‘प्रहरी हाम्रो टोलमा’ अभियान शुरु « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

‘प्रहरी हाम्रो टोलमा’ अभियान शुरु


६ आश्विन २०७४, शुक्रबार


काठमाडौँ । गृह मन्त्राललयले ‘शान्ति सुरक्षा र सुशासन : जनमैत्री प्रहरी र प्रशासन’ नारासहित ‘प्रहरी हाम्रो टोलमा’ अभियान आजबाट शुरु गरेको छ ।

गृहमन्त्री जनार्दन शर्माले अभियानको आज यहाँ एक कार्यक्रमबीच उद्घाटन गर्दै सो अभियान एक साथ आज देशभर दुई हजार ५०० प्रहरी इकाईमा लागू भएको जानकारी दिए ।

गृहमन्त्री शर्माले प्रस्तुत गरेको ८४ बुँदे गृह प्रशासन सुधार मार्गचित्रअन्तर्गत रहेर आम नागरिकलाई केन्द्रविन्दुमा राखी यो अभियान शुरु गरिएको हो । अभियानले नागरिकसँग प्रहरी र प्रशासनको सम्बन्ध अझ प्रभावकारी बनाउने, प्रहरी प्रशासनलाई अझ जन–उत्तरदायी बनाउने तथा शान्तिसुरक्षामा नागरिकको सहभागिता बढाउने लक्ष्य राखिएको छ ।

देशभरको प्रत्येक समाजलाई टोलका रुपमा विकास गरी टोल सुधार समिति गठन गरेर आपराधिक गतिविधि नियन्त्रण गर्न र सामाजिक विकास कार्यमा सहकार्य गर्ने उद्देश्य राखिएको छ ।

कार्यक्रममा गृहमन्त्री शर्माले आम नागरिकको शान्ति, सुरक्षा र समृद्धिको अभिलाषालाई पूरा गर्न अभियान ल्याइएको र यो सफल हुने विश्वास व्यक्त गरे । उनले यो अभियान प्रहरी र समुदायबीच समन्वय गरी टोलटोलमा समन्वय समिति गठन गरीने जानकारी दिए । समाज र राष्ट्रियता बलियो बनाउन, सामुदायिक प्रहरीको अवधारणालाई थप परिमार्जन गर्न अभियान ल्याइएको उनको भनाइ छ ।

“घटनापछिको समाधान मात्रै होइन, घटना अघिको समाधानका लागि हाम्रो प्राथमिकता हो,’’ उनले भने ।

अर्को प्रसंगमा मन्त्री शर्माले सरकारले इतिहासकै शान्तिपूर्ण निर्वाचन गर्न सफल भएको र अब हुने प्रदेश र सङ्घको निर्वाचन पनि त्यस्तै शान्तिपूर्ण हुने बताए । उनले संघीय प्रहरी ऐन तर्जुमा भइरहेको र छिट्टै संसद्मा प्रस्तुत हुने जानकारी दिए ।

कार्यक्रममा गृह राज्यमन्त्री श्यामकुमार श्रेष्ठले प्रहरीलाई आधुनिक र जनमैत्री बनाउने लक्ष्यसहित ‘प्रहरी हाम्रो टोलमा’ अभियान ल्याइएको बताए ।

गृह सचिव लोकदर्शन रेग्मीले मन्त्रालयले अघि सारेको ८४ बुँदे सुधार मार्गचित्रमा रहेको प्रहरीसँग सम्बन्धित बुँदा यो संगठन सुधारका लागि ‘म्याग्नाकार्टा’ नै हुने टिप्पणी गरे ।

नेपाल प्रहरीका महानिरीक्षक प्रकाश अर्यालले यो अभियानले प्रहरी र नागरिक बीचको सम्बन्ध थप बलियो पार्ने विश्वास व्यक्त गर्दै अभियान आजबाट देशभर एकसाथ शुरु भएको जानकारी दिए । रासस

प्रतिक्रिया दिनुहोस