एकै दिन सात विधेयक पारित « प्रशासन
Logo २६ बैशाख २०८१, बुधबार
   

एकै दिन सात विधेयक पारित


४ आश्विन २०७४, बुधबार


काठमाडौं । सभामुख ओनसरी घर्ती मगर विदेश भ्रमणमा निस्किने भएपछि मंगलबार व्यवस्थापिका–संसद्ले एकै दिन सातवटा विधेयक पारित गरेको छ । सभामुख घर्ती आज (बुधबार) चीन भ्रमणमा जाँदै छिन् । संसद्को आयु एक महिना मात्र बाँकी रहेको र यसबीच दसैं, तिहारलगायत चाडपर्व परेका कारण मंगलबार संसद् बैठक दुईपटक बसेर विधेयकहरू पारित गरिएका हुन् ।

विदेश भ्रमणमा जाने भएपछि सभामुखले संविधान दिवसकै दिन (मंगलबार) संसद् बैठक बोलाएकी थिइन् । सांसदहरूलाई बोल्न शून्य समय र विशेष समयसमेत नदिई सभामुखले सिधै कार्यसूचीमा प्रवेश गरी विधेयक पारित गर्ने प्रक्रिया अघि बढाएकी थिइन् ।

भदौ २३ गते कोरम नपुगेपछि रोकिएका थारू आयोग र मुस्लिम आयोग विधेयक मंगलबार पारित भएका छन् । सहकारी विधेयक, स्थानीय सरकार सञ्चालन विधेयक, शिक्षा (नवौं) संशोधन विधेयक, मुलुकी ऐन प्रतिस्थापन गर्न बनेको (केही नेपाल कानुनलाई संशोधन, एकीकरण, समायोजन र खारेज गर्ने) विधेयक अनि राष्ट्रपति र उपराष्ट्रपतिको पारि श्रमिक र सुविधासम्बन्धी विधेयक पारित भएका छन् ।

स्थानीय तहमा जनप्रतिनिधि निर्वाचित भए पनि कानुन नहुँदा उनीहरूले काम गर्न सकेका थिएनन् । संसद्को विकास समितिको प्रतिवेदनसहित स्थानीय शासन विधेयक पारित भएपछि स्थानीय सरकारलाई काम गर्न सजिलो भएको समिति सभापति रवीन्द्र अधिकारीले जानकारी दिए । आजको अन्नपूर्ण पोस्ट दैनिकमा खबर छ ।

प्रतिक्रिया दिनुहोस