जागिर खोज्न सरकारी वेबसाइट « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

जागिर खोज्न सरकारी वेबसाइट


३ आश्विन २०७४, मंगलबार


काठमाडौं । जागिरको खोजीमा रहेका व्यक्ति र रोजगारदातालाई समन्वय गराउन श्रम विभागले ‘जब पोर्टल’ सञ्चालनमा ल्याएको छ । नेपालमा निजी क्षेत्रमा विभिन्न ‘जब पोर्टल’ सञ्चालन भए पनि सरकारी स्तरबाट सञ्चालित यो पहिलो हो ।

श्रम विभागले जब पोर्टल र यसको प्रयोगबारे सोमबार राजधानीमा अन्तक्र्रिया गर्दै यसले बेरोजगार र रोजगारदाता दुवैलाई फाइदा पुर्‍याउने जनाएको छ । विभागले भदौ ९ बाट डब्लूडब्लूडब्लू डट जबखोज डट जीओभी डट एनपी (www.jobkhoj.gov.np) मा सञ्चालनमा ल्याएको हो ।

श्रम विभागले आठ वर्षदेखि रोजगार सूचना केन्द्र सञ्चालन गर्दै आएकामा अहिले अनलाइनमा आधारित जब पोर्टल थप गरेर यसलाई व्यापक बनाउने बताएको छ । यसलाई अन्तर्राष्ट्रिय श्रम संगठन (आईएलओ) र कोरियन अन्तर्राष्ट्रिय सहयोग एजेन्सी (कोइका) ले आर्थिक तथा प्राविधिक सहयोग गरेका छन् ।

विभागले बेरोजगार तथा रोजगारदाताले आफ्नो विवरण सूचना केन्द्रमा गएर वा सिधै पोर्टलमार्फत भर्न सक्ने जनाएको छ । श्रम विभागका सूचना केन्द्र भद्रपुर, विराटनगर, उदयपुर, जनकपुर, काठमाडौं, पोखरा, बुटवल, पर्वत, दाङ, जुम्ला, नेपालगन्ज, धनगढी र महेन्द्रनगरमा छन् । पोर्टमा जागिरको खोजीमा रहेका तथा रोजगारदाताले निःशुल्क विवरण राख्न सक्ने र विभागले विवरण भर्न पनि निःशुल्क सहयोग गर्ने जनाएको छ । आजको कान्तिपुर दैनिकमा खबर छ ।

प्रतिक्रिया दिनुहोस