी ६ स्थानमा र राजपा ३ स्थानमा अगाडि छ । यसअघिका दुई चरणकै निर्वाचनमा धेरै स्थानीय तहमा जितेर पहिलो पार्टी बनेको एमाले भने प्रदेश २ मा ५ औं स्थानमा देखिएको छ । उसले १३ स्थान जितेको छ भने ५ स्थानमा अग्रता कायम राखेको छ । यस्तै लोकतान्त्रिक फोरमले ३, नेपाली जनता दलले २ र नयाँ शक्ति पार्टीले १ स्थानीय तहमा जित हासिल गरिसकेका छन् । आजको कान्तिपुर दैनिकमा खबर छ ।

प्रतिक्रिया दिनुहोस