उम्मेदवारको नागरिकता खारेज « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

उम्मेदवारको नागरिकता खारेज


१ आश्विन २०७४, आइतबार


वीरगन्ज । जिल्ला प्रशासन कार्यालय बाराले नेकपा एमालेका तर्फबाट निजगढ नगरपालिका वडा नम्बर ४ का वडा अध्यक्षका उम्मेदवार जयराम कुवँरको नागरिकता खारेज गरेको छ। कुवँरले दोहोरो नागरिकता भेटिए पछि पछिल्लो पटक लिएको नागरिकता खारेज गरिएको बाराका प्रमुख जिल्ला अधिकारी विजयनारायण मानन्धरले जानकारी दिए।

कुवँरले २०६३ साल माघ २१ गते घुम्ती टोली मार्फत निजगढ नगरपालिका वडा नम्बर ४ बाट लिएको ३३३१०११/५९९ नम्बरको नागरिकता खारेज गरिएको प्रमुख जिल्ला अधिकारी मान्नधरले जानकारी दिए। कुवँरले यसअघि २०६० साल वैशाख १४ गते पहिलो पटक ईलाका प्रशासन कार्यालयबाट जयराम कुवँरको नाममा ९६७३ नम्बरको नागरिकता लिएका थिए।

आसन्न स्थानीय तहको निर्वाचनमा भदौ २१ गते कुवँरले वडा अध्यक्ष पदका लागि मनोनयन दर्ता गराएपछि त्यही वडाबाट अध्यक्ष पदमा कांग्रेसका तर्फबाट उम्मेदवारी दिएका सुनील चौधरीले दावी विरोध पेश गर्ने दिन कुँवरले दोहोर नागरिकता लिएको भन्दै निर्वाचन अधिकृतको कार्यालयमा उजुरी दिएका थिए।

कुँवरले किर्ते गरेर दुई पटक गरी दुई वटा छुट्टा–छुट्टै नम्बर र थर भएको नागरिकता लिएको भन्दै कांग्रेसका वडा अध्यक्षका उम्मेदवार चौधरीले उजुरी दिएका थिए।नागरिकताको विषयमा उजुरी परेपछि निर्वाचन अधिकृतको कार्यालय निजगढले जिल्ला प्रशासन कार्यालय बारालाई पत्राचार गरी कुँवरको नागरिकता सम्बन्धमा जानकारी मागेको थियो।

उम्मेदवारी दर्ता गर्ने क्रममा कुँवरले २०६३ साल माघ २१ गते घुम्ती टोली मार्फत निजगढ ४ बाट २०६८ वैशाख २९ गते लिएको ३३३१०११/५९९ नम्बरको नागरिकताको प्रतिलिपी पेश गरेका थिए।

निर्वाचन अधिकृतको कार्यालय निजगढका निर्वाचन अधिकृत गोविन्दराज गौलीले एमाले उम्मेदवार कुवँरलाई तपाईको नागरिकता खारेज भएको र केही भन्नु पर्ने भए निर्वाचन अधिकृतको कार्यालयमा जवाफ दिन व्यवहोराको लिखित पत्र शनिवबार दिइएको बताए।

गौलीले भने ,‘कुवँरले जुन नागरिकताको प्रतिलिपी पेश गरेर मनोनयन दर्ता गराएका थिए, त्यही नागरिकता खारेज भएको पत्र जिल्ला प्रशासन कार्यालयबाट शनिबार प्राप्त भएको हो।’ आजको अन्नपूर्ण पोस्ट दैनिकमा खबर छ ।

प्रतिक्रिया दिनुहोस