आज घटस्थापना « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

आज घटस्थापना


५ आश्विन २०७४, बिहिबार


काठमाडौं । घटस्थापनासँगै हिन्दू धर्मावलम्बीको प्रमुख पर्व दसैँ सुरु भएको छ । लिपपोत गरेर चोखो पारिएको स्थानमा दियो, कलश, गणेश स्थापना गरी बालुवा मिश्रित माटोमा जौ, तिल, मकै छरेर जमरा राखी घटस्थापना गर्ने चलन छ । यस दिन देशभरका विभिन्न शक्तिपीठ र देवी मन्दिरमा पनि जमरा राखिन्छ ।
जमरा दसैंको दिन प्रसादका रूपमा टीकासँगै ग्रहण गरिन्छ । असोज शुक्ल प्रतिपदाका दिन घटस्थापना गर्ने प्रचलन छ ।

दसैंलाई असत्यमाथि सत्य तथा आसूरी शक्तिमाथि दैवी शक्तिको विजयका रूपमा लिइन्छ । पुराण अनुसार त्रेतायुगमा भगवान रामले आजकै दिन देवी दुर्गाको पूजा अर्चना सुरु गरी दशमीमा रावणको वध गरेका थिए ।
दसैंमा शक्तिस्वरूपा नवदुर्गा भवानीका नौ रूपको पूजा गरिन्छ । धर्मशास्त्र अनुसार शैलपुत्री, ब्रम्हचारिणी, चन्द्रघन्टा, कूष्माण्डा, स्कन्दमाता, कात्यायनी, कालरात्री, महागौरी र वुद्धिदात्री नवदुर्गाका रूप मानिन्छन् ।

असोज शुक्ल प्रतिपदादेखि दशमीसम्म १० दिन पूजापाठ, व्रत र उत्सवकासाथ मनाइने चाड हुनाले यसलाई दसैं भनिएको हो । दसैं कोजाग्रत पूर्णिमासम्म १५ दिन मनाउने गरिए पनि पहिलो नौ दिनलाई नवरात्र नामकरण गरिएको छ भने दसौं दिनलाई विजयादशमी भनिन्छ । नवरात्रमा फरक फरक देवीको पूजा गरिन्छ ।

दसैं पुनर्मिलनको अवसर पनि हो । विजयादशमीमा मान्यजनबाट टीका थाप्न टाढाटाढाका मानिस पनि गाउँघर फर्कन्छन् । टीकाप्रसाद ग्रहणले बेमेल र सत्रुता अन्त्य गर्ने विश्वास छ ।

प्रतिक्रिया दिनुहोस