सवारी दुर्घटनामा अब दश वर्षसम्म कैद « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

सवारी दुर्घटनामा अब दश वर्षसम्म कैद


४ आश्विन २०७४, बुधबार


काठमाडौँ । लापरबाही ढङ्गबाट सवारी चलाएर दुर्घटना गराएमा चालकले अब दश वर्षसम्म कैद हुने भएको छ । व्यवस्थापिका संसद्ले केही नेपाल ऐन संशोधन विधेयक पारित गर्दै सवारी कसुरमा कम्तीमा तीन वर्षदेखि दश वर्षसम्म कैद सजाय हुने व्यवस्था पारित गरेको हो । पारित विधेयक २०७५ भदौ १ गतेदेखि कार्यान्वयनमा आउनेछ । सवारी चालकलाई कम्तीमा ३० हजारदेखि एक लाख रुपियाँसम्म जरिवानासमेत हुनेछ ।

कानुन, न्याय तथा संसदीय मामिलामन्त्री यज्ञबहादुर थापाको प्रस्तावले केही नेपाल ऐन संसद्ले मङ्गलबार पारित गरेको हो । विधेयक दुई वर्षदेखि संसद्मा विचाराधीन थियो । विधयेक पारित भएसँगै मौजुदा १६ वटा ऐनका प्रावधान खारेजी र बचाउ गर्नेछ । यस्तै ३० भन्दा बढी ऐनका विभिन्न प्रावधान ऐन कार्यान्वयनमा आएसँगै संशोधन हुनेछन् ।

सरकारले संसद्मा ल्याएको मूल विधेयकमा भने कम्तीमा दुई वर्ष कैद प्रस्ताव गरिएको थियो । तर, संसद्को विधायन समितिअन्तर्गत सांसद् रेवतीरमण भण्डारी नेतृत्वको उपसमितिले त्यसलाई तीन वर्ष बनाएको थियो । प्रचलित मुलुकी ऐनको अदालती बन्दोबस्त ११८ अनुसार तीन वर्ष वा सोभन्दा बढी कैद दाबी गरिएको मुद्दा धरौटीमा राखेर पुर्पक्ष अघि बढाउनुपर्ने व्यवस्था छ । उक्त व्यवस्था र संसद्बाट हालै पारित भएको अपराध संहिताअनुसार मिलाई उपसमितिले कम्तीमा तीन वर्षको कैदको व्यवस्था प्रस्ताव गरेको थियो । सोही व्यवस्था संसद्को पूर्ण बैठकले पारित गरेको हो । आजको गोरखापत्र दैनिकमा खबर छ ।

प्रतिक्रिया दिनुहोस